नारायणी पुल झिलिमिली

भरतपुर, १९ फागुन : गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलिमिली बनेको छ । 

भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलिमिली बनेको हो ।
 
महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गरेकी हुन् । डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ ।

प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा पारेर नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताइन् । ती बत्ती साँझको समयमा आफैँ बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ । उनले भनिन्, “अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ ।”
 
प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ । यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैँडाकोट नगरपालिकाको गैँडाकोट जोड्दछ । यही बाटो हुँदै पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन् । पुलमा बत्ती बालेसँगै यात्रु लाभान्वित भएका हुन् ।
 
महानगरले पहिलो चरणमा ७८.१ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पु¥याएको छ । दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.