खेतको आलीबाट शुरु भएको सहकारी जिल्लाकै नमूना

सुशीला रेग्मी । बेझाड, पाल्पा, ६ माघ : झट्ट सुन्दा अनौठो लाग्छ, खेतको आलीबाट शुरु रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लाकै नमूना सहकारीका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

आज भन्दा दुई दशक अघि रामपुर नगरपालिका–७ स्थित बिरुवा खेतको आलीमा केही स्थानीयवासीले सहकारी सञ्चालनको सोच बनाए अनुरुप विसं २०५६ पुस २० गते यो सहकारी अस्तित्वमा आयो ।
खेतको आलीमा बसेर दैनिक ५० रुपैयाँका दरले सञ्चालन गर्ने गरी थिति बसालेको यस सहकारीमा अहिले भने रु ८७ करोड बराबरको कारोबार हुने गरेको छ । एक अर्बको कारोबार पु¥याउने संस्थाको लक्ष्य छ ।

अहिले यो सहकारी पूर्वी पाल्पाका धेरै नागरिकलाई सेवा दिन सफल छ । सानो पूँजीको प्रयोगमार्फत आर्थिक समृद्धि चाहने जुझारु जो कोहीका लागि यो भरपर्दो सहारा सावित भएको छ ।

यो संस्था सञ्चालनमा आएसँगै कैयौं उद्योगी, व्यवसायी, व्यापारी, कृषकलाई व्यवसाय गर्ने महत्वपूर्ण सारथी बन्यो । बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेका कारण पैसाकै अभावमा अन्योलमा रहेका सर्वसाधारणलाई यो संस्थाले उद्यमशीलतातर्फ उन्मुख गरायो ।

सहकारीले आफ्नो सेवाको क्षेत्रलाई पनि त्यही अनुरुप फराकिलो बनाउँदै लग्यो । खेतको आली हुँदै चौतारी, खुल्ला चउर, भाडाका कोठामा सञ्चालन गरिएका धेरै तितामिठा अनुभव सङ्गालेको यो सहकारीको अहिले आफ्नै सुविधासम्पन्न भवन छ ।

जिल्ला सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर पूर्व रामपुर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको यो सहकारीमा सेवाग्राहीको चाप बढेसँगै शाखाहरु खोलिएका छन् ।

सहकारीबाट बिनाधितो ऋण पाएपछि यहाँका महिलाहरू घरमै बसी विभिन्न आयमूलक व्यवसाय गर्न थालेका छन् । सहकारीको लघुवित्त कार्यक्रममा आबद्ध भई बिनाधितो ऋण लिएर च्याउ खेती, भंैसीपालन, बाख्रापालन व्यवसायमा लगानी गरेको रामपुर नगरपालिका वडा नं ५ बस्ने लक्ष्मी राना बताउनुहुन्छ ।

“सहकारीले ऋण दिएकाले कृषि व्यवसाय गरेकीे छु, राम्रो भएको छ, व्यवसाय राम्ररी चलेको देखेपछि संस्थाले सहुलियत ऋण मात्र नभई व्यवसायको मूल्याङ्कन गरी यो वर्ष मलाई पुरस्कृत पनि ग¥यो,” रानाले हर्ष व्यक्त गर्दैै भन्नुभयो । आफूले समय समयमा कर्जा बुझाउँदै ऋण लिँदै व्यवसाय बढाउने गरेको उहाँले सुनाउनुभयो ।

अध्यक्ष, सागर प्रसाद देवकाेटा

सहकारीले व्यवसाय गर्न ऋण लगानी गरिदिएपछि राना जस्तै रामपुर–१० का कमलराज वस्तीले व्यावसायिक भैंसीपालन गर्नुभएको छ । सहकारीमा आबद्ध भएसँगै व्यवसायमा सहकारीले ऋण दिने गरेको र त्यसै कारण दुई चार पैसाका लागि अरूलाई गुहार्न नपरेको वस्ती बताउनुहुन्छ ।

रामपुर नगरपालिका–५ बहखोला बस्ने अर्की स्थानीयवासी उर्मिला राना व्यवसाय चलाउन धेरै ठाउँमा भाँैतारिनुभयो । ऋण दिन आफन्त, साथीभाइ, छिमेकी कसैले पत्याएनन् । सहकारीमा आबद्ध भएपछि सजिलै सँग बिनाधितो ऋण लिएर होटल व्यवसाय चलाएको अनुभव उहाँले सुनाउनुभयो ।

“परिवारमा कमाउने कोही नहँुदा दैनिकी चलाउन पनि मुस्किल थियो,” विगत सम्झँदै उहाँले भन्नुभयो – “सहकारीबाट ऋण झिकेर होटल व्यवसायमा लगानी गर्दा अहिले राम्रै भएको छ । घर घडेरी जोड्दै आनन्दसँग जीवनयापन गर्न पाएका छौं ।” उहाँहरु जस्ता धेरैको जीवन जिउने आधार बनेको छ, अन्धकारमुक्ति साकोस । संस्थाबाट ऋण लिएका व्यक्तिले व्यवसायमा राम्रो प्रगति गरेको अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।

“संस्था सेवामुखी हो भन्ने भावना हामी सबैमा छ, हामीले सदस्यको आर्थिक अवस्था बलियो कसरी हुन्छ भनेर सहुलियत दरमा ऋण, बिनाधितो ऋण उपलब्ध गराउँदै आएका छौँ,” अध्यक्ष देवकोटाले भन्नुभयो ।

सहकारीमा हाल बाल बचतसहित नौ हजार ७०९ सदस्य आबद्ध छन् जसमा महिला छ हजार ६९९, पुरुष एक हजार ६४९, बाल बचतकर्ता एक हजार ३६१ छन् ।

व्यवस्थापक, दिपेन्द्र प्रसाद पाैडेल

कुल २९८ वटा लघुवित्त केन्द्र छन् । लघुवित्तमा आबद्ध महिला सदस्यलाई व्यवसाय गर्न बिनाधितो दुई लाख, धितो राखेर ५० लाख सम्म सहुलियत ऋण प्रवाह भइरहेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेल बताउनुहुन्छ ।

“सहुलियत ऋण पाएपछि संस्थामा नयाँ सदस्यको आकर्षण बढ्दो छ, सेवालाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाएका छौँ,” उहाँले भन्नुभयो – “संस्थाबाट ऋण लिएका सदस्य व्यवसायबाट आर्थिक क्षेत्रमा अब्बल बन्दै जानुभएको छ ।”

संस्थाले तीन वर्ष अघि आफ्नै हलसहितको तीन तले २४ कोठे भवन निर्माण गरी सेवा दिँदैआएको छ । सहकारीले रामपुर नगरपालिकासहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ । केन्द्रीय कार्यालय रामपुर नगरपालिका–७ डुम्रीगाउँ छ भने रामपुर, तनहुँ, जब्गादी र रामटार एक÷एक वटा शाखा छन् । सहकारीले ३६५ दिन नै कार्यालय सञ्चालन गरी सेवा दिँदै आएको छ ।

सञ्चालक समितिले बनाएको मापदण्डलाई कर्मचारीले अनुसरण गरी ३६५ दिन नै कर्मचारी खटिएका छन् । सार्वजनिक विदाका दिन तीनजना कर्मचारी र दुईजना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको संस्थाका पूर्व सचिव तथा हाल लेखा समितिका संयोजक विष्णुप्रसाद लम्सालले जानकारी दिनुभयो ।

संस्थामा आबद्ध ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ध्यानमा राखेर सहकारीले २०७४ सालदेखि भत्ता स्वरुप मासिक रु ५०० प्रदान गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.