लघुवित्त सङ्घ नेपाल गठन, अध्यक्षमा पोखरेल   

काठमाडौँ, ३० फागुन : लघुवित्त संस्थाका सञ्चालक सङ्गठित भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल लघुवित्त सङ्घ नेपाल Microfinance Association of Nepal (MAN) गठन भएको जानकारी दिइयो ।

नवगठित संस्थाको अध्यक्षमा चौतारी लघुवित्त वित्तीय संस्थाका जगतबहादुर पोखरेल रहनुभएको छ । समितिको उपाध्यक्षद्वयमा ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी रहनुभएको छ । यस्तै, महासचिव जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा, सचिव सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ, कोषाध्यक्ष आँधिखोला लघुवित्तमा नरेश केसी रहनुभएको छ । यस्तै, बोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी सदस्य रहनुभएको छ ।

विस २०४७ चैत्र १७ गते डा. हरिहरदेव पन्तको नेतृत्वमा निर्धन उत्थान संस्था स्थापना भइ नेपाल राष्ट्र बैकको इजाजत प्राप्त गरेर २०४९ चैत्र १ गते लघुवित्त संस्थाका रुपमा पहिलो कारोवार शुरु भएको थियो ।

संस्थालाई लघुवित्त महासङ्घको रुपमा रुपान्तरण गर्ने लक्ष्य राखिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । हाल देशभर ९० वटा लघुवित्त संस्था सञ्चालनमा छन् । ती संस्थाले ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका छन् । ती संस्थाको कूल तीन हजार ८६१ शाखा सञ्चालनमा छन् भने १८,८८५ कर्मचारी र ४५,७९,७३९ सदस्यहरु समूहमा आवद्ध रहेका जानकारी दिइयो ।

कूल ४५ लाख ७९ हजार ८१५ जना सदस्य रहेको ती संस्थाहरुमार्फत २८ लाख पाँच हजार ८१५ जनाले ऋण लिएको जनाइएको छ । गत पुस मसान्तसम्म ९० वटा संस्थाको कूल पुँजीकोष रु ३२ अर्ब ५९ करोड, कूल कर्जा प्रवाह रु दुई खर्ब ५६ अर्ब ३१ करोड रहेको छ ।

संस्थाको उद्देश्यहरुमा मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुने, नेपालमा लघुवित्त सम्बन्धि नीति नियम तयार गर्न सम्बन्धित निकायहरुलाई आवश्यक सहयोग गर्ने साथै छलफल गर्ने, गराउने, लघुवित्त वित्तिय संस्थाहरुको वित्तिय सेवालाई गुणस्तरीय बनाउन आपसी अनुभव आदान प्रदान, तालिम, असल अभ्यासहरुको प्रचार, प्रसार लगायतका कार्यहरु गर्ने, नेपालको लघुवित्त क्षेत्रको गुणस्तरीय सेवा, क्षमता अभिबृद्दि, गरिवि निवारणका असल अभ्यासको अनुभव आदान प्रदानका लागि लघुवित्त क्षेत्रमा कार्य गर्ने स्वेदशी तथा विदेशी संस्थाहरुसंग समन्वय गर्ने साथै यसरी विदेशी संघ संस्थाहरुसंग कार्य गर्दा नेपाल सरकारको तोकिएको निकायसंग स्वीकृति लिइ गरिने, नेपालको गरिवि निवारणका लागि लघुवित्त संस्था मार्फत गर्न सकिने समसामयिक कार्यहरु गर्ने, बिभिन्न नियमकारी निकायसगँ छलफल गर्ने, लघुवित्तका बिषयमा स्वदेश तथा बिदेशमा सभा, सम्मेलन, अबलोकन आदी कार्यमा सहभागी हुने, लघुवित्त संचालक, ब्यवस्थापन विच समन्वय, क्षमता विकासका कार्यक्रमहरु संचालन गर्ने, स्थानीय निकाय, सरकारी, गैरसरकारी अन्तराष्ट्रिय संघसंस्थाहरुसँग समन्वयगरी सम्बन्ध स्थापना गर्ने साथै बिदेशी दातृ निकायसगँ कम ब्याजदरमा सरलकर्जा नेपालका लघुबित्त सस्थाहरुलाई उपलब्ध गराउन पहल गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रीय रुपमा लघुवित्तका विषयमा सभा, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रम आयोजना गर्ने गराउने रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.