‘शब्द संयोजन’लाई लक्ष्मी कार्की पत्रकारिता पुरस्कार 

काठमाडौँ, २३ पुस : सोह्र वर्षदेखि नियमित प्रकाशन भइरहेको वासुदेव अधिकारीको प्रकाशनमा रहेको ‘शब्द संयोजन साहित्यिक मासिक’लाई ‘चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठान’ पाटन, ललितपुरले ‘सुश्री लक्ष्मी कार्की स्मृति नेपाली पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

मेधावी विद्यार्थी २१ जनालाई प्रदान गरिने छात्रवृत्तिका साथ साहित्यिक पत्रकारितामा योगदान गर्ने पत्रिका तथा व्यक्तिलाई प्रदान गरिने पुरस्कारमध्येको रु.३०,०००।– राशिको २०७५ सालको पुरस्कार आज ललितपुरमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो । प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त समारोहमा २०७६ सालको इतिहासतर्फको ‘चेतकी प्रज्ञा सम्मान’ संशोधन मण्डल, काठमाडौँलाई; २०७६ सालको संस्कृतितर्फको चेतकी प्रज्ञा सम्मान नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलाई; २०७५ सालको हिन्दू धर्मदर्शन प्रज्ञा सम्मान प्रा डा दधिराज घिमिरेलाई, २०७४ सालको ललितकलातर्फको चेतकी प्रज्ञा सम्मान नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यलाई, २०७३ सालको बौद्ध धर्मदर्शनतर्फको प्रज्ञा सम्मान प्रा डा शङ्कर थापालाई र २०७२ सालको नेपाली भाषातर्फको प्रज्ञा सम्मान प्रा डा चूडामणि बन्धुलाई अर्पण गरिएको थियो । ती छ वटै पुरस्कारको राशि जनही रु पचास हजार छ ।

त्यसैगरी २०७६ सालको ‘सुश्री लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान’ कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलालाई, २०७४ सालको सोही पुरस्कार नवप्रज्ञापन साहित्यिक त्रैमासिकलाई, २०७३ सालको सोही पुुरस्कार विराटनगरबाट प्रकाशित सङ्गम अभियान साहित्यिक मासिकलाई, २०७२ सालको सोही पुुरस्कार शृङ्खला साहित्यिक मासिकलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही रु ३० हजार तथा ताम्रपत्र छ ।

समारोहमा जेहन्दार विद्यार्थी २१ जनालाई जनही रु छ हजार राशिको छात्रवृत्ति प्रदान गरिएको थियो भने रु १२ हजार राशिको रत्नबहादुर नैनकुमारी कार्की स्मृति छात्रवृत्ति ज्ञानप्रकाश मावि ओखलढुङ्गाका १२ जना कक्षा १ देखि १२ सम्मका प्रथम विद्यार्थीलाई जनही रु एक हजारले प्रदान गर्ने गरी उक्त विद्यालयका प्रतिनिधिलाई प्रदान गरिएको थियो ।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बाबुआमा, बहिनी र छोरीको सम्झनामा र सम्मानमा पुरस्कार दिने र वार्षिक श्राद्धस्वरूप विभिन्न विधामा योगदान गर्ने व्यक्तित्वलाई सम्मानित गर्ने परम्परा स्थापित गर्ने कार्कीको यो सत्कर्म अनुकरणीय रहेको धारणा राख्नुभयो । प्रतिष्ठानका महासचिव युवराजसिंह कार्कीले २०५३ सालमा बाआमाको स्मृतिमा पुुरस्कार स्थापना गरेको र २३ वर्षीया छोरीको देहावसान भएपछि छोरीकै नाममा प्रतिष्ठान खडा गरी पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीकाजी महर्जनले भाषा, साहित्य, संस्कृतिको जगेर्नाको थालनी महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष जोशीको सम्मानबाट गरेको र यस क्षेत्रमा थप सहयोग गरिने वचनबद्धता जाहेर गर्नुभयो ।

सम्मानित व्यक्तित्व प्रा डा बन्धुले व्यक्तिका प्रयत्नबाट ठूलो अक्षयकोष खडा गरी धेरै क्षेत्रलाई समेटेर भाषा, साहित्य, संस्कृति, ज्ञानविज्ञान र पत्रकारिताका क्षेत्रमा पुरस्कार तथा सम्मानका माध्यमबाट ऊर्जा थप्ने कार्य प्रशंसनीय रहेको धारणा राख्नुभयो । साहित्यकार चेतन कार्कीले मान्छेकै सत्कर्मले इतिहासको निर्माण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.