अन्तर्राष्ट्रिय मान्यता पायो मूर्तिकला कार्यशालाले

गलकोट नगरपालिका ५ टेउवामा आयोजित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी नेपाली मूर्तिकार राजु पिठाकोटेले बनाएको कलाकृति । तस्वीर: रामबहादुर थापा

बागलुङ, २६ फागुन : यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ ।

“कार्यशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले (आइएसएसए) ले सदस्यता दिएको हो”, कार्यशालाका संयोजक मूर्तिकार ओम खत्रीले भन्नुभयो । संस्थाका महासचिव चीनका मूर्तिकार ल्यू याङ्गले कार्यशालाको समापन समारोहमा सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । (आइएसएसए) अन्तर्राष्ट्रियस्तरमा आयोजना गरिएका मूर्तिकला कार्यशालाको सञ्जाल/संस्था हो । सस्थाको केन्द्रीय कार्यालय चीनमा छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञसमेत रहनुभएका संयोजक खत्रीले नेपालमा भएको यस कार्यशालाले अन्तर्राष्ट्रिय जगत्को ध्यान खिचेको जानकारी दिनुभयो ।

“हाम्रो कार्यशाला अन्तर्राष्ट्रिय सञ्जालमा छिरेको छ, विश्वमा भएका अन्य कार्यशालाझैँ नेपालमा भएको कार्यशाला पनि इतिहासमा सुरक्षित रहनेछ”, उहाँले भन्नुभयो । कार्यशाला सञ्चालनका लागि इटालीमा रहेको अन्तराष्ट्रिय मूर्तिकारहरूको संस्था (एआइएसएम)ले पनि सघाएको थियो । अन्तर्राष्ट्रिय रुपमा आवेदन माग गरी विज्ञले गरेको छनोटका आधारमा मूर्तिकारलाई सहभागी गराइएको थियो । गलकोट नगरपालिका–५ टेउवामा भएको कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी थिए । अन्तर्राष्ट्रिय ख्याति कमाएका मूर्तिकारले ढुङ्गामा प्रकृति, जीवन, संस्कृति र सभ्यता झल्कने १५ मूर्ति कुँदेका छन् ।

खुला मूर्तिकला सङ्ग्रहालय र ललितकला अध्ययन, अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना हो । मूर्तिकारले सिर्जना गरेका कलाकृतिलाई टेउवामै खुला सङ्ग्रहालय बनाएर प्रतिस्थापन गरिने आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । कार्यशालामा नेपालबाट मूर्तिकार प्रविण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुभएको थियो । मूर्तिकार श्रेष्ठले भगवान् गणेश, खत्रीले चरा, काफ्लेले प्रविधि, चौधरीले गौतमबुद्ध र पिठाकोटेले प्रकृतिलाई कलामा उतार्नुभएको छ ।

यस्तै जापानका जुनीचिरो सुगीमोतोले डुङ्गा, चीनका ल्यू याङ्गले नदी र समुद्र, इटालीका बेतीनो फ्रान्सेनीले औँठाछाप, फ्रान्सका जिवियर गोञ्जालेजले जीवन, ताइवानका लीन लि जेनले जीवनचक्रबारे अमूर्त मूर्ति कुँद्नुभएको छ । क्यानाडाकी जुली ग्लास्पीले पनि जीवन र प्रकृति, भारतका टुटु पटानायकले रामायणको कथामा हनुमानले बोकेको सञ्जीवनी पर्वत, इजरायलकी तान्या प्रिमेन्जरले चरा र सर्प ब्राजिलका जर्ज लुइज सोडरले नेपाली बस्ती, भूबनोट र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोले चन्द्रमाको विभिन्न स्वरुपलाई कलामा प्रतिविम्बित गर्नुभएको छ ।

मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच सहयोगी मूर्तिकारसमेत सहभागी थिए । आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अघि बढाइएको थियो । पूर्वाधार निर्माणसहित कार्यशाला सञ्चालनका लागि झण्डै रु दुई करोड ३० लाखभन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि सरकारी निकायदेखि व्यक्तिगतरुपमा समेत आर्थिक सहयोग जुटाइएको थियो । कार्यशालास्थलका लागि स्थानीयवासीले २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । सोही स्थानमा खुला मूर्तिकला सङ्ग्रहालय र ललितकला अनुसन्धान केन्द्र बनाउने प्रतिष्ठानको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.