छमछमीको अन्तिम प्रतिस्पर्धा शनिबार

काठमाडौँ, ८ कात्तिक : नेपाल टेलिभिजनको मौलिक ‘मेगा डान्स रियालिटी शो’ रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ । नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटिभी कोहलपुरले शनिबार राति प्रत्यक्ष प्रसारण गर्नेछन् ।

२०७५ साल कात्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका सात वटै प्रदेशका ११ स्थानमा प्रतिस्पर्धीको छनोट गरिएको थियो । काठमाडौँ, विर्तामोड, इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका छनोट शत्रमा सयौँको सहभागिता थियो ।

छनोटका विभिन्न चरण पार गर्दै आएका प्रतियोगीमध्येबाट हाल पाँचजना प्रतियोगी अन्तिम प्रतिष्पर्धामा हुनुहुन्छ । तिनै प्रतियोगीबाट एसएमएस भोटिङको आधारमा एक जना विजेता छानिनुहुनेछ भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनुहुनेछ । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाका दीलमाया लिम्बू, महोत्तरीका नेशन सुस्लिङ मगर, मकवानपुरका सन्ध्या आचार्य र पोखराका सपना धाही थापा हुनुहुन्छ ।

प्रतियोगिताको विजेताले अल्टो के १० कार प्राप्त गर्नुहुनेछ भने फस्ट रनरअपले रु पाँच लाख बराबरको र सेकेण्ड रनरअपले रु तीन लाख बराबरको उपहार प्राप्त गर्नुहुनेछ । यसैगरीे उत्कृष्ट सात जनाले रु एक एक लाख बराबरको उपहार प्राप्त गर्नुहुनेछ । यस प्रतियोगिताका निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुइँटेल रहनुभएको छ ।

नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले विसं २०६६ लमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुआत भएको हो । कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत विशिष्ट व्यक्तित्व तथा कलाकारको समेत सहभागिता रहने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभएको छ ।

छमछमी नाम दिएर शुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल विजेता हुनुभयो भने सिजन–२ मा झापाकै साजन तामाङ विजयी हुनुभयो । यसैगरी तेस्रो सिजनको विजेता हेटौँडाका सरोज प्रजा हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.