चित्त दुख्दो रहेछ !

अनन्तकुमार श्रेष्ठ

बरु
श्मसानमा आफन्त पोलेर फर्कदा
चित्त दुख्दो रहेनछ

अँगारले लेखेर, बाले ल्याएका महङ्गो मट्टीतेलका मशाल बालेर
बालापन ह्वात्तै सिध्याएर,
सपनाहरु देखाइएका, सपना देखाउनेहरुले नै

सपनामा हुरहुरी आगो लगाइदिँदा
चित्त दुख्दो रहेछ

चिसो चउरमा पलेटी मारेर
अग्ला मञ्चबाट
राता ताता उज्याला सपनाहरु सुनेर
हातै रातो हुने गरि पड्काइएका तालीहरु सम्झेर
चित्त दुख्दो रहेछ

बरु
श्मसानमा आफन्त पोलेर फर्कदा
चित्त दुख्दो रहेनछ

राता झण्डाहरु बोकेर, गगनभेदी नारा लाउदै
चिसा सडकहरु तताउदै
भित्ता र ब्यानरहरुमा मीठा सपना र ललकारहरु लेखेर
युवावय सबै रित्याएर
आफू जस्तै ख्याउटे गाला र पेट भएकालाई
सपना पूरा गरिदिने विश्वास भएकाले
राता गाला र आँखा भएर
टेलिभिजनको पर्दामा मलाई यो भएन त्यो पुगेन भनेर
बडेमाको भुँडी हल्लाउदै हुँकार
गरेका यिनै कानले सुन्दा र आँखाले देख्दा
बडो चित्त दुख्दो रहेछ

बरु
कपडाको धरो किन्न नसकेर
नाङ्गै सडकमा भोकै गुरगुरी दगुरी रहेका
लालाबाला देखेर
चित्त दुख्दो रहेनछ

– अनन्तकुमार श्रेष्ठ, पुतलीबजार स्याङ्गजा

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.