पर्यटकीय गन्तव्य बन्दै ‘बाउन्नघोला सिमसार क्षेत्र’

मोहन पौडेल । परासी, २१ कात्तिक : पश्चिम नवलपरासीमा रहेको बाउन्नघोला सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।

पूर्वपश्चिम राजमार्गको भूताहाबाट करीब दुई किलोमिटर उत्तरतर्फ रहेको यो सिमसार क्षेत्रलाई बर्दघाट नगरपालिकाले संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको हो ।

जैविक विविधताले महत्वपूर्ण यस सिमसार क्षेत्रमा पर्यापर्यटनको विकास गरी सिँचाइ सुविधालगायत बहुउपयोगी क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ अहिले यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले राससलाई जानकारी दिनुभयो ।

बर्दघाट नगरपालिका–१० स्थित संसारकोट सामुदायिक वन क्षेत्रभित्रको करीब २० हेक्टर क्षेत्रफलमा फैलिएको यो कृत्रिम सिमसार मनोरम, हरियाली वातावरणमा अवस्थित छ । नगरपालिकाले विगत दुई वर्षदेखि यहाँको सिमसार प्रवद्र्धन गर्दै आएको जनाएको छ । नगरपालिकाले यस क्षेत्रलाई गौरवको योजनामा समावेश गरी ठूलो लगानीमा विकास गर्न पहल थालेको नगरप्रमुख बस्यालले बताउनुभयो । विगतदेखि नै यहाँ सिमसार बनाउन पहल गरिए पनि औपचारिकरुपमा जनप्रतिनिधि आएपछि सार्थकता पाएको हो ।

उहाँले भन्नुभयो, “पर्यावरणको दृष्टिले निकै महत्वपूर्ण यस क्षेत्रलाई बहुउपयोग हुने गरी हामीले अहिले डिपिआर निर्माण गरिरहेका छौँ, यो वर्ष पनि यहाँ संरचना निर्माणको काम हुन्छ, यहाँ पर्यटकीय क्षेत्र पनि हुने, सिँचाइका लागि सहयोग पुग्ने, पारिस्थितिक प्रणालीमा सुधार हुनुका साथै वातावरणीय सन्तुलनमा टेवा पुग्छ ।” यस सिमसार क्षेत्रलाई नगरपालिकाले प्रवद्र्धन गरी विकास गर्न थालेपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । विगतमा यहाँ घनाजङ्गलको बीचमा ५२ वटा घोला रहेकाले यस सिमसारको नाम बाउन्नघोला सिमसार क्षेत्र रहन गएको बर्दघाट–१० का वडाध्यक्ष राजु मिश्रले बताउनुभयो ।

“स्थानीयवासीले विसं २०६२÷६३ देखि नै बाउन्नघोला सिमसार संरक्षण मञ्च स्थापना गरी यस क्षेत्रको संरक्षणमा पहल गर्दै आए पनि सफल हुनसकेको थिएन, अहिले नगरपालिकाले विगत दुई वर्षदेखि सिमसार प्रवद्र्धनको पहल थालेपछि यहाँ पानी जम्मा हुन थालेको हो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नगरपालिकाले यहाँ दुई चरणमा गरी सरसफाइ तथा बाँध निर्माण गरेको छ । आव २०७४÷७५ मा रु १४ लाख, आव २०७५÷७६ मा नगर अनुदानबाट रु चार लाख ६० हजार र जनसहभागितामा रु एक लाख २० हजार गरी रु पाँच लाख ८० हजार तथा सोही वर्ष राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण समितिबाट रु दुई लाख २७ हजार ५०० सिमसार प्रवद्र्धनका लागि लगानी गरिएको नगरपालिकाका सव–इञ्जिनीयर किशोरकुमार चौधरीले जानकारी दिनुभयो ।

नगरपालिकाले गतवर्ष बाँध निर्माण गरेपछि १०० मिटर चौडाइ र ३०० मिटर लम्बाइमा करीब दुई मिटर पानी जम्मा भएको सिमसार संरक्षण मञ्चका अध्यक्ष कुलदेव श्रेष्ठले बताउनुभयो । “पानी जमेको भन्दा थप एक मिटर माथिसम्म आरसीसी ढलान गर्ने र त्यहीँबाट सिँचाइको पानी नियन्त्रण गर्ने गरी संरचना पनि निर्माण गर्ने योजना छ, डिपिआर निर्माणको काम भइरहेकाले हामीले पर्खिरहेका छौँ, अहिले हामीले यहाँको प्रचारप्रसार र संरक्षणलाई जोड दिइरहेका छौँ”, श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाको सहयोगमा यस सिमसारमा रु एक लाख बराबरको माछा हाल्ने तयारी पनि भइरहेको उहाँले बताउनुभयो । “नजिकै रहेको भूताहाखोलालाई डाइभर्सन गरी सिमसारबाट ओभरफ्लो गराई सिँचाइको व्यवस्था गर्ने योजना पनि छ, यहाँबाट बर्दघाट–८ र ९ का धेरै कृषक लाभान्वित हुनेछन्, यसबाट मूल सुक्ने समस्या पनि अन्त्य हुनेछ, पर्यटक आकर्षण गर्ने संरचना निर्माण हुन्छन्”, उहाँले भन्नुभयो ।

पर्यटक आकर्षणका लागि पोखरी बनाएर बीचमा भ्यूटावर राख्ने, पैदलमार्ग बनाउने, वनभोजस्थललाई विस्तार गर्नेलगायतका योजना अघि सारिएको छ । जङ्गल क्षेत्रमा रहेकाले यहाँको मनोरम हरियाली वातावरणमा रमाउन र वरपरको दृश्यावलोकनका लागि पर्यटक आकर्षित हुने वडाध्यक्ष मिश्रले बताउनुभयो । सिमसार क्षेत्रको रुपमा विकास हुन थालेपछि यहाँ विस्तारै चराचुरुङ्गी तथा जङ्गली जनावर पनि देखिन थालेका छन् । नगरपालिकाले चासोका साथ यहाँको प्रवद्र्धन र विकास गर्न पहल थालेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् ।

भूमिगत जलको स्रोत, पर्यावरण संरक्षण, जलवायु परिवर्तन, भू–क्षय नियन्त्रणमा पनि टेवा पुग्ने भएकाले यो क्षेत्र उत्कृष्ट गन्तव्यस्थल हुने स्थानीयवासीको अपेक्षा छ । यस क्षेत्रको दिगो पर्यटन विकास र सिमसार संरक्षण गर्न सके आकर्षक पर्यटकीय गन्तव्य मात्र नभई यहाँका नागरिकको आर्थिक जीवनस्तरमा पनि ठूलो फड्को मार्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.