कृषिको विकास र नेपाल

डा. दिलनाथ दंगाल

डा. दिलनाथ दंगाल । काठमाडौं, ३० भदौ : कुनै पनि देशको कृषिको उत्पादन र विकासकालागी उक्त देशको माटो, जलस्रोत, जनशक्ति, खेति गर्ने तरिका, मल र विउको उपलब्धता, उत्पादित वस्तुको बजार, यातायात आदी उपयुक्त हुनु पर्छ । यी कुराहरु हेर्दा कृषिको उत्पादन र विकास गर्नकालागी हाम्रो देश उपयुक्त देखिन्छ । नेपालको कृषिको अनौठो विशेषता छ त्यो के हो भने विश्वका धेरै भुभागमा हुने फलफुल, तरकारी र अन्य वाली यहाँ उत्पादन हुन्छन् । यसो हुनुको मुख्य कारण भनेको हाम्रो भौगोलिक र वातावरणीय विविधता नै हो । हामी कहाँ खाद्यान्न बाली, नगदे बाली, दलहनबाली, तरकारी तथा फलफुलबाली, औद्योगिकबाली, र मसलाबाली सबैखाले बालीहरु हुने गर्छन ।

कृषिको उत्पादनमा यस्तो विविधता विश्वमा कहि पनि पाँइदैन । हाम्रो कृषि प्रणाली श्रमप्रधान छ । यसकालागी आवश्यक जनशक्ति हामी कहाँ उपलब्ध छ । यसलाई सहि ढंगबाट सदुपयोग गर्न सकेमा कृषि विकासमा सहजता आउछ र रोजगारीमा बृद्धि गर्न सकिन्छ । हाम्रा आमा, दिदी, बहिनीहरुमा विउ र कृषि उत्पादन भण्डारण गर्ने परम्परागत ज्ञान र सीप छ । यसलाई तालिम मार्फत आधुनीक ज्ञान र सीप दिने हो भने महिला सशक्तीकरण वृद्धि गर्न सकिन्छ । किसानलाई दिईने कृषि शिक्षा र विभिन्न प्रकारका तालिमहरुले कृषिको विकासमा सकारात्मक योगदान पु–याउँने हुनाले यसमा जोड दिनु आजको पहिलो आवश्यकत भएको छ ।

झापाको बिर्तामोड नगरपालिका २ चारपानेका किसान हरिभक्त उप्रेतीले एक विगाह १० कठठा क्षेत्रफलमा व्यवसायिक रुपमा लगाएको कागती खेती । तस्बिरः सुरेन्द्र भण्डारी

आर्थिक वर्ष २०७८/०७९ मा कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा २५.८ प्रतिशत योगदान रहेको छ । कोभिडले कृषि क्षेत्रलाई पर्यटन र होटल व्यावसायमा जस्तो खासै ठूलो असर पारेको छैन् । कृषिसँगै हामी कहाँ उपलब्ध प्राकृतिक स्रोतको सहि सदुपयोग गरेमा हामी समृद हुन सक्छौ । तर, यसलाई बुझेनौ भने हामीसँग भएको स्रोतकै कारणले हामी सकिन पनि सक्छौ । विदेशी शक्तिले हाम्रो प्राकृतिक स्रोतमा आँखा गाडेको अवस्थामा चाँडैनै यसको सदुपयोग तिर लाग्नु नै हाम्रो हितमा रहन्छ वा यसको सहुपयोग गरेरमात्र हामी सम्पन्न र स्वतन्त्र बन्न सक्छौ । कृषि प्रधान भनिने हाम्रो देशमा आर्थिक सर्वेक्षणका अनुसार २०७७/७८ फागुन सम्ममा कृषिजन्य वस्तुको आयात २ खर्व १२ अर्व ८१ करोड रहेकामा हाल बढेर सवा तीन खर्ब पुगेको छ । साथै चालु आर्थिक वर्षमा नै कृषि तथा पशुजन्य वस्तुको उत्पादन ४६ अर्व ३० करोडको निर्यात पनि भएको तथ्यांक छ ।

इलामको पुवामझुवामा रहेको चिया बगानमा हरियो पत्ती टिप्दै महिलाहरू । तस्वीर: गोविन्द लामिछाने, इलाम

कुल ग्राहस्थ उत्पादनको एक चौथाई योगदान दिने हाम्रो कृषिमा प्रविधी भित्रिन नसकेकोले कारणले हामी निर्यातमुखी हुन सकेनौ खाली निर्वाहमुखी मात्र भयौं । कृषिमा बजेट पनि घटाएर आधा बनाइएको छ । यसले पनि कृषि विकासमा नकारात्मक असर परेको अवस्था छ । विश्वका अविकसित र कृषिमा लागेका देशहरुलाई विकसित देशहरुले लामो समय सम्म कृषिमा सहयोग गरे तर धेरै समय सम्म उन्नती गर्न नसकेका हाम्रा जस्ता देशहरुलाई जति गरे पनि नहुने रहेछ भनेर सहयोग गर्न छोडी दिए यसले पनि पछिल्लो अवस्थामा हामीलाई समस्या पर्न गयो । नेपालमा ६ हजार नदीनाला र दर्जनौं तालतलैयाहरु हुँदाहुदै पनि सरकारी तथ्यांक अनुसार हाल नेपालको २१ प्रतिशत जमिनमा मात्र वर्ष भरी नै सिंचाइ हुन्छ । यस्तो सिंचाइको समस्याले कृषिलाई माथी उठाउन नै सकिएन । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरु समयमा सम्पन्न गर्न सकियो भने धेरै जमिनमा सघन खेती गर्न सकिएला । हामीकहाँ ट्युवेल, नहर, कुलोबाट हुने सिंचाइ पनि कमजोर अवस्थामा छ । ५ वर्षमा तराइमा सिंचाइ पुर्याउछौ भनेर भनेको कति वर्ष भयो तर कहिल्यै पुगेन । कृषि सिंचाइको मर्मत र नदीकटानको बाँध बधाइमा भ्रष्टाचार सबै भन्दा मौलाएको छ । एक पटक नदीमा बाँध बाँध्यो बाढीले त्यसलाई बगाइदिन्छ अनी फेरी बाँध्नु पयौ यसले खर्च बढ्न जान्छ जसले गर्दा कृषि उत्पादनमा नकारात्मक असर पारेको छ ।

हिमाल पारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका १ स्थित एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ । करिव ४५० रोपनी क्षेत्रफलमा ईटालियन जातको ३ प्रकारको स्याउको बोट रहेको छ । एउटा बोटमा करिव १५ देखि २५ किल्लोसम्म फल्ने र प्रतिकिल्लो एक सय २० देखि दूई सय सम्ममा बिक्री गर्ने गरिन्छ । तस्वीर: रत्न श्रेष्ठ

विउ विजन उन्नत जातको नभएका र पुरानो जातको विउको उत्पादन क्षमता कम भएकोले पनि समस्या आएको छ । रोपाँइको समयमा १५÷२० प्रतिशतमा नयाँ विउको प्रयोग हुने गरेको र बाँकी रैथाने जातको विउले स्थान ओगटेकोले उत्पादन कम भएको अवस्था छ । कृषि र कोल्ड स्टोरेजमा दिने गरेको अनुदानको बढी दुरुपयोग भएको छ । कुनै पनि सरकारले अनुदान कटाउने आट नै गर्दैन । प्राय यो अनुदान काठमाडौं वरपरका र टाठाबाठाहरुले नै बढी प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा प्रांगारिक मल उत्पादन गर्ने सम्भावनाहरु हूदाहुँदै पनि कृषिकालागी मल उद्योग नभएको र बाली लगाउने समयमा मलमा बढी राजनिती हुने गरेको तथा समयमा मल नआउने कारणले सधै वाली लगाउने समयमा मलको हाहाकार हुन्छ । यो पनि कृषि उत्पादनमा वाधक भएको छ । कृषिमा अनुसन्धान पनि एउटा कृषि प्रधान देशमा चाहिने जती भएको छैन । कृषिमा काम गर्ने विज्ञ र कृषिका कर्मचारीको कृषिमा धैरता र निरन्तरता पनि देखिदैन । एउटै विज्ञले २० औं वर्ष कृषिमा काम गरेमात्र यो क्षेत्रमा परिणाम हासिल गर्न सकिन्छ तर हामीले नेपालमा बसेर कामै गर्न छोड्यौं ।

भोजपुरको षडानन्द नगरपालिका १३ वोयामा अन्य बालीलाई हटाएर घर परिपरि लगाएको अलैँची । पछिल्लो यहाँका कृषकहरु अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन । तस्वीर: युवराज विष्ट, भोजपुर

हामीकहाँ इलाममा चिया, अलैंची र अमरिसो, सिन्धुलीमा जुनार, गुल्मीमा कफी, पाल्पामा तेजपत्ता, सल्यानमा अदुवा, जुम्लामा स्याउ आदी विशेष उत्पादन हुने गर्छन भने अलैंची, अदुवा र मुुुसुरो जस्ता वस्तुहरु उत्पादनमा हामी विश्वमै अगाडी छौ । कुनै निश्चित् भुभागमा निश्चित बालीहरुमात्र उत्पादन हुन्छन् । तसर्थ कृषिको विकाश गर्ने हो भने यस्ता क्षेत्रहरुमा क्षेत्रगत सुक्ष्म अध्ययन हुनु पर्छ र जुन क्षेत्रमा जे बाली उत्पादन हुने सम्भावना छ ती क्षेत्रहरुमा तीनैबालीहरुको अध्ययन अनुसन्धान गरी उत्पादनलाई अगाडी बडाउनु पर्छ अर्थात् निश्चित् क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गरेर अगाडी बढ्नु पर्छ । नेपालमा बाँस खेती, कानुन बनेमा गाँजा खेती, फलफुल खेती,जडीबुटी खेती, यार्सा, एभोकाडो, उखु खेती हुने पनि प्रचुर सम्भावना छ । तसर्थ कृषिमा आधुनिकिकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्छ ।

पोखरा महानगरपालिका २१ फेदीपाटनस्थित खर्काडाँडाका कृषक प्रकाश पौडेलको सुन्तला बगैंचा । यस बर्ष सुन्तला बोटबाटै ११ लाख रुपैयामा बिक्री गरेको पौडेल बताउँछन । तस्वीर: हरि बास्तोला

कोभिडको समयमा १३ प्रतिशत जनसंख्या कृषि गतिविधिमा थपिएको छ । हाम्रो केही मात्रामा बाँझो जमिन उपयोग भएर कृषि उत्पादन बढेको सन्दर्भमा कृषिमा बैदेशिक लगानी आउनु पर्छ यो राम्रो कुरा हो । यसलाई व्यवस्थित गर्ने हो भने हाम्रो रोजगारी र उत्पादनमा कुनै पनि नकारात्मक असर पर्दैन । हरेक क्षेत्रमा परिवर्तन ल्याउनकालागी त्यो क्षेत्रमा आम मानिसको धारणामा परिवर्तन आउनु पर्छ । कृषिमा पनि परिवर्तन आउनकालागी उक्त पेशा प्रतिको मानिसको आम धारणामा परिवर्तन हुनु पर्छ । आजभोली विस्तारै यसप्रतिको धारणामा सकारात्मक परिवर्तन हुँदै आएको छ । शिक्षित मानिसहरुले पनि कृषि पेशा अगाल्न थालेका छन् । यसले कृषिलाई आधुनीकिकरण तर्फ डोहोर्याउनुका साथै उन्नत खेतीतर्फ शिक्षित समुह अग्रसर हुन थालेकाले कृषिप्रतिको आम सामाजिक धारणामा बिस्तारै सकारात्मक परवर्तन हुदै गएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीका दुग्ध उत्पादनकले व्यावसायिक रुपमा पालेका जर्सीजातका गाई । तस्वीर: राजेन्द्रप्रसाद पनेरु

हामीले कृषि क्षेत्रमा कुनै निर्णय गर्दा साना किसानको जिविकोपार्जनमा नकारात्मक असर पर्नु हुदैन । अर्थात दुई ओटा गाई पालेर जिवन धान्ने किसानको जिवनमा वा करेसा बारीमा साग रोपेर एक डोको साग बेचेर जिविकोपार्जन गर्ने साना किसानको जिवनमा नकारात्मक असर पर्नु हुदैन । दुध, अन्डा माशुमा आत्म निर्भर भइरहेको अवस्थामा त्यसमा रास आउनु हुदैन् । १९८० को दशकमा जंगल फडानी भयो र कृषिमा उत्पादन बढेको थियो, १९९० पछि प्रजातन्त्र आयो धेरै उद्योगहरु साना तथा मझौला उद्योग खुले त्यसपछि गैर कृषि क्षेत्रको उत्पादन बढेको देखिन्छ । ६० प्रतिशत भन्दा बढी जनता कृषिमा आश्रित रहेको हाम्रो देशमा एक प्रतिशत युवाले पनि यो क्षेत्रमा सपना देखेको अवस्था भने छैन । तर, हालको अवस्थामा कृषि क्षेत्रको विकास गर्न सके समग्र अर्थतन्त्रको विकास हुन्छ ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा अध्यक्ष विरेन्द्र ढकालको उन्नत जातको बाख्रापालन । तस्वीर: केदार मगर, खोटाङ

तसर्थ संविधानमा उल्लेख गरिएको भुमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने, अनुपस्थित भूस्वामित्वलाई निरूत्साहित गर्ने, जग्गाको चकलाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र किसानको हकहित संरक्षण र संवद्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भू–उपयोग नीतिको अवलम्वन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औधोगिकीकरणमा विविधता र आधुनिकीकरण गर्न भन्ने व्यवस्थालाई अक्षरस पालन गर्न सके ती कृषिमा आश्रित जनसङ्ख्याको उथ्थान हुने थियो । त्यति मात्र होईन यसो गर्न सके कृषि क्षेत्रमा उद्योगको विकास पनि हुने थियो । अव हामीले कृषिलाई उद्योगसँग जोड्न पनि ढिला भईसकेको छ । अब यस तर्फपनि ध्यान दिनु पर्छ ।

पर्साको पोखरिया नगरपालिकाको वैरियामा धान गोडदै किसान । तस्बिरः विजयकुमार महतो

(दंगाल त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन्)

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.