कोभिड-१९ र बुढ्यौली : प्रतिरक्षा प्रणालीले किन फरक पार्दछ ?

डा. होमनाथ चालिसे । काठमाडौं, २२ असार : कोरोनाभाइरस, चीनको वुहानमा उत्पती भएको र फैलिएको कुरालाई व्यापक रूपमा स्वीकारिएको छ। फेब्रुअरी २०२० सम्म कोभिड-१९ मुख्यतया चीनमै सिमित थियो र  बाहिरका थोरै राष्ट्रलेमात्र यसको केसहरूको बारेमा रिपोर्ट गरे । २०२० मार्चको सुरावाती संगै अन्य देशहरुमा यो रोग फैलिन सुरु भयो ।  मार्चको सुरुमा दक्षिण कोरियामा, दोश्रो हप्तामा इटाली, स्पेन र अन्य युरोपेली देशहरूमा र मार्चको तेस्रो हप्तामा संयुक्त राज्य अमेरिकामा कोभिड-१९ फैलिएको घटनाले समाचारहरुमा प्रार्थमिकता पाउन थाल्यो । ११ मार्चमा विश्व स्वास्थ्य संगठनले यो रोगलाई महामारीको रुपमा घोषणा गर्यो । यो रोगको कुनै औषधीनै छैन भन्ने कुराले त झन् संसार भरी अर्को तनाब फैलियो ।

अहिलेसम्म संसारभरी एक करोड भन्दा धेरै मानिसलाइ यो रोग लागिसकेको छ र आधा भन्दा धेरैलाई सन्चो भैसकेको र पाच लाख २०  हजार भन्दा बढी मृत्यु भएको देखिन्छ । पछिल्लो तथ्यांकले अहिले यो रोग विकासोन्मुख र गरिब  देशतर्फ बढी फैलीइरहेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकले यो रोगले बुढाबुढीलाई बढी असर गर्छ र बुढाबुढी नै मरिरहेका छन् भन्ने निकालेपछि सबै बुढाबुढीहरु यो रोग लाग्छ कि भन्ने ठुलो तनाबमा बाचीरहेका छन् । तर साचो कुरा के हो भने यो रोगले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरुलाई छिटो असर गर्छ र मृत्युको मुखमा समेत पुर्याउछ। यस लेखको मुख्य उद्देश्य बृद्ध वयस्कहरूको प्रतिरक्षा प्रणालीको समिक्षा गर्दै कसरी ज्येष्ठनागरीकलाई प्रतिरक्षा प्रणाली बलियो बनाउने र कोभिड-१९ को भुतबाट बचाउन जनचेतना फैलाउनु हो ।

कोभिड १९  र ज्येष्ठनागरीक

अहिले विश्वको औसत आयु ७२ बर्ष छ त्यसमा महिलाको ७४ बर्ष र पुरुषको ७० बर्ष । बिकसित देशहरुमा औषत आयु ८० बर्षभन्दा माथी छ र महिलाको झनै माथी रहेको छ । यसरी हेर्दा कुल जनसंख्यामा बिकसित देशहरुमा ज्येष्ठनागरीकहरुको अनुपात धेरै छ अर्थात त्यहा धेरै बुढाबुढी रहेका छन् । विकासोन्मुख र गरीब देशहरुमा तुलनात्मक रुपमा कम बुढाबुढी रहेका छन् ।

अहिले विश्वभरि सबै मानिसहरू कोभिड-१९ को भाइरसबाट पीडित छन् । यो एउटा ठुलो महामारी हो । तर यो भाइरसले गर्दा हुने मृत्युदर र उमेर समूहहरुमा समानता छैन । कोरोनाभाइरसले गर्दा हुने मृत्युदर उमेर बढ्दै गए संगै तीव्र बृद्धि भएकोले, जहा वृद्ध जनसंख्या जति ठूलो छ, त्यो समुदाय र समाजका लागि चुनौतीहरू त्यति नै बढी भएको देखिन्छ । अझ उमेर समुहको जनसंख्या भित्र पनि उमेर समूहअनुसार धेरै फरक छ जस्तै ८० बर्ष माथीका ६५-७४ बर्ष उमेर समुहका भन्दा बढी जोखिममा र रोग लागिहाले निको हुने सम्भाबना कम भएको देखिन्छ। विभिन्न देशमा यसले पारेको क्षतीलाई त्यहाको उमेर संरचनासंग जोडेर बुझ्नुपर्ने हुन्छ । अहिलेसम्म सबैभन्दा धेरै मानिसको मृत्यु युरोपमा त्यसमा पनि दक्षिणी युरोपमा बढी भएको देखिन्छ, यो क्षेत्र विश्वकै सबैभन्दा धेरै बढी उमेरका नागरीक भएको क्षेत्र हो । युरोपका ३० वटा देशहरुमा २९ वटा सबैभन्दा ज्येष्ठनागरीकहरुको अनुपात भएको देशमा चिनिन्छन ।

सबै उमेरका मानिसहरु कोरोना भाइरसबाट प्रभावित हुने र मृत्यु हुने जोखिममा भएता पनि ज्येष्ठनागरीकहरु यसको उच्च जोखिममा रहेका छन् । WHO को अप्रिल महिनाको एउटा रिपोर्ट अनुसार ९५% भन्दा बढी मृत्यु ६० बर्ष माथीको उमेर समुहबाट भएको थियो र त्यसमा पनि आधा मृत्यु ८० बर्ष माथीको उमेर समुहबाट भएको थियो। मार्च महिनाको चाइनाको एउटा रिपोर्टले पनि उमेर बढ्दै जादा कोरोनाबाट हुने मृत्यु पनि बढ्दै गएको देखाउछ । उक्त रिपोर्टले ६० को दशकको उमेर समुहमा मृत्युदर ६.६%, सत्तरीको दसकको उमेर समुहमा ८% र ८० भन्दा माथिकाको १४.८% भएको देखाउछ। स्वीडेनको एउटा रिपोर्टले त ९०% भन्दा बढी मृत्यु ७० बर्ष भन्दा माथी उमेर समुहको देखाउछ। मध्ये मे महिनामा अमेरिकाको न्युयोर्कमा झन्डै चार भागको तीन भाग (७४%) मृत्युहुनेहरु ६५ बर्ष माथीका थिए।  न्यूयोर्कको कोभिड-१९ मृत्युको लगभग झन्डै आधा मृत्यु त ७५ बर्ष माथिका उमेरका व्यक्तिहरू थिए । तथ्यांकले नर्सिंगहोममा बस्नेहरु कोरोनाभाइरस संक्रमण र मृत्युको उच्च जोखिममा छन्। उदाहरणको लागी बेल्जियमको ५३ % मृत्यु यस्तै रेखदेख घरमा बस्नेहरुको भएको थियो ।  क्यानडामा यो तथ्यांक ६२ प्रतिशत, फ्रान्समा ३९%-५१% र स्पेनमा ६७% थियो ।

धेरै अध्ययनले के देखाउँदछ भने कम उमेरका मानिसहरूको तुलनामा ज्येष्ठनागरीकहरुमा पहिलेदेखि नै मुटुसम्बन्धी रोग, मधुमेह, श्वासप्रस्वास रोग, उच्च रक्तचाप र क्यान्सर जस्ता रोग हुने सम्भावना बढी हुन्छ । यसबाहेक, प्राकृतिक  किसिमले नै ज्येष्ठनागरीकहरुको रोग बिरुद्द लड्ने प्रतिरक्षा प्रणाली पनि केहि कमजोर हुन् गइ भाइरस संग जुध्नलाइ गाह्रो अबस्था हुन्छ । अझ यसमा पनि व्यक्तिको मोटोपन र धूम्रपान गर्ने आदतले प्रतिरक्षा प्रणालीलाई अझै कमजोर बनाइ रोग लाग्ने जोखिम झनै बढाउछ । यो जोखिम अझ लिंग अनुसार फरक छ : इटालीमा पुरुषहरु सार्है उच्च जोखिममा रहेको तथ्यांकले देखाएको थियो । यसको प्रमुख कारण पुरुषहरुको उच्च धूम्रपान र त्यसपछिका अन्य अस्वस्थ्य जीवनशैली यसका  कारणहरु हुन् सक्छ ।

तर, ब्यक्तीको उमेर अर्थात बुढो  हुनु नै सधैभरी सबै गम्भीर रोगको लागि पूर्ण निर्धारण गर्ने जोखिम कारक भने होइन । केहि स्थानहरू वा परिस्थितिहरूमा, महामारीको समयमा युवा मानिसहरू धेरै जोखिममा भएको पनि देखिएको छ । हालसालै नेपालमा डा चालिसेले प्रकाशित गरेको  एउटा नेपालको अध्ययनले नेपालमा बुढाबुढीको तुलनामा ५० बर्ष कमका ब्यक्तीहरु कोभिड-१९ बाट बढी प्रभावित देखिन्छ। तथ्यांकले ८०% भन्दाबढी ५० बर्ष मुनिकालाई कोरोनालागेको र सो उमेर समूहमै बढी मृत्यु भएको पनि देखिन्छ । तसर्थ बुढो हुनु भनेको कुनै रोगले समाती हाल्ने र मृत्युको मुखमा पुर्याई हाल्ने भन्ने होइन । विश्वमा थुप्रै यस्ता घटनाहरु छन् जो १०० बर्ष भन्दा माथीको उमेर समूहका थिए, कोरोना लागेर अस्पतालमा भर्ना भएपछि रोगलाई जीतेर घर फर्केका थिए र अहिले राम्रो स्वास्थ्यलाभ गरीरहेका छन् ।  उदाहरणको रुपमा स्पेनकी ११३ बर्षीया महिला, टर्कीकि १०७ बर्षिया महिला, ब्रिटिश १०६ बर्षीया महिला, कोरियाली १०४ बर्षीया महिला र सिंगापुरकी १०२ बर्षीया महिलालाइ लिन सकिन्छ। अर्को महत्वपुर्ण उदाहरण, जापान जस्तो देश जहा १०० औ बर्ष उमेर नाघेका ७० हजार भन्दा धेरै बुढाबुढी छन् धेरै थोरै मात्र यो रोगको शिकार हुन् पुगे । नेपालकै पनि थुप्रै ज्येष्ठ नागरीकहरुले यो रोगलाई जिती सक्नु भएको छ ।  फोक्सोको क्यान्सर भएर केमोथेरापी गरिएका चितवनका ७५ वर्षीय वृद्ध कोरोना संक्रमणबाट मुक्त भएका छन् । तसर्थ बुढो हुदैमा वा कोरोना भाइरस लाग्दैमा डराइहाल्नु पर्ने अवस्था छैन ।

बुढेसकाल प्रतिरक्षा प्रणाली

बुढ्यौली एक बहुमुखी प्रक्रिया हो, जसमा बिभिन्न अंग प्रणालीमा हुने असंख्य मलिक्युलर र सेलुलर प्रक्रिया समाबेस हुन्छ।  बुढ्यौली विभिन्न प्रकारका कार्यहरु र  संरचनात्मक परिवर्तनहरूको सेट हो जसले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्दछ । यसको असर संक्रमणसंग प्रतिरोध गर्ने क्षमतामा कमी आउनु, खोपको कम प्रतिक्रिया हुनु, क्यान्सरको बढ्दो अबस्था, स्वत: प्रतिरोध क्षमताको (अटोइम्युनिटी) अधिक मात्रा, र यस्तै-यस्तै प्रतिकुल अबस्था निम्त्याउछ। यसरी प्रतिरक्षा प्रणालीको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका छ; तर सामान्यतया वयस्कहरूको कमजोर प्रतिरक्षा प्रणाली हुन्छ र यसको परिणामस्वरूप संक्रमणको सामना गर्न प्रतिरक्षा प्रणाली कम उत्साहित हुन्छ। प्रतिरक्षा प्रणालीले शरीरलाई बाहिरी आक्रमण जस्तै ब्याक्टेरिया, भाइरस, फनगाई र विषबाट बचाउँछ ।

जोनहपकिन्स मेडिसिनका अनुसार प्रतिरक्षा प्रणाली, विभिन्न अंगहरू, कोषहरू र प्रोटिनहरू मिलेर बनेको छ र शरीरलाई रोगबाट जोगाउने  काम गर्दछ। यसलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ। प्रतिरक्षा प्रणालीको मुख्य दुई भागहरू छन् । पहिलो:  जन्मजात (प्राकृतिक) प्रतिरक्षा प्रणाली, जो ब्यक्तीको जन्मसंगै जन्मेको हुन्छ र शरीरलाई  सामान्य सुरक्षा प्रदान गर्दछ। दोश्रो: अनुकूलन प्रतिरक्षा प्रणाली: यो भनेको शरीरको विकास संगै बिकास हुन्।  जब बाहिरी आक्रमण हुन्छ त्यससंग लड्नको लागी शरीरले आबश्यकता अनुसार रसायनहरु निस्कासन गरी सूक्ष्मजीवहरूलाइ परास्त गर्छ । यी दुई प्रतिरक्षा प्रणाली आयामहरू सँगै मिलेर काम गर्दछन्, आफ्नै शरीरको र बाहिरी कम्पोनेन्टहरू बीचको फरक आफै छुट्टाइ र शरीरको आफ्नै संरचना भन्दा फरक कुनैपनि बाहिरी तत्वको  बिरूद्धमा एक भएर लड्छ र परास्त गरी रोग लाग्नबाट बचाउछ । यसमा मुख्यतया हाम्रो शरीरमा बिकास भएको टी सेल को भूमिका हुन्छ, जसले भाइरससंग लड्ने रसायन नियमित रुपमा निष्कासन गर्छ ।

अध्यनहरुले व्यक्तिको उमेर बढ्दै जादा टी सेलको संख्या पनि कम हुदै जान्छ भन्ने देखाउछ। बाल्यकालबाट जवान अबस्थामा पुग्दा टी सेलको उत्पादन १० गुणाले कम भएको हुन्छ र फेरी पचास बर्ष पुग्दा अर्को १० गुणाले टी सेलको उत्पादनमा कमी आउछ।  यसरी टी सेलको कमी हुदै जादा नयाँ-नयाँ बाहिरी परजीवीसंग लड्ने शरीरको प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउछ । यसले ज्येष्टनागरीकहरुको प्रतिरोधात्मक क्षमता कसरी कमजोर हुन्छ र नयाँ-नयाँ भाइरस संग किन डराउनुपर्ने हुन्छ भन्ने कुरा केहि हदसम्म प्रष्ट पार्दछ। त्यसमा पनि उमेर बढ्नुले मात्रै यो समस्या निम्त्याउने होइन कि उसको समग्रमा स्वास्थ्यको अबस्था (पुरानो रोगहरु) कस्तो छ, ती कुराहरुले पनि कोरोनाले कति छिटो आक्रमण गर्छ भन्ने कुरा भर पर्दछ ।

उमेर बढ्दैमा प्रतिरक्षा प्रणालीलाई कसरी कमजोर हुन् नदिने,  प्रतिरक्षा प्रणाली दह्रो कायम राख्न, प्रतिरक्षा प्रणाली गिरावट रोक्न र कमजोर प्रतिरक्षा प्रणाली मजबूत बनाउनमा अनुसन्धान भइरहेको छ । तर आजसम्म कुनै निश्चित समाधान देखा परेको छैन। हामीलाई थाहा छ किन उमेरसँगैं प्रतिरोधात्मक क्षमता घट्छ, तर यसलाई प्रतिरोधात्मक क्षमतालाई कसरी रोक्नसकिन्छ भन्ने थाहा छैन । सरल भाषामा भन्नुपर्दा, तपाईको उमेर बढ्दै जादा प्रतिरक्षा कोषहरू पनि कम हुन्छन्, र यी थोरै भएका कोषहरू पनि  एक अर्कोसँग सम्बाद गर्दैनन् । यसैले तिनीहरू हानिकारक कीटाणुहरूसँग प्रतिक्रिया गर्न लामो समय लिन्छन् र तपाईं बिरामी हुने बढी सम्भावना हुन्छ। अझ भन्नुपर्दा, बुढेसकालको शरीरले सेतो रक्त कोशिका सहित कम  प्रतिरोध कोशिका उत्पादन गर्दछ,  जसले चोटपटक, संक्रमण र बिमारीबाट निको हुन् पनि समय लाग्दछ ।

उमेर बढ्दै जादा बुढ्यौलीले प्रतिरक्षा क्षतामा कमी आउँछ। वृद्धहुदैमा प्रतिरक्षा क्षतामा कत्ती पनि हुदैन भन्ने होइन, यसमा पनि ब्यक्ती-ब्यक्तीको बिचमा ठूलो भिन्नता छ। बुढ्यौलीले कोभिड-१९ संग पनि लड्न सक्छ, तर प्राय: कोभिड-१९ लाई प्रभावकारी रूपमा जवाफ दिन सक्दैन। यसैले सार्वजनिक स्वास्थ्यलाई जोगाउने  प्रयासहरू अन्तर्गत व्यक्तिगत दुरी, मास्क लगाएर हिड्ने जस्ता कुराहरुलाई प्रयोग गरिएको हो।  तसर्थ  प्रतिरक्षा प्रणाली मर्मत गर्ने वा बढाउने  सम्बन्धी गतिविधि जस्तै फ्लू खोप लगाउने, स्वस्थ आहार खानु, शारीरिक रूपमा सक्रिय हुनु, तनावको स्तर कम गर्ने, प्रयाप्त सुत्ने , स्वस्थ तौल कायम राख्नु, सुर्तीजन्य कुराको त्याग र बाहिर कम समय खर्चर्नु इत्यादीमा ध्यान दिनु आबश्यक छ ।

अन्तमा, कोभिड-१९ दीर्घकालीन रोगहरु भएका ज्येष्ठ नागारीकहरुको लागि घातक हुनसक्छ। आफै, स्वास्थ्य प्रबर्धन गतिविधिहरू र स्वस्थ जीवनशैलीमार्फत राम्रो स्वास्थ्य कायम गरी र प्रतिरक्षा प्रणालीको गिरावट कम गर्न र रोग प्रतिरोध क्षमता अधिकतम बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ । जो ब्यक्ती स्वस्थ्य किसिमले बुढो हुदै जान्छ, त्यो व्यक्तिमा यस्तो किसिमको जोखिम पनि कम हुन्छ।  तसर्थ सक्रिय बुढ्यौलीलाई टेवा दिने कार्यक्रम परिवार, टोल, समाजमा लागु गरी यस्ता रोगको जोखिमबाट हुने शारिरीक र मानसिक समस्यालाई कम गर्ने प्रयास गर्नु आबश्यक छ ।

ज्येष्ठनागरीक बिज्ञ डा. चालिसे जापानको टोक्यो युनिभर्सिटीबाट सोसियल जेरोन्टोलजी विषयमा बिद्याबारिधी हुनुहुन्छ । 
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: