‘बहुला’ उपाधि पाएका विलक्षण प्रतिभाका धनी रुदानेलाई सम्झँदा

शान्तराम विडारी

शान्तराम बिडारी । उत्तरी मकवानपुरको उर्वर माटोमा जन्मिनुभएका रुपचन्द्र बिष्ट अर्थात रुदाने एक राजनीतिक र दार्शनिक व्यक्तित्व त हुँदै हो, उहाँको व्यवहार, आचरण, कार्यशैली लगायतका सबै पक्ष बिचार गर्दा उहाँ अद्भुत क्षमता र विलक्षण प्रतिभाको धनी रहेको स्पष्ट हुन्छ ।

‘सादा जीवन उच्च विचार’का अनुयायी रुदाने असली कम्युनिष्ट र व्यवहारवादी नेताका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

उहाँका जीवनकालभरी सुनिएका, पढिएका र जनमुखी सहकर्मीहरुद्वारा भोगीएका पक्षहरुलाई दृष्टिगत गरी एक वृहत खोज तथा अध्ययन गर्नु आवश्यक छ । जुन खोजबाट रुदाने को हो ?

उहाँले किन त्यस्ता व्यवहारहरु प्रदर्शन गर्नुभयो र ति सबै व्यवहारको सार तथा निचोड के थियो भनेर नयाँ पुस्तालाई रुदानेबारे चेतना जागृत गर्न र पढाउन मद्दत पुग्छ ।

एकाध पटक आमुन्ने–सामुन्ने भएर प्रत्यक्ष रुपमा उहाँलाई देखभेट गरेको र उहाँको भाषण सुनेको सम्झना, त्यस घटनापछि रुदानेबारे मेरो बाल मस्तिष्कमा परेको प्रभाव र त्यस आधारमा उहाँका बारे गम्भिरतापूर्वक थालिएको खोज अध्ययनका आधारमा मेरो दावी छ–‘रुदाने सामान्य मानव होइनन्, महामानव हुन् । रुदाने सामान्य होइन असामान्य व्यक्तित्व हुन् ।’

उहाँका जीवनसंग जोडिएका अपत्यारिला तर यथार्थ केही प्रसंगहरुको चर्चा गर्न चाहन्छु । जसको विभिन्न व्यक्तिहरुले उद्घृत गर्न र पुष्टि गर्न समेत सहमति जनाउनुभएको छ । हुनत रुदानेसंग सम्बन्धित अविस्मरणीय र मिथकीय प्रसंगहरु अनगिन्ती छन् तर पनि ति सबै यथार्थताको धरातलमा जाँचिनुभन्दा मिथक बनेर जनमानसमा घुमिरहेको पाइन्छ ।

जिँउदो छँदै मरेको हल्ला

रुदाने विशिष्ट प्रकारको मान्छे हुनुहुन्थ्यो । उहाँले त्यतिबेलै तत्कालिन शासकहरु र शासन व्यवस्थालाई चुनौती दिइरहुन भएको थियो । त्यसो भएको हुनाले उहाँका पछाडि विभिन्न तहका राष्ट्रिय र अन्तराष्ट्रिय सिआइडीहरु पछि लाग्न थाले । यही क्रममा २०२८ साल माघ १ गते माघे सङ्क्रान्तीको अवसरमा देवघाटमा मेला लागिरहेको थियो । त्यहाँ उहाँका माइलाबाको छोरा र साँइलाबाको छोराहरुको व्रतवन्ध थियो ।

त्यहाँ एक्कासी झुल्किनुभएका रुदाने शायद त्यतिबेला पनि सिआइडीहरुले घेरिएको जानकारी पाएर होला अचानक केही वर्ष हराउनुभयो । त्यो दिन अधिकांश मान्छे ब्रतवन्ध तिरै लागिरहेका थिए । उहाँ नारायणीको त्यत्रो ठुलो भेलमा एक्कासी हामफालेर डुबुल्की मार्दै तलसम्म जानुभएछ । मान्छेहरुले ज्यान बच्ने आशा मारे, सायद नारायणी नदीले निल्यो भन्ने अनुमान गरियो । उहाँका बारेमा कयौं वर्षसम्म ‘मरेको हल्ला’ चल्यो ।

तर उहाँ पौडदैं नारायणघाटसम्म पुग्नु भयो । त्यसपश्चात त्यहाँबाट अन्य वैकल्पिक माध्यमबाट भारतका विभिन्न स्थानमा पुगी विभिन्न विचार र सिद्धान्तका मानिसहरुको संसर्गबाट पूर्वीय दर्शनहरुको प्रयोग र अभ्यास सिकेर सिकिसकेपछि केही वर्षपछि सिधै जन्मथलो पालुङमा दाह्री कपाल पाली साधुको भेषमा आइपुगेको र सबैभन्दा पहिले पंडितहरुको र दोस्रो चरणमा दलितहरुको भेला आयोजना गरेर पुर्वीय दर्शनको सवल र दुर्वल पक्षबारे व्यापक चर्चा परिचर्चा गरेको स्थानीय बुढापाकाहरु बताउँछन् ।

सो माघे संक्रान्त्रीको मेलामामा आफू रुदानेसंगै भएको र उहाँ नदीमा डुबुल्की मारेर केही बेरपछि आई आफूसंगै पूर्वीय दर्शनको अध्ययनको लागि सगैं भारत लैजान खोजेको तर आफ्नो परीक्षा परेका कारण जान नसकेको रुदानेका सहोदर कान्छा भाइ तथा वरिष्ठ व्यवसायी गुणचन्द्र विष्टले बताउनुभयो ।

साँढेसंग कालिमाटीमा नियमित जुधाई

रुदाने कालिमाटी बस्दा पहलमान कहलिनुभएको थियो । उहाँ राष्ट्रिय पञ्चायत सदस्य नहुँदै चर्चित व्यक्तित्व हुनुहुन्थ्यो । एक बलियो साँढेसंग नियमित जुध्नुहुन्थ्यो । एकसे एक गुण्डाहरु उहाँसंग तर्सन्थे पनि । शरीरलाई शक्ति सन्तुलनमा राख्न यो आवश्यक भएको उहाँको तर्क थियो ।

हालको बिष्णुमती पुलबाट सोल्टीमोडसम्म रुदाने र साँढेको जुधाइको व्यवस्थापन गर्ने काम केदार मानन्धरले गर्नुहुन्थ्यो । एक फेर रुदानेलाई साँढेले घचेट्दै घचेट्दै सोल्टीमोड पुर्‍याउने र सोल्टिमोेडबाट रुदानेले साँढेलाई घचेट्दै–घचेट्दै विष्णुमती पुलसम्म पुर्‍याउने काम हुन्थ्यो ।

यो क्रम पाँच पटकसम्म गरेपछि मान्छेहरुको जात्रासरी भिड लाग्थ्यो । साँढेलाई त्यसरी थकाएपछि उहाँले साँढेको भुँडीमा आफ्नो खुट्टा राखेर साँढेको दुइवटा सिङ समातेर पर्लक्क पल्टाएर साँढेलाई भूँइमा सुताइदिनुहुन्थ्यो । साँढे र उहाँको प्रेमभाव हुन्थ्यो । रुपचन्द्र आएपछि त्यो साँढे पनि पुच्छर हल्लाउदै, मुन्टो बटार्दै रुपचन्द्र भएको ठाँउमा आइपुग्थ्यो ।

पछि साँढेलाई एक पाथी चना र आफुलाई एक कुरुवा चनाको व्यवस्थापन हुन्थ्यो । चना खाइसकेर उहाँहरु छुट्टिने गरेको रुपचन्द्रका विद्यार्थी समेत रहेका जनमुखी सहकर्मी रामनारायण बिडारी बताउनुहुन्छ ।

बिडारीले २५ पैसा नतिर्दा सार्वजनिक सभा

मकवानपुर स्थित जनकल्याण माविमा रुदाने हेडमास्टर हुँदा त्यतिबेला ३८ वटा विहानी स्कुल चलाइएको थियो । हाइस्कुल पढ्ने ९ र १० कक्षाका विद्याथीहरुले ति विहानी कक्षामा गएर अनिवार्य पढाउनुपथ्र्यो । सोही क्रममा जनमुखी सहकर्मी तत्काल ९ कक्षमा पढने रामनारायण बिडारी पनि पालुङ–अंगारे भन्ने गाँउमा पढाउन जाने गर्नुहुन्थ्यो । दिँउसो पढ्न नपाउने बालवालिकाहरु त्यो विहानी कक्षामा पढ्थे । त्यस वापत प्रतिमहिना प्रति व्यक्ति ७५ पैसा तलव पाइन्थ्यो । त्यस तलव सबै एकै ठाँउमा जोडेर हिसाव निकालेपछि पढाउन जानेहरुबीच बाँढ्ने काम हुने रहेछ ।

त्यसरी बाँड्दा बिडारीले अर्को कुनै व्यक्तिलाई २५ पैसा दिनुपर्ने देखिएछ । उहाँले ‘२५ पैसा त हो नी’ भनेर त्यो हिसावलाई खासै महत्व नदिइ बस्नुभएछ । तर रुदानेले त्यो २५ पैसाको लागि शिखरकोट बजारमा सभा नै राख्नुभएछ ।

‘अहिले मैले यो बारेमा उनलाइ सच्याउन सकिन भने भोलि पदमा हुँदा ठूलै रकम पनि गोलमाल गर्ने वानी हुन सक्छ भनेर उसलाई बुझाउनका लागि नै यो सभा राखिएको हो, उसले आज दिनभरीमा २५ पैसा जहाँबाट ल्याएर भएपनि हिसाव समायोजन गर्नु’ भनेर समय दिनु भयो । त्यो सार्वजनिक प्रचारपछि बिडारी भने लाजले भुतुक्कै भएर २५ पैसा ल्याएर हिसाव समायोजन गरिदिनुभएको अनुभव हाल राष्ट्रिय सभा सदस्य रहेका बिडारीले सुनाउनुभयो ।

मुख्यमन्त्री पौडेलको तन्ना लिलामी

अहिलेका ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल एकताका विद्यालयको शिक्षक हुनुहुन्थ्यो भने रुपचन्द्र विष्ट त्यतिबेला राष्ट्रिय पञ्चायतको सदस्य हुनुहुन्थ्यो । रुदाने त्यतिबेला हेटौंडाको महेन्द्र चोकमा पर्चा बेच्दैहुनुहुन्थ्यो । रुपचन्द्रलाई देखेपछि पौडेल पनि आउनु भयो, उहाँहरुबीच कुराकानी भयो । पौडेलले पर्चा लैजाने कुरा गर्नुभएछ । रुदानेले सायद हिसाव गरेर पैसा पछि दिने शर्तमा डोरमणी पौडेललाई ३५ रुपैंयाको पर्चा दिनुभयो । पैसा दुई चार दिनभित्र दिने प्रतिवद्धतापछि डोरमणी पौडेल त्यहाँबाट हिँड्नुभयो ।

तर बीच बीचमा भेट्दा पनि डोरमणी पौडेलले पैसा नदिएपछि रुपचन्द्रलाई सायद रिस उठेछ क्यारे । ३–४ महिनासम्ममा पनि रुदानेले पैसा नपाएपछि उहाँ डोरमणी पौडेलको नवलपुर स्थित घरमा नै जानुभयो ।

उति बेला पौडेल न्युन आय भएको सामान्य मान्छे नै हुनुहुन्थ्यो । घरमै पुगेर रुदानेले ‘खै ले त भाते, त्यो ३५ रुपैंया भनेर प्रश्न गर्नुभएछ । त्यती बेला पौडेलले पैसा दिन आलटाल गरेपछि रुदाने आफैं घरभित्र छिरेर खाटमा हालिराखेको राम्रो तन्ना टिपेर हिड्नुभएछ । रुदानेले सो तन्ना ल्याएर चौतारोको वर पिपलको रुपमा झुन्ड्याउनुभएछ र कागजको टुक्रामा ‘यो डोरमणीको तन्ना हो, रु ३५ मा लिलाम बढाबढ छ ’ भनेर लेखिदिनुभएछ ।

त्यसपछि त्यहाँ धेरै मान्छे आएर हेर्न थाले । एकछिनपछि पौडेल आफैं आएर आफ्नो गोजीबाट ३५ रुपैंया तिरेर घरको तन्ना लिएर जानुभएको रोचक प्रसंगको चर्चा छ । ‘जुन कुरा डोरमणीजी आफैंले रुदानेको १३ औं स्मृति दिवसको दिन आयोजित श्रद्धाञ्जली कार्यक्रममा आफैंले भाषण गरेको कुरा हो ।’ (यो कुरा डोरमणी जिले रुपचन्द्रको मृत्यु पछि आफैले स्मृति सभामा वोल्नु भयो ।)

बिडारीका अनुसार त्यसपछि रुदानेले पौडेललाई पनि त्यहीँ राखेर करिव दुई सय जनाको बीचमा भाषण गर्नुभयो । भाषणमा उहाँले कडा तर्क समेत दिनुभयो । रुदानेको भनाई उद्घृत गर्दै बिडारीले भन्नुभयो, ‘पिपलको गेडोभित्र विशाल वृक्ष हुन्छ । तर मुर्खले भने त्यो गेडोलाई चिरेर साँच्चै रुख छ की छैन भनेर हेर्छ, अर्को मुर्खले सिलौटोमा राखेर पिनेर हेर्छ । रुख त भेट्दैन । अनि कस्तो फटाह रैछ भन्ने ठान्दछ । तर वास्तवमा त्यही पिपलको गेडोभित्र विशाल पिपलको वृक्ष छ । त्यो सुक्ष्म रुपमा छ । मौका पायो, वातावरण मिल्यो र घामपानी मिल्यो, माटोमा प-यो भने त्यो विशाल हुन्छ । त्यस्तै, डोरमणी पौडेलको मनभित्र भ्रष्टचारको त्यस्तै विउ सुक्ष्मरुपमा रहेछ । मौका पाएपछि त्यो हुर्केर, बढेर विशाल भ्रष्टचारी बन्न सक्छ ।

त्यसकारण त्यो सुक्ष्म विजलाई मैले झिकिदिनुपर्ने मेरो कर्तव्य थियो । मैले खोतली खोतली झिकिदिएको मात्र हुँ । तपाईँहरु जम्मैलाई चिनाइदिएको छु । यति कारणले उसको त्यो बिज सखाप भयो की भएन भन्ने कुरा पछिका व्यवहारबाट पुष्टी हुँदै जाला । यसरी मानिसहरुका बीचमा रुदानेले बोलेको बिडारी बताउँछन् । हाल राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापनि समेत रहनुभएका रामनारायण बिडारीले जानकारी दिनुभयो ।

पौडेलले भनेको भन्दै बिडारीले भन्नुभयो, ‘रुपचन्द्रको यो कार्यले गर्दा म अहिले पनि पदमा पुगेपछि झलक्क त्यो कुरा सम्झन्छु होसियार हुन्छु ।’

यसअघि हेटौंडा नगरपालिकाको दुई कार्यकाल मेयर र हाल ३ नम्बर प्रदेश सरकारको मुख्यमन्त्री पौडेलसंगका यि प्रसंगहरु अत्यन्तै रोचक लाग्छन् ।

महिलाको घाँसको भारी बोकेर टाप

रुदाने रापस हुँदा पनि पटक पटक अभियान लिएर गाँउ जानुहुन्थ्यो । यही क्रममा इपा पुग्नुभएछ । मकवानपुरको इपा भन्ने स्थान अत्यन्त विकट ठाँउ हो । घनघोर उकालो बाटोमा एउटा अधवैंशे महिला सकी–नसकी घाँसको भारी बोक्दै तर्तरी पसिनाको धारा चुहाँउदै अगाडि बढ्दै रहिछिन् । रुदाने अजंङको बलियो भएकाले त्यो अपरिचित महिलाको डोको दाहिने हातले समातेर लुरुलुरु माथितिर जानुभयो । त्यो बिचरी महिला को अपरिचित व्यक्तिले आफ्नो घाँसको भारी हड्प्यो भन्दै कराउँदै, रुदानेलाई सराप्दै पछि पछि लागिन् ।

जब रुदाने उकाले सकेर थाप्लोमा पुग्नुभयो, तब घाँसको भारी भूइमा राखिदिनुभयो । महिलाको गाली गर्ने क्रम अझै रोकिएको थिएन । अरु व्यक्तिहरुले उहाँ माननीय भएकाले गाली नगर्न भने । रुदानेले आफूले ‘सामान्य काम गरेको’ जवाफ दिनुभयो । ‘म पनि यतै आँउदै थिएँ । उसलाई साह्रै गाह्रो भएको देखें ।’ रुदानेले भन्नुभयो, त्यसकारण मलाई यति ल्याउन सामान्य भयो ।

महिलाले आफ्नो भाषाशैलीमा जसरी रुदानेसंग सवाल जवाफ गरिन्, त्यो गालीबाट रुदाने खुसी हुनुभयो । रुदानेले गर्न खोजेकै वास्तवमा त्यही थियो । नारीहरु जतिसुकै थिचोमिचोमा पर्दा पनि सहने गर्छन,उनीहरु जाग्नुपर्छ भन्ने रुदानेको भनाई थियो । अन्याय पर्दा महिलाले यसैगरी विद्रोह गर्नुपर्छ भन्ने उदाहरण दिँदै त्यसै विषयमा त्यो बेला उहाँले दुइघण्टा जनमुखी सभा चलाएको उहाँसंगै इपा पुग्नुभएका रामनारायण बिडारीले बताउनुभयो ।

उहाँले गाँउसभा आयोजना गर्दा गाँउका दलित, विधुवा महिलाहरुलाई नै सभापतिका रुपमा प्राथमिकता दिनुहुन्थ्यो ।

मनमोहनका पसलमा छिर्दा….

२०४७।४८ तिर मनमोहन अधिकारी नेकपा माक्सवादी पार्टी खोलेर टेकुमा बस्नुभएको थियो । शहीद शुक्र वृक्ष नजिकै चारतलामाथि उहाँको कार्यालय थियो । रुपचन्द्रले अक्सर मनहोहन अधिकारीलाई भेट्ने गर्नु हुँदोरहेछ । एकदिन रामनारायण बिडारी र रुपचन्द्र विष्ट मनमोहनलाई भेट्न जानुभएछ ।

सुरुमा मनमोहनलाई रुदानेले नमस्कार गर्नुभयो । मनमोहनले ‘ओहो रुपचन्द्र आएछौ, ल ल बस’ भन्नुभयो । त्यतिबेला संगै रहनुभएका रामनारायण बिडारी भन्नुहुन्छ, ‘उहाँले मलाई मनमोहन अधिकारीसंग चिनाउने क्रममा भन्नुभयो, ‘यो रामनारायण बिडारी, जनमुखी अभ्यास गर्छ, यसले आवश्यक पर्दा विरोधीलाई यसरी नास गरिदिन्छ की त्यो धेरै लामो समयसम्म उठ्न सक्दैन । ’

त्यसैगरी बिडारीलाई मनमोहन चिनाउने क्रममा भन्नुभएछ, ‘उहाँ आफ्नो वर्गभित्रै विद्रोह गरेर कम्युनिष्ट राजनीतिमा लागिपरेको मान्छे मनमोहन अधिकारी हुनुहुन्छ, त्यो नै उहाँको त्याग हो । त्यसकारणले म भेट्न आउने गर्छु ।’

त्यसपछि मनमोहन अधिकारीले भन्नुभयो, ‘पसल थापेर बसेको छु, यो व्यापार नै हो । आफ्नो सामान राम्रो छ त भन्नै पर्छ । पार्टी मेरै राम्रो भन्छु, कसको के विक्री हुन्छ, कति कसले किन्न सक्छन्, त्यो आफ्नो कुरा हो । यो मेरो पसल हो ।’

अनि रुपचन्द्रले बिडारीसंग भन्नुभयो, ‘देखिस्, कति इमान्दार, कति प्रष्ट, गरेकै यही हो त ।’

रुदानेको प्रसिद्ध नाम ‘बहुला’

एमनेस्टी इन्टरनेशनलको अन्तराष्ट्रिय म्यागजिनको लागि अन्तवार्ता लिन भनेर एकपटक रुदानेको कालिमाटीस्थित घरमा विदेशी सहितको नेपाली टोली आइपुग्यो । अन्तरवाार्ता नेपालीमा लिए तर अन्तरवार्ता सकिएपछि रुपचन्द्रले त्यो विदेशीसंग भने अंग्रेजीमै कुरा गर्नुभयो ।

औपचारिक रुपमा अन्तरवार्ता सुरु भयो । उनीहरुले पहिलो प्रश्न गरे, ‘तपाईँको खास नाम नै रुपचन्द्र विष्ट होइन त ?’ उहाँले भन्नुभयो, ‘मेरा धेरै नाम छन्, प्रसिद्ध नाम चाहिँ त्यो होइन ।’ फेरी सोधियो, ‘प्रसिद्ध नाम के हो त ?’ उहाँले भन्नुभयो, ‘मेरो प्रसिद्ध नाम चाहिँ बहुला हो । सबैले बहुला भन्छन्’ फेरी सोधिएछ, ‘तपाईँ बहुलाएकै हो त ? उहाँले भन्नुभयो, ‘मेरो चाहिँ नाम बहुला हो, अरुको बुद्धि नै बहुला हो ।’

फेरी अर्को प्रश्न तेस्र्याइयो, अनि तपाईँको परिवार ? उहाँले जवाफ दिनुभयो, ‘त्यो चासो नपरेको विषय । ’ फेरी सोधियो, तपाईँको शैक्षिक योग्यता ?, उहाँले भन्नुभयो , ‘थाहा पाउन खोज्ने ।’ पुन: प्रश्न जारी थियो, ‘तपाईँको ठेगाना ?’ जवाफ थियो ‘जिउको ढ्याक ।’

यस्तो प्रकारको लामो रोचक कुराकानी भएको अन्तरवार्तामै संगै रहनुभएका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी बताउनुहुन्छ । बिडारीले सुनाउनुभयो, ‘रुपचन्द्र स सना पर्चा वेच्ने रापस हो । रापस vदा तत्कालिन सूर्यबहादुर थापा जल्दो वल्दो राजनीतिमा थिए । रुदानेले एक पर्चा दिनु भयो । वहाले यो त वुझिएन भन्नुभयो । वुझ्ने पर्चा पनि छ भनेर खल्तीभित्र हात हालेर रु १० को नोट दिनु भयो र भन्नु भयो यस्ता नोट मात्र वुझ्नेहरुले जनताको भोट सैध्दान्तिक पर्चा वुझ्न कठिन छ । भने पछि हुल सांसद गलललल हाँसे । यो कत्रो व्यङ्ग थियो सम्झौं त । ’

विडारी नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाका अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.