पत्रकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ सार्वजनिक   

चिप्लेढुङ्गा, २९ फागुन : महिलाको यौन मनोविज्ञानमा आधारित कथासङ्ग्रह ‘कुमाता’ आज पोखरामा सार्वजनिक गरिएको छ । पत्रकार वसन्त पराजुलीद्वारा लिखित सो कथासङ्ग्रहको पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । चितवनमा गृह विमोचन गरिएको उक्त सङ्ग्रह पोखराका पाठकलाई लक्ष्य गरेर सार्वजनिक गरिएको कथाकार पराजुलीले बताउनुभयो ।

सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषयवस्तु समेटेर तयार पारिएको कथासङ्ग्रहमा दश कथा फरक फरक विषयवस्तुमा केन्द्रित रहेका छन् । “कथामा समेटिएका विषयवस्तु र पात्र हाम्रै छरछिमेक र समाजमा भएका घटना जस्ता लाग्छन्, त्यसैले कुमाता कथासङ्ग्रहभित्रका कथाहरु हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भन्नुभयो, “गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन्, यी कथामा कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्य नै विषयवस्तु रहेका छन् ।”

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख कृष्ण गिरीले पत्रकारले समाचार लेख्ने मात्रै हैन कि समाजमा देखिएका विषयवस्तुलाई वस्तुपरक ढङ्गबाट साहित्यमा रुपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता हतारको साहित्य भनिए पनि पछिल्लो समय तिनले प्रकाशनमा ल्याएका कृतिले नेपाली साहित्यमा नयाँ आयाम थपिएको बताउनुभयो ।

नेपाली लेखक सङ्घ कास्कीका उपाध्यक्ष रीतादेवी कँडेलले साहित्य समाजको यथार्थसँग जोडिने भएकाले यसबाट तत्कालीन परिवेशको जानकारी लिन सकिने बताउनुभयो । कार्यक्रममा सहभागीले पत्रकारिता, साहित्य र समाजका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.