क्रुरताको प्रेमिल धुवाँ (लघुकथा)

कथाकार बीके ‘सेवक’

बीके ‘सेवक’ । प्रेममा यति क्रुरता हुन्छ भन्ने थाहा पाएको भए सायदै प्रेम कसैले गर्थे होला। प्रेम शव्द आफैमा भावानात्मक सद्भाव र माधुर्यताको प्रतीक हो। यस भित्र लोभलालच रहित एक अर्का प्रतिको सम्मान र समर्पण लुकेको हुन्छ। सायद यो नै यस्तो प्रणाली होला जो मानव जातिमा मात्र हैन हरेक प्राणीमा अन्तरनिहित हुन्छ। यसैले त सारा जगतमा पर्यावरणीय विविधता कायम गरी संतुलन कायम गरेको छ। यति बुझेको म मान्छेले प्रेममा यस्तो क्रुरता व्यहोर्नु पर्ला भन्ने कल्पना गर्ने कुरै भएन। क्रुरताको लागि त प्रेम कस्ले गर्छ र ! सायद मेरो कोमल मनले जसलाई प्रेम ठान्यो त्यो प्रेम नै रहेनछ। संसार नै प्रेमील देख्ने मेरो हृदयले प्रेमलाई चिन्नै सकेको रहेनछ। 

एउटा सुदूर दूर्गमको मान्छे काठमाण्डौ खाल्डोमा आएर घर बनाउनु कम कठीनको काम होइन। तथापी विदेशमा बगाएको पसिनाको परिणाम स्वरुप यो घर खडा गर्न सकिएको थियो। गाउँमा फल्नाको छोरोले राजधानी मै घर बनायो रे भन्ने ठूलै हल्ला चलेछ। यो स्वभाविकै थियो किनकि त्यो गाउँबाट निस्केर काठमाण्डौको त के कुरा तल बजारमा पनि कसैले अहिलेसम्म घर हाल्न सकेका छैनन्। यस्तोमा यो खबर त्यो गाउँका लागि त पृथ्वि नारायण शाहले काठमाण्डौ जितेकै जत्तिकै भयो।

यो खबरले बाआमाको उचाई पनि बढाएको थियो। प्रतेक घरका अगेनामा केही समयसम्म त यही चर्चा चलिरहेको थियो। मलाई त्यो घर प्रेमको मंदिर जस्तो लाग्थ्यो। भरखर गरेको रंगरोगनको वास्ना पनि मंदिरमा चढाएको फूलको प्रेमील सुगन्ध जस्तै लाग्थ्यो। त्यो घरले बिदेशमा विताएका ती पीडादायक दिनहरु भुलाइ दिएको थियो। कठीन दिनलाई सहज बनाउन पाएकोमा गौरवान्वित थिए म। परिवार प्रतिको जिम्मेवारी निभाउन पाएकोमा अति खुसी पनि। यस्तोमा बाआमालाई छोराको त्यो घर हेर्ने उत्कण्ठा बड्नु स्वभाविकै हो। म पनि बाआमालाई ल्याएर त्यो घर देखाउन आतुर थिए। तसर्थ रंगरोगन सक्दा वित्तिकै बाआमालाई लिन म आफै गाउँ गए। 

गाउँमा त एक विश्वविजेता पुगे जस्तो भयो। आफ्ना दमालीहरु मात्र हैन छरछिमेकका गन्यमान्य मान्छेहरु पनि मेरा शहरका कुरा खुवै अभिरुचिका साथ सुन्नु हुन्थ्यो। मैले घरको फोटो पनि लिएर गएको थिए। ढुङ्गा माटोको खरको छाना भएका परंपरागत घर मात्र देखेका त्यहाँका मान्छेहरुलाई कंक्रिटको झिलिमिलि घरको फोटोले अचम्मित तुल्याएको थियो। केही दिन यसरी विताए पछि बआमालाई लिएर म काठमाण्डौ तिर लागे।

काठमाण्डौ शहर आफैमा झिलिमिलि। बाआमालाई अस्वाभाविक जस्तो लाग्नु स्वभाविकै थियो। वहाँहरुले शहरमा आखाँ दौडाएको र वहाँहरुको अनुहारमा देखिएको आकृतिले यस्तै लाग्थ्यो। घर पुगेपछि आमाले गाउँबाट ल्याएको फूलपाती अक्षेता झोलाबाट निकालेर ढोका पुज्नु भयो बा घरलाई दाहिने तिरबाट एक फन्को लगाउनु भयो र भित्र पसियो। अझै सानो नातीले बाआमालाई तानी तानी विभिन्न कोठाहरु कौसी र छत देखाइ रहेको हुन्थ्यो। त्यो दृष्य आफैमा कति आनन्दित देखिन्थ्यो व्याख्या गर्ने शव्द भेटिदैन। ती हजुरबा कै ओला समाएर हिड्न सिकेको मेरो छोरो पनि हजुरबा हजुरआमा पाउदा प्रफुल्लित देखिन्थ्यो।

केही दिनको बसाई घुमफिर पछि बआमा घर फर्किने तरखर गर्नुभयो। गाउँघरको माया जस्तो शहरमा कहाँ हुनु! वहाँहरुलाई गाउँकै माटोको सुवासले डोर्यायो। माया त रंगिचङ्गी भौतिक सुविधाको रमझम भन्दा पनि भावानात्मक सुगन्ध हो। आफ्नो पसिनाले अभिसिन्चित माटोबाट निस्कने सुगन्धको सुवास नै बेग्लै हुने। त्यसैले डोर्याए होला बाआमालाई। फर्किने जिद्दी गर्नु भयो त्यसैले फर्किने चाँजोपाँजो मिलाई बसपार्क छोड्न पुगे।

बसपार्कमा बाआमालाई बिदा गरी सिधै घरतिर लागे। किनकिन मलाई आज हानिएर घर पुगौ जस्तो लागिरहेको थियो। त्यसैले कतै नभुली सिधै घर तिर लागे। घर पुग्दा भने अवस्था बेग्लै भईसकेको रहेछ। बाहिरबाटै कागज जले जस्तै गन्ध आइरहेक थियो। हतारहतार भित्र हुत्तिए ढोकै निर एउटा गमलामा केही कागज जलिरहेको देखे, सबै खरानी भईसकेका थिए। छेउमा रहेको जल्दाजल्दैको सानो कागजको टुक्रा उठाएर हेरे मेरा सबै भन्दा प्रेमील क्षणका फोटोहरु रहेछन जुन धुवाँमा विलिन हुदै खरानी भईसकेका थिए। म छाँगोबाट खसे जस्तै भए। अकस्मात यस्तो किन गरिन होला भन्ने लाग्यो। 

हुन त केही समय देखि उनको व्यवहार बदलिदै गएको थियो। यत्रो घर बनाउदा समेत सहयोगी भाव भन्दा असान्दर्भिक कुरा निकालेर कचकच गर्ने गरेको सम्झे। कतिपय बेला प्रेमील भन्दा पनि क्रुरता टप्किरहे जस्तो लाग्थ्यो मलाई। तै पनि मैले त्यसलाई परालको आगो सम्झिरहे। त्यो आगोले यसरी मेरा जीवनका प्रेमील क्षणहरु जलाउला भन्ने कुरा मैले कहिलै कल्पना गरिन। कतिपय बेला त यस्तो कुरा बआमाको अगाडि नगरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो तथापी उनको कुरामा रफ्फू टाल्दै बाआमालाई थामथुम पार्ने प्रयास गर्ने गर्थे मैले। कहिलेकाही छोरालाई गर्ने व्यवहार देखेर मातृत्व किन हराएको होला भन्ने पनि लाग्थ्यो। कुनै बेला राम्रोसंग संझाउनु पर्ला भन्ने मनमा लागिरहेको थियो। त्यसैले पनि बाआमालाई विदा गरेर सिधै घरमा आएको थिए। 

एकछिनसम्म त्यहा रोकिदा पनि भित्र कुनै चालचुल भएको आभाष नपाए पछि झटपट भित्र गए तर उनीलाई कतै पनि देखिन। नावालक छोरो नयाँ भिडियो गेममा मस्त थियो। कतिपय बेला हिंसाजन्य गेम नदेउन भन्दा समेत ठाकठुक पर्थ्यो। दराज खुलै थियो। विस्तरामा केही कपडा असरल्ल फिजारिएका थिए। भुइभरी रित्ता एलबम लथालिङ्ग थिए जसमा मेरा जीवनका महत्वपूर्ण क्षणहरु संग्रहित थिए जो आज खरानी भइसके। दराजको तलपट्टी एउटा पुरुषको फोटो र उसकै नामका केही कागज खसेको भेटे उठाएर हेरे। यति भए पछि के भएको हो भन्ने अनुमान लगाउन मलाई केही गाह्रो भएन। 

बल्ल पो रहस्य थाहा भयो यत्रो घर बनाउदा पनि असान्दर्भिक कुरा झिकेर किन चिडचिडाहट गरेको भन्ने कारण। अझै नयाँ घर हेर्न आएका बाआमा प्रति पनि किन असभ्य व्यवहार देखाएको होला भन्ने लाग्थ्यो। कतिपय कुरा मसंग मात्र गरेको भए हुन्थ्यो भन्ने लाग्थ्यो। कतिपय बेला आफ्नै त्यो सानो बच्चाप्रति गरेको व्यवहार हेर्दा मातृत्व हरण समेत केले गरेको होला भन्ने लाग्थ्यो। मैले संझेको परालको आगो त विश्वास घातको राँको बनिसकेको रहेछ। म फेरि बाहिर गएर धुवाँ निस्किरहेको खरानीलाई टोलाएर हेरे। यस्तो लाग्थ्यो मेरो शरिरका प्रतेक अङ्गहरु जलेर खरानी भईरहेछन। मैले जोगाएका ती प्रेमील स्मरणहरु उडिरहेको धुवाँमा विलिन हुदैछन। 

एक पटक ती कठीन पुराना दिन मेरो मनस्पटलमा नाचे। विदेश हुदा हाम्रो संवन्धलाई समाजमा उदाहरणीय बनाउनु पर्छ केही समय धैर्य गरे है भनेर लेखेको पत्र याद आयो। हुन पनि हामि फरक पृष्ठभूमि र संस्कारबाट जोडिएका थियौ। ज्यान हत्केलामा राखेर यो संवन्ध जोडिएको थियो। त्यसैले कहिलेकाहीको ठाकठुकलाई मैले यही फरक सांस्कारिक पृष्ठभूमिको स्वभाविक उपज ठान्थे। र समयक्रमसंगै हामि पूर्णत अन्तरघुलित हुनेछौ भन्ने लागेको थियो । त्यति मात्र कहाँ हो र दुई परिवार र पुरै समाज अन्तरघुलित हुने अपेक्षा गरेको थिए। त्यो पनि आज आसुका भलसंगै बडारिए, धुवाँसंगै उडेर गए। यस्तो लाग्यो आसु रित्तियो, भरोसा उड्यो, सपना टुट्यो। अनि त शरीर गले जस्तो जीवन ढले जस्तो लाग्दोरहेछ। आखिर आसु रित्तिए पछि, भरोसा उडेपछि, सपना टुटेपछि जीवन कहाँ रहन्छ र ।

बसेर जलेर खरानी भएका फोटोहरुको आकृति नियालिरहेको थिए। यत्तिकैमा छोरो भित्रबाट दौडिदै आयो। सायद भिडियो गेम सकिएछ क्यारे। मेरो काखमा घचक्क बस्यो र खरानिले भरिएको गमला खुट्टाले पल्टाई दियो। खरानिका आकृतिहरु भूई भरि छताछुल्ल भए। गमला फुटेर तीन टुक्रा भयो। मैले त्यो नाबालक छोरोको अबोध अनुहार हेरे। उसका निश्चल आखाँमा भरोसाको गहिरो सागर देखे । साहस भरियो। उसलाई काखमा च्यापेर उठे। आखिर भरोसा त रहेछ जीवनलाई उठाउने, सपना त रहेछ जीवनलाई डोर्याउने।  

कथाकार बीके ‘सेवक’ नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.