खडेरीको चिन्ताले किसान पिरोलिँदै 

गोपाल बराल । महोत्तरी, २५ भदौ : दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका छन् । लामो खडेरीले धान रोपिएको खेत चिरा परेर (धाँजा फाटेर) रोपो पहेँलिदै गएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका हुन् । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत साउनमध्ययता नै पानी परेको छैन ।

“वर्षाकाल (याम) भनिने साउन÷भदौमा दिनभरि प्रचण्ड घाम र रातभरि आकाशमा तारा देखिन्छन्, पानी पर्ने कुनै छाँट देखिँदैन”, जलेश्वर नगरपालिका–५ का किसान रहिमन मण्डलले भन्नुभयो, “यसपालि अब धान बौरिने (पँहेलिएको रोपो हरियो हुने) देखिँदैन ।” जिल्लाको मुख्यबाली धान खेतमा पहेँलिएर सुक्दै गएपछि रहिमनजस्तै सबै किसान अहिले चिन्तित छन् ।

जेठ÷असारको लामो खडेरीले धानको बीउ हुर्काउन नसक्दा रोपाइँको उपयुक्त बेला असारे पन्ध्रताका यहाँका किसानले धान रोप्न पाएनन् । असार अन्तिम सातामा बाढी र डुबानले थिलथिल्यायो । साउन १५ यता फेरि लामो खडेरी परेपछि थोरैतिनो रोपिएको धान पनि खेतमै सुकेपछि यसपालि धान भित्र्याउने आस मरेको महोत्तरी गाउँपालिकाको हरिगोरीगम्मा गाउँका किसान रामगुलाम पासवान बताउनुहुन्छ । जिल्लामा करीब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरको सेरोफेरोमा हिउँदे धानखेती हुँदै आए पनि यसपालि मौसमको प्रतिकूलताले ३५ हजार हेक्टरभित्र मात्र धान रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछिल्लोपटक रोपिएको धान पनि साउन १५ यताको खडेरीको मारमा परेको कार्यालयको जलेश्वर सम्पर्क कार्यालयका कृषि प्राविधिक रामकैलाश साहको भनाइ छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशतमात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ । यसबाहेक सबै जग्गा आकाशे पानीका भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन् । यसपालि त सिञ्चित भनिएका जग्गाको पानीका स्रोतको लामो खडेरीले मुहान सकाएपछि यस्ता खेतमा पनि धाँजा फाटीरहेका बर्दिवास नगरपालिका–३ कालापानीका किसान नरबहादुर पुलामी बताउनुहुन्छ ।

पाका किसान ६५ वर्षीय पुलामीले आफ्नोे धान रोपिएको धाँजा फाटेका खेत देखाउँदै भन्नुभयो, “प्रचण्ड घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो ?” चुरे पर्वत श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, गणन्ता, ओक्सी, बिग्ही र बाँकेलगायतका नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन् ।

पछिल्लोपटकको एक महीनाभन्दा लामो खडेरीले खेतबारी सुकाउने मात्र नभई बस्ती–बस्तीका खानेपानीका स्रोतका मुहान सुकाउँदै लगेको छ । उत्तरी क्षेत्रमा खानेपानीको स्रोत नदीको पानी र इनार तथा मध्य एवं दक्षिणी क्षेत्रमा चापाकल, इनार र केही ठाउँमा आर्टिजिन बोरिङ रहँदै आएका छन् । लामो भदौ १५ यता आफ्नो बस्तीका १५ भन्दा बढी चापाकल सुकेका भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठले बताउनुभयो ।

जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले सुक्दै गएपछि यसपालि अन्नको सङ्कट बढ्ने आम किसानको चिन्ता छ । यसैबीच कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय जलेश्वरका कृषि विज्ञले भने अब अहिलेदेखि नै कम पानीमा गर्न सकिने बाली लगाउने तयारी गर्नपर्ने सुझाएका छन् । हिउँदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी र अन्य तरकारी बाली भदौभित्रै लगाउन सके जाडो मौसम लागेपछि पानीबिना बाली डढ्ने स्थिति नरहने विज्ञको सुझाव छ ।

जिल्लाका १५ स्थानीय तहले कृषिलक्षित विभिन्न घोषणा गरे पनि सिँचाइको समुचित प्रबन्ध हुन नसक्दासम्म ती प्रभावकारी नदेखिने भएको छ । स्थानीय तहले फलपूmलका बिरुवा बाँड्ने, कहीँकहीँ नमूना बीउबिजन दिने र पशुपालक किसानलाई घाँसका बीउ तथा बिरुवा दिइए पनि सिँचाईको अभावले समस्या हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.