मैले हारेको छैन !!

अबिरल यात्राामा आएका केही उतार चढावहरु
केही आरोह र अबरोहका पलहरु
अनी हिड्दै जादा गोरेटोमा भेटिएका केही काडाहरु
र प्रत्येक बिझाइ सँगै लागेका ठेस अनी ठक्करहरु
साच्चै जिन्दगीका हार हैनन
मुटु रेट्ने समयका धार हैनन
क्षतबिक्षत हृदयका सङ्घार हैनन…
हो म रोएको छैन
केही अतित अनी बर्तमानहरु छचल्किएका मात्रै
हुन मेरा यि नयनहरु बाट
मेरा ति सुन्दर सपना र चाहनाहरु ओईलिएका छैनन
छन त केवल त्यो सुर्यको किरण बाट थोरै ओझेल परेका छन
अनी कसैको नजरमा अदृश्य बनेका छन
मेरो आकाश रित्तिएको छैन
थोरै पातलीएको छ
मेरो मौसम उजाडिएको छैन
फेरी अर्को मधुमास लिन गएको छ
मेरो जिन्दगीको दीप निभेको छैन
थोरै मधुरो भएर तेल थप्न गएको छ
अनी मेरो सागर सुकेको छैन
केवल सुस्ताएको मात्रै छ
हो त्यो जूनको ताज नहोला जीवनमा
तर एक अन्जुली विश्वाशका फूलहरु छन आफ्नै
मनभित्र फुलेका
हे आकाश जून अनी ताराहरु हो !!
अब मलाई विश्वाश गर कि म हारेको छैन
अनी कहिल्यै हार्ने पनि छैन आँफैसग सम्झौता छ
प्रत्येक पाइलाका चट्टान फोरेर सुन्दर मुर्ती बनाउनुछ मैले
अनी परेलिका थोपा थोपा पानीले पखालेर
अझ स्वच्छ सुन्दर अनी निस्चल बनाउनुछ जिन्दगीलाई
हो म डुब्दैछु एउटा गहिरो सागरमा
जहाँ जीवनका अनेकौ रङ्हरु मिसिएका छन
अझ गहिराइमा डुब्दैछु
किनकी मलाई मोती टिपेर फर्कनुछ
अनी संसार जितेर फर्कनुछ
त्यसैले मलाई विश्वाश गर म कहिल्यै हारेको छैन
यो निष्ठुरी समय र परिस्थिती नियती सग अनी आफ्नै मुटुसग
हो म कहिल्यै हारेको छैन अनी हार्ने पनि छैन !

डा. सुजाता पन्त
भरतपुर, चितवन

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.