विदेशबाट रित्तो हात : तरकारी खेतीबाट फलिफाप

ध्रुवसागर शर्मा । गलेश्वर, २५ जेठ : जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेले आम्दानी गर्न थाल्नुभयो ।

“शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, घिमिरेले भन्नुभयो, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।” विसं २०६६ सालदेखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले सात रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु छ लाखभन्दा बढी कमाइ हुने गरेको बताउनुभयो ।

“यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ”, घिमिरेले भन्नुभयो, “उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।”

अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

तरकारी बिक्री गरेर सरदर मासिक रु ५० हजार कमाइ हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैँभरिका लागि बन्द गरेका छन् । घिमिरे भन्नुहुन्छ, “आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु, त्यसैले उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने मेरो सोचाइ छ ।”

घिमिरेले अहिलेसम्म कुनै पनि सङ्घसंस्था वा सरकारी निकायबाट तरकारीखेतीसम्बन्धी तालीम नलिएको बताउनुभयो । “सिकाइ अनुभव नै मेरा लागि तालीम र अवसर दुवै बन्यो”, घिमिरेले भन्नुभयो । राज्यले किसानलाई दिने अनुदानसमेत पाउनुभएको छैन उहाँले ।

घिमिरेले अर्गानिक तरकारी खेती गर्नुहुन्छ । अर्गानिक तरकारीबाटै घिमिरले वर्षमा रु छ लाखभन्दा बढी कमाउनुहुन्छ । वर्षमा चारपटक तरकारी उत्पादन गर्दै आएका घिमिरेको छ जनाको परिवारका लागि यही नै आम्दानीको भरपर्दो स्रोत बनेको छ । घिमिरे बिहान उठेदेखि साँझसम्म तरकारीखेतीमै व्यस्त रहनुहुन्छ । तरकारीमा विषादीको प्रयोग नगर्ने घिमिरे भन्नुहुन्छ, “औषधिमूलक झारपात तथा पशुको पिसाबबाट रोगकीरा हटाउने, मलजल गर्ने गरेको छु ।”

दुई वर्ष अघि आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । पहिला २÷४ सय आवश्यक पर्दा अरुसँग हात थाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तिय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोड्नुभएको छ ।

राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने घिमिरेको सोच छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारीखेती गर्दै आउनुभएको छ । घिमिरेकै सिको गरेर धेरैले तरकारीखेती गर्न थालेका छन् । अहिले बन्चरेढुङ्गाका घर–घरमा करेसाबारी छन् । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागिसमेत कुनै समस्या छैन । व्यापारी खेतीबारीमै पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.