ग्रीनलाइफ हाइड्रोपावरले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, १९ कात्तिक : धितोपत्र बजारमा अधिकांश जलविद्युत् कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपारले साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर बिक्री गर्न नदिने नियम बनाएको छ । रेटिङ कम्पनीले गर्ने विश्लेषणअनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिकरुपमा कमजोर मानिन्छ । केयर नेपालले गरेको रेटिङमा सो कम्पनीको शेयरले ‘केयर नेपाल आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । त्यो भनेको औसत अवस्था भन्ने हो ।

ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ । कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार कम्पनीले कूल रु ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्री गर्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी छ ।

कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत रु छ अर्ब ८८ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.