कस्तो हुनु पर्छ प्राध्यापक संघ/संगठनको नेतृत्व ?

डा. दिलनाथ दंगाल

डा. दिलनाथ दंगाल । विश्वविद्यालयहरुमा मुख्य रुपले बैचारिक र पेशागतगरी दुई प्रकारको प्राध्यापकहरुको नेतृत्व कृयाशिल रहेको छ । बैचारिक नेतृत्वले आफ्नो पार्टीहरुसंग निकट रहेका प्राध्यापकहरुको हकहितमा काम गर्ने गर्छ भने पेशागत नेतृत्वले आफु कार्यरत विश्वविद्यालयका सम्पूर्ण प्राध्यापकहरुको साझा संस्थाको रुपमा काम गर्ने गर्छ । अहिलेको समय बैचारिक तर्फ प्रगतिशील प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ तथा पेशागत तर्फ विभिन्न विश्वविद्यालयहरुको प्राध्यापक संघ र ती सबैको छाता संगठनको रुपमा रहेको नेपाल प्राध्यापक संघको अधिवेशनहरु हुने क्रममा छन् । यी संगठनहरुमा असल नेतृत्व छनोट भएमा सम्पूर्ण प्राध्यापकहरुको हकहित सुनिश्चित हुने थियो भने विश्वविद्यालयहरुमा हुने गरेका बेथीतिहरुको पनि विस्तारै अन्त्य हुदैजाने थियो र हाम्रा विद्यार्थीहरुले देशमानै उच्च स्तरको शिक्षा प्राप्त गर्ने अवसर पाउने थिए । यसकालागि यो लेखमा प्राध्यापक संघको नेतृत्व कस्तो हुनु पर्छ भन्ने छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

प्रस्ट योजना भएकोः कुनै पनि कामबाट आसातित सफलता प्राप्त गर्नकालागि प्रस्ट योजनाको आवश्यकता पर्छ । प्राध्यापकसंघको नेतृत्वमा जाने व्यक्तिको पनि आफ्नो कार्यकालमा गर्ने कामका योजनाहरु के के हुन प्रस्ट हुनु पर्छ । प्राध्यापकसंघलाई आफ्नो कार्यकालमा कस्तो बनाउने, केके प्राज्ञिक कामहरु गर्ने, विश्वविद्यालयहरुमा देखिएका विभिन्नखाले समस्याहरुको समाधान केके हुने, ठूलो विश्वविद्यालय भए पनि त्रिवि सधै तालाबन्दी र राजनीतिबाट थलिएको छ यसको समाधान के हुने, पब्लिक क्याम्पसका समस्याहरुलाई कसरी समाधान गर्ने, सुप र मप विश्वविद्यालयहरुमा भरखरै समायोजन भएका साथीहरुका तमाम समस्याहरुको समाधान के हुने, पोखरा विश्वविद्यालयका समस्याहरुलाई कसरी सम्बोधन गर्ने, काठमाडौं विश्वविद्यालयमा प्राध्यापकसंघलाई स्थापित गराउनमानै समस्या छ, यसमा नेतृत्वको भूमिका के रहने? पुर्वाञ्चल, कृषि तथा वन, लुम्बिनी, राजर्षि जनक र अन्य विश्वविद्यालयहरुमा रहेका समस्याहरुमा ध्यान कसरी केन्द्रीत गर्ने ?

सबै प्राध्यापकहरुको केन्द्रमा पहुच हुदैन तीनीहरुलार्ई मूलधारमा कसरी ल्याउने, अवकास प्राप्त हुनैलागेका अग्रज प्राध्यापकहरुले पेन्सन पट्टा बनाउदा भोगेका समस्याहरु देखी अवकास प्राप्त भए पछिको वहाँहरुको विज्ञतालाई विश्वविद्यालयले कसरी प्रयोग गर्ने तथा वहाँहरुलाई कसरी सम्मान दिने, विश्वविद्यालयहरुमा नयाँ प्रवेशीहरुलाई बिभिन्न खाले सेवा प्रवेश र क्षमता विकास तालिम दिने खाका के हुने, करार तथा आंसिक साथीहरुका समस्याहरुलाई वस्तुगत रुपमा कसरी सम्बोधन गर्ने, सेवा आयोगलाई समयमा आयोग खोलि शिक्षक कर्मचारी नियुक्ति गरि विश्वविद्यालयहरुमा प्राध्यापक र कर्मचारीको अभाव हुन नदिन के के सुझावहरु दिने, विश्वविद्यालयहरु भित्र नेतृत्वमा नआएका तर आफ्नो क्षेत्रमा धेरै योगदान दिएका र क्षतावान प्राध्यापकहरु हुनु हुन्छ वहाँहरुको क्षमताको प्रयोगले विश्वका अब्बल विश्वविद्यालयहरुसंग हाम्रा विश्वविद्यालयहरुलाई कसरी प्रतिस्पर्धी बनाउने, विश्वका अब्बल विश्वविद्यालयहरु सरह हाम्रा विश्वविद्यालयहरुका पाठ्यक्रमहरुलाई समय अनुकुल परिमार्जन गरी बिद्यार्थीलाई देशबाहिर जानबाट रोक्न के के योजनाहरु दिने जस्ता तमाम समस्याहरुका बारेमा प्राध्यापकसंघको नेतृत्व गर्ने साथीहरुसंग प्रस्ट योजना हुनु पर्छ ।

सांगठनिक र प्राज्ञिक दुबै क्षमता भएकोः अबको समयमा प्राध्यापकसंघको नेतृत्वमा खाली राजनीति गर्ने वा संगठन मिलाउने मात्र नभएर प्राज्ञिक र सांगठनिक दुबै क्षमता भएको व्यक्तिको आवश्यकता पर्छ । विश्वविद्यालय क्षेत्र भनेको प्राज्ञिक क्षेत्र हो यहाँ हुने हरेक गतिविधीहरु प्राज्ञिक हुनु पर्छ र प्राध्यापसंघले यी थलोहरुमा प्राज्ञिक अभ्यास गर्ने वातावरण मिलाउनु पर्छ । यो वातावरण मिलाउने क्षमता प्राज्ञिक र सांगठनिक दुबै क्षमता भएको नेतृत्वबाट मात्र सम्भव छ । तसर्थ नेतृत्वमा जान चाहने प्राध्यापकले विगतमा कति प्राज्ञिक कामहरु जस्तो विषयगत वा अन्य लेख लेख्ने, सेमिनार, गोष्ठी सम्पन्न गर्ने, जर्नल प्रकाशन वा अन्य खाले विचार दिने आदी गरे । यसको लेखाजोखा हुनु पर्छ र यो आगामी नेतृत्वमा जाने साथीहरुको योग्यता बन्नु पर्छ ।

विभिन्न क्षेत्रलाई योगदान दिन सक्ने क्षमता भएकोः प्राध्यापक संघको नेतृत्वमा जान चाहनेले समाज, प्राज्ञिक जगत, विश्वविद्यालय र राज्यलाई कति योगदान दिएको छ ? त्यो पनि उसको नेतृत्वमा जान चाहिने योग्यता हुनु पर्छ । अधिवेशनको समयमा सत्ताको प्रयोग गर्दै दुई चार ओटा क्याम्पसमा पुग्नु तथा पाँच सात जना साथीहरुलाई फोनफान गर्नु र तातो चिसो खुवाउनुलाई मात्र योग्यता मान्न सकिने अवस्था छैन ।

अनुभवीः प्राध्यापक संघको नेतृत्व गर्न चाहनेले निरन्तर लामो समय सम्म प्राध्यापक संघको विभिन्न नेतृत्वमा रहेको अनुभव हुनु अर्को योग्यता हो । कहिले काँही हामी कहाँ एकाई समितीमा समेत काम गरेको अनुभव नभएका साथीहरुलाई क्रेनले तानेर प्राध्यापकसंघको केन्द्रीय नेतृत्वमा पठाउदाको हालत हामीले भोगेकै छौं । तसर्थ आगामी अधिवेशनहरुमा यस्तो प्रवृत्तिको अन्त्य गरिनु पर्छ ।

पुराना र युवा दुबैलाई समेटीनु पर्नेः अबको युग युवा र प्रविधीको युग हो तसर्थ नेतृत्वमा हामीले पुराना अनुभवी अग्रज सरहरुसँगै युवा प्राध्यापक साथीहरुलाई पनि सहभागी गराउनु पर्छ । कहिलेकाँहि भोटो फटाएको भरमा सिनियरलाई मात्र नेतृत्वमा पठाउने अनी नेतृत्वमा गएपछि अवकास नहुनजेल अधिवेशन नगर्ने वा अवकास प्राप्त भएपछि पनि अन्यत्र अवसर नपाउदा सम्म अधिवेशन पनि नगर्ने, नेतृत्व पनि नछोड्ने प्रवृत्तिले एकातीर नेतृत्व विकासमा बाधा पुग्ने हुन्छ भने अर्कोतीर समयमा अधिवेशन नहुनाले प्राध्यापकसंघ चलायमान हुन पनि सक्दैन । यस्ता प्रवृत्तिका विषयमा आगामी अधिवेशनहरुमा गहन छलफल हुनुपर्छ ।

आफ्नो अवधीभर नेतृत्वमा मात्र रहनेः प्राध्यपकसंघको नेतृत्व गर्न गएपछि पूर्ण कालिन समय सम्म प्राध्यापकसंघको नेतृत्वमा नै रहनु पर्छ । कहिलेकाँहि हामीकहाँ कस्तो पनि रोग देखिएको छ भने प्राध्यापकसंघको नेतृत्वमा बसेको दिनदेखी विश्वविद्यालयका विभिन्न नियुक्तिमा आँखा लगाउने र हरेक ठाँउमा आफ्नै र आफ्नो परिवारका सदस्यहरुको नाम सिफारिस गर्ने । त्यो पनि नभएमा आफ्ना आसेपासे भन्दा अरुको चासो नै नराख्ने नेतृत्वबाट अब प्राध्यापकसंघ हामीले सोचे जस्तो हुदैन । तसर्थ विभिन्न नियुक्तिमा जान इच्छा राख्ने प्राध्यापकहरुले प्राध्यापकसंघमा पूर्णकालिन नेतृत्व गर्ने साथीहरुलाई अगाडी बढाउनु पर्छ र सहयोग गरी आफु नियुक्तिमा जाने वातावरण मिलाउनु पर्छ ।

कार्यरत संस्थामामात्र पूर्णकालिन हुन पर्नेः प्राध्यापक संघको नेतृत्व गर्छु भन्ने व्यक्तिले आफु कार्यरत संस्थामा मात्र काम गर्ने र बाँकी समय पूर्णरुपमा प्राध्यापकसंघलाई दिनु पर्छ । केहि साथीहरुको के पनि देखिन्छ भने नेतृत्वमा जाने अनीे दश ठाँउमा लगानी गर्ने, प्राध्यापकसंघलाई समय नदिने र फिनिसिङ टच मात्र हान्ने, नेतृत्वमा बसेर पोलेसी क्रप्सनगरी आफ्नो संस्थालाई फाइदा पुर्याउने, आफु नेतृत्वमा बसेर निमुखा प्राध्यापकहरुलाई प्रलोभनमा पारेर आफुले व्यक्तिगत फाइदालिनेहरुबाट प्राध्यापकसंघको नेतृत्व चलाउनु हुदैन ।

सबैपक्षलाई समेट्ने क्षमता राख्नेः प्राध्यापकसंघको नेतृत्वमा जान चाहनेसाथीहरुले काम गरेका र सम्भवनाहरु बोकेका सबै विश्वविद्यालयहरु र भूगोलका साथीहरुलाई मिलाएर नेतृत्वको निर्माण गर्नु पर्छ । एउटा कोठामा बसेर चल खेलेको भरमा प्राध्यापक संघ चल्दैन भने प्राध्यापहरुको हितमा काम गर्न पनि सकिदैन । यस्तो कोठे नेतृत्वले कहिले पनि काम गर्ने र सम्भावना बोकेका प्राध्यापकहरुलाई अगाडी आउन दिएको देखिदैन । यीनीहरुका प्रमुख शत्रु भनेका नै क्षमतावान र सम्भावना बोकेका प्राध्यापकहरु हुने गर्छन । तसर्थ अवको नेतृत्वमा यो रोग सल्किनु हुदैन ।

विश्वविद्यालयमा देखिएका समस्यालाई सम्बोधन गर्न सक्नेः हाम्रा विश्वविद्यालयहरुमा दिन प्रतिदिन विभिन्न किसिमका समस्याहरु थपिदै गएर ती विश्वविद्यालयहरु उठ्न नसक्ने गरी थलिएका छन् । प्राध्यापकसंघको नेतृत्वमा बसेर पदाधीकारीहरुसंग पद र सुविधाको मात्र मोलमोलाई गर्ने होईन की उनीहरुसंग मिलेर विश्वविद्यालयहरुमा देखिएका तमाम समस्याहरुको समाधान खोज्न सक्ने हुनु पर्छ । विगत दुई वर्षमा २०० दिन त्रिविमा ताला लाग्यो र हाल पनि त्यहाँ ताला लागेकै अवस्था छ । अन्यविश्वविद्यालयहरुको हालत पनि त्यस्तै छ, पब्लिक क्याम्पसका समस्याहरु वर्षै देखी जहाँको त्यही छन् । तसर्थ अव आउने नेतृत्वले विश्वविद्यालयहरुमा देखिएका यी तमाम समस्याहरुलाई कसरी समाधान गरी यीनिहरुको प्राण बचाउने भन्ने योजना हुनु पर्छ । विश्वविद्यालयहरु रहेमामात्र हामी प्राध्यापक रहन्छौ र प्राध्यापकसंघको नेता बन्छौ भन्ने कुरा भुल्नु हुदैन ।

प्राध्यापक संघलाई विचारदिने थलोका रुपमा विकास गर्न सक्ने क्षमता भएकोेः प्राध्यापक संघ भनेको विचार दिने थलोका रुपमा विकास हुन पर्छ । यसले समाज, देश र आफु निकट पार्टीहरुलाई आवश्यक परेको समयमा सहि विचार दिएर अगाडी बढ्न सक्नु पर्छ । तसर्थ विगतमा नेतृत्वमा रहदा कति विचार दिए र अवको योजनामा यसलाई कसरी पार्छन त्यो पनि नेतृत्वमा जानेको योग्यता नाप्ने कडी हुनु पर्छ ।

काम गर्न सक्ने व्यक्तिको छनोटः प्राध्यापकसंघमा नेतृत्व गर्न जाने भनेको काम गर्न जाने हो, जसकालागि प्राध्यापकहरुका विचमा रुचाईएको ब्यक्तिको मात्र छनोट हुनु पर्छ । एक पटक फेल भएका, प्राध्यापकहरुले नरुचाएका, कुनै योजना विहिन र टेस्टेट ब्यक्तिहरुलाई प्राध्यापक संघहरुमा छानी छानी नेतृत्वमा पुर्याउदा र कतिपय अवस्थामा अवकास पछि पनि प्राध्यापक संघमा गुटको नाईकेको भुमिकामा रहि रहदा प्राय प्राध्यापकसंघहरु प्रति आम मानिसहरुको गलत धारणा विकास भएको अवस्था छ भने प्राध्यापकसंघ यीनिहरुको बन्दी बन्न पुगेका छन् । तसर्थ हामीले आगामी अधिवेशनहरुमा यी कुराहरुमा पनि ध्यान पुर्याउनै पर्छ ।

विश्वविद्यालयहरूलाई अनुसन्धानको केन्द्र बनाउने सोच भएकोः र्यांङकिङमा अब्बल देखिएका विश्वका विभिन्न विश्वविद्यालयहरू अनुसन्धानले नै अब्बल भएका हुन् । तसर्थ हाम्रा विश्वविद्यालयहरूलाई पनि अब्बल बनाउने हो भने अध्ययन–अध्यापनका साथसाथै अनुसन्धानका केन्द्र बनाउनु र नवप्रवर्तन, नयाँ ज्ञान र सिकाइ उत्पन्न गर्ने सक्षम संस्थाका रूपमा विकास गर्नुपर्छ । तसर्थ विश्वविद्यालयहरुलाई अनुसन्धान केन्द्र बनाउने योजना र क्षमता भएको नेतृत्वमात्र आगामी अधिवेशनहरुमा चयन गर्नु पर्छ ।

प्राध्यापकको नेतृत्वहरू समाजमा उच्च आदर्शको देवदूत जस्तो हुनुपर्छः हिजोका दिनमा हाम्रा अग्रज प्राध्यापकहरुले दुख गरेर निर्माण गरेका प्राध्यापकसंघ/ संगठनहरु, जुनवेलामा समाजले प्राध्यापकसंघले के भन्छन् र देश तथा समाज कता जान्छ भनेर कान ठाडो पार्ने समाज आज आएर प्राध्यापकसंघले केहि कुरा भन्ला र सुन्नु पर्ला भनेर कान छोपेर हिड्ने अवस्थाको सिर्जना हुन थालेको छ । यो विषयमा पनि हामीले समयमा नै सोच्नु पर्ने छ ।

तर यति हुँदा हुँदै पनि वास्तवमा समाजमा अझै पनि प्राध्यापकलाई श्रद्धाको मन्दिर भनेर परिभाषित गरिन्छ यसको नेतृत्व त झन श्रद्धाको प्रतिमूर्ति नै हुनपर्छ (केहि नेतृत्व आज पनि श्रद्धाको प्रतिमूर्ति त छ तर विडम्वना त्यो वर्ग विस्तारै ओझेल परि रहेको तीतो यथार्थ हामी सामु रहेको अवस्था छ) । नेतृत्वलाई देख्नासाथ सबैको श्रद्धाले शिर झुक्ने हुनुपर्छ । यिनको कुनै गुट, धर्म, वर्ण, वर्ग, कसैप्रतिको झुकाव, आग्रह, पूर्वाग्रह केही पनि हुनु हुँदैन । सबै प्राध्यापकहरुलाई समान दृष्टिले हेर्ने क्षमता हुनु पर्छ । आम प्राध्यापकहरुले यिनीहरूलाई अन्तिम र दुःखको सहाराका रूपमा लिने अवस्था सिर्जना हुनुपर्छ । छोटकरीमा भन्ने हो भने प्राध्यापक र यसको नेतृत्वहरू समाजमा उच्च आदर्शको देवदूतजस्तो हनुपर्छ । कोही मान्छे आफ्नो जीवनदेखि दिक्क भएर आत्महत्या गर्न हिँडेको अवस्थामा बाटोमा नेतृत्वलाई भेट्यो भने आफू आत्महत्या गर्ने सोचाइबाट पछाडि हट्ने अवस्थामा पुग्नुपर्छ तब मात्र संघ/संगठनहरुमा सुधार ल्याउन र प्राध्यापकसंघलाई विश्वविद्यालय तथा प्राध्यापकहरुको हितमा प्रयोग गर्न सकिन्छ ।

(त्रिविमा प्राध्यापनरत डा. दंगाल प्रगतीशिल प्राध्यापक संगठनका केन्द्रीय सचिव हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.