‘मुहार चित्र’ बनाउने अभियान शुरु

चित्रकारहरुले बनाईएका चित्रहरु । तस्वीर: नारायण ढुङगाना

काठमाडौँ, ३ फागुन : ललितकलाका कलाकारले साप्ताहिकरुपमा ‘मुहार चित्र’ बनाउने अभियान शुरुआत गरेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा आजदेखि थालिएको अभियानअन्तर्गत कुनै व्यक्तिको प्रत्यक्ष मुहार हेरेर चित्र बनाइन्छ ।

अभियानको पहिलो दिन कलाकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यको मुहार चित्र बनाएका थिए । स्थलगत मुहार चित्रकला कार्यशालामा कलाकार एनवी गुरुङ, लालकाजी लामा, दीपेन्द्रमान बनेपाली, भीम श्रेष्ठ, डिराम पाल्पाली, लालकाजी लामा, बाबु साहिला, कान्छाकाजी भासिमा, विनोद गुप्तालगायतको सहभागिता थियो ।

स्वयं कलाकारमा मुहार चित्र (पोट्रेट) बनाउने सीपको विकास गर्नुका साथै यसलाई व्यवसायीकरण गर्ने उद्देश्यअनुरुप जलरङका माध्यामबाट उक्त अभियान थालिएको आयोजकले जनाएका छन् ।

विशेष गरी कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तिलाई अगाडि राखेर प्रत्यक्षरुपमा चित्र बनाइने समाजका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो । चित्रकारिताकै चुनौतीपूर्ण विधा भएकाले र यसप्रति नेपालमा कलाकारको उत्साह कम रहेकाले अभियानका माध्यामबाट उक्त विधालाई अगाडि ल्याउने प्रयास समाजको रहेको उहाँले बताउनुभयो ।

नेपालमा मुहार चित्र बनाउने कलाकार न्यून छ । अन्य विधामा चित्र बनाउने कलाकारले कहिलेकाहीँ मागअनुसार मुहार चित्र बनाउने गरेको बताउँदै प्रतिष्ठानका कुलपति कर्माचार्यले अभियानले मुहार चित्रकलाको माहोल सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पश्चिमा मुलुकमा निकै फस्टाएको मुहार चित्र बनाउने विधा नेपालमा गौण छ । यसअघि नेपालमा विभिन्न स्थानमा पुगेर प्रत्यक्षरुपमा दृष्य चित्र बनाउन गरिए पनि मुहार चित्रको विषयमा नियमित अभियान चलेको छैन । अहिलेको अभियानले कलाकारलाई उत्साह बढाउने विश्वास लिइएको प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनालले बताउनुभयो । उहाँले कलाकारको आफ्नै प्रयास कमजोर भएकाले मुहार चित्र बनाउने कलाको व्यवसायीकरण हुन नसकेको जानकारी दिनुभयो ।

अर्का सदस्य लालकाजी लामाले मुहार चित्र बनाउन कलाकार अग्रसर नभइरहेको अवस्थामा आइडब्लुएसले अभियान शुरु गर्नु महत्वपूर्ण उपलब्धि रहेको र यसलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.