सिपाहीलाई राम्रो काम गर्न अभिभावकको सुझाव 

गोपालप्रसाद बराल । बर्दिवास, २४ साउन : “बौवा जग हङ्सवके काज नई करिहा, एहन काज करा…जे लोकमें नाम होई” (बाबु, हाँसोमा उडाइने पात्र कहिल्यै नबन्नु, यस्तो काम गर, जसले लोकमा नाउँ होस्) । नेपाली सेनामा सेवा प्रवेश गरेका छोरा इन्द्रजीत यादवलाई सुशोभन समारोहमा आमा तेतरीदेवीले आज मालाखादालगाइदिएर सगुनको मिठाइ ख्वाउँदै भन्नुभयो । छोरा इन्द्रजीतलाई सगुनको मिठाइ ख्वाउँदै यतिभन्दा तेतरीदेवीका आँखाका डिलबाट हर्षका आँसु टपकी रहेका थिए ।

नौ महीनाको कठोर तालीमपछि आज विधिवत सिपाही बन्नुभएका छोरा इन्द्रजीतको महोत्तरी जिल्लाको बर्दिवास–७ किसाननगरस्थित मध्यपूर्वी प्रितनामा आयोजित सुशोभन समारोहमा भाग लिन आमा तेतरीदेवी र बुबा सर्युग साह महोत्तरीकै मटिहानी नगरपालिकाको आवर बस्तीबाट ५० किलोमीटर दुरी तय गर्दै आइपुग्नु भएको हो ।

“हजुर आरो कोनो चिन्ता नईँ, सेनामें काम करवाला अपन गाँममें कोनो नईं अईँ, यि निक काज करत तबन लोग बुझत जे सेना कि हईँ”, (हजुर, अरु चिन्ता केही छैन, हाम्रो गाउँतिर सेनामा काम गर्ने अरु छैनन् । यिनले राम्रो काम गरे न अरुले (गाउँ ओरपरका) सेना यस्तो भनेर बुझ्छन्) आँखाका डिलबाट बगेको आँसु सारीको सप्कोले पुछ्दै तेतरीले सञ्चारकर्मीसँग भन्नुभयो, “जीनगीमें एकर बहादुरीके वात सुनवाक् वहुत ललसा अई”(जीन्दगीमा यसको बहादुरीको कुरा सुन्ने आस पालेकी छु) ।

सुशोभन समारोहमा आज इन्द्रजीतसँगै ९२ जना युवाले नेपाली सेनामा विधिवत सेवा शुरु गरेका छन् । नौ महीने तालीम सफलताका साथ सम्पन्न गरेका ९२ जनालाई मध्यपूर्व पृतनापति नरेश भट्टले बधाइ र शुभकामना दिँदै सेनाको सिपाही पदमा प्रवेश गराउनु भएको हो ।

सुशोभन समारोहमा सिपाही भएर सेवा शुरु गर्न लागेका सैनिक जवानका आफन्तले टिका र मालाखादालगाइ दिएर नेपाली सेनामा उदाहरणीय काम गर्न हौस्याएका थिए ।

“बौवा राजकुमार तोरा त निक मेहनत कर पर्तौ”, (बाबु राजकुमार तिमीले त राम्रो मेहनत गर्नैपर्छ) । आजै सिपाही पदमा नियुक्त भएका महोत्तरीकै पिपरा गाउँपालिका–५ सहोड्वाका राजकुमार यादवलाइ हौस्याउँदै बुबा रामकिशुन यादवले भन्नुभयो,“तोहर काजप्रतिके लगाव आ इमानदारी घरपरिवार आ पुरे गामके इज्जत बढत ।” (तिम्रो कामप्रतिको निष्ठा र इमानदारीले घरपरिवार र पूरै गाउँको इज्जत बढ्छ ।

मध्यपूर्व प्रितना (प्रदेश–२) ले यसपाली नौ महीने तालीम गराएर पहिलो ब्याचमा ९२ जनालाई सिपाही बनाएको हो । यसपाली सेवा प्रवेश गर्नेमा पाहाड र तराईका गरी १९ जना दलित र १७ जना मधेशी छन् । सुशोभन समारोह (पासआउट) सम्पन्न भएसँगै सबैलाई दरबन्दी तोकेर काममा जान निर्देश दिइएको मध्यपूर्वी प्रितना कार्यालय धारापानीका सह सेनानि दीपेन्द्र विष्टले जानकारी दिनुभयो ।

सिपाही भएर नेपाली सेनामा सेवा प्रवेश गरेका मधेशी युवाले आफ्नो उत्कृष्ट काम देखाउन सैनिक सेवामा प्रवेश गरेको बताएका छन् । आज सिपाही भएर सेवा प्रवेश थर्नुभएका महोत्तरीकै पिपरा–१ इकरहीयाका २० वर्षीय सन्तोषकुमार झाले भन्नुभयो, “इमान्दारी, निष्ठा र कर्तव्यपरायणतामा विश्वभरि नेपाली सेना कहलिएको छ, हाम्रो प्रवेश त्यो परिचय अझै उज्यालो बनाउन हो ।”

सुशोभन समारोहमा सेवा प्रवेश गरेका नयाँ सिपाहीले सामूहिक कवाज प्रदर्शन र सांस्कृतिक कार्यक्रम देखाएका थिए । समारोहमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीयतहका प्रतिनिधि र सयौं सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.