निकुञ्जको अर्नाले जन्मायो तीन पाडापाडी

चितवन, २४ भदौ : स्थानान्तरण गरी यहाँ ल्याइएका तीनवटा अर्नाले पाडापाडी जन्माएका छन् । कोशीटप्पु राष्ट्रिय निकुञ्ज र सदर चिडियाखानाबाट २०७३ माघमा ल्याइएका अर्नाले अहिले पाडापाडी पाएका हुन् । यसलाई संरक्षणको क्षेत्रमा अर्थपूर्णरुपमा हेरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी ती अर्ना राखिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार साउन ३१ गतेदेखि शनिबारसम्म तीनवटा अर्नाले पाडापाडी जन्माएका हुन् । अर्नाले एउटा पाडी र दुई वटा पाडा जन्माएका छन् ।

तिनीहरुको चौबीसै घण्टा निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले सुरक्षा र रेखदेख गरिरहेका छन् । पाडापाडीले आफ्नै आमाको दूध खाने भएकाले अन्य अतिरिक्त खाना दिइएको छैन । ती पाडापाडी स्वस्थ रहेको निकुञ्जको पूर्वी सेक्टर हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताउनुभयो ।

ठूला वन्यजन्तुको वंश संरक्षण गर्ने उद्देश्यले स्थानान्तरण गरी ती अर्ना ल्याइएका थिए । कोशीटप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएकामा सदर चिडियाखानाका अर्ना ल्याएलगत्तै मरेका थिए । दुई वटा गत वर्षको बाढीले बगाएर मरेका थिए भने अर्काे एउटा बाघले खाएको थियो । सो ठाउँमा सात पोथी र दुई भाले माउ रहेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकाल अर्ना संरक्षणमा सफलता मिलेको बताउनुहुन्छ । ठूलो सङ्ख्या नभएसम्म बाहिर छोड्न नमिल्ने भएकाले थप अर्ना ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.