दुई विधेयक पारित

खस्यौली, २१ साउन : प्रदेश नं ५ को प्रदेशसभाले आज दुई विधेयक पारित गरेको छ । सडक, सवारी यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।

यस अघि सडक, सवारी यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गुर्नभएको थियो । अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै मुख्यमन्त्री शङ्कर पोेखरेलले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्दै प्रदेशको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी र समावेशी बनाउन विधेयक आवश्यक भएको बताउनुभयो ।

यस्तै कानूनमन्त्री केसीले प्रदेश नं ५ सञ्चार तथा सूचना प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेशसभामा मन्त्रालयगत जानकारी दिनुभएको थियो ।

त्यसैगरी अर्थ उद्योग तथा पर्यटन विकास समितिका सभापति दधिराम न्यौपानेले प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेकोे प्रतिवेदनसहितको विधेयक बैठकमा पेश गर्नुभयो । यसअघि विशेष समयमा प्रदेशसभाका सदस्यले कृषिको विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभाका सदस्य इन्द्रप्रसाद खरेलले सहुलियत दरमा कृषकले मल नपाएको उल्लेख गर्दै मल वितरणका विषयमा सरकार चनाखो नभएको गुनासो गर्नुभयो । अर्का सदस्य दिनेश पन्थीले कृषिमा निराशाको अवस्था अन्त्य हुन नसकेको भन्दै अर्घाखाँचीलगायतका जिल्लामा कृषकलाई बाँदरले सताएको जानकारी गराउनुभयो । प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले प्रदेशसमा आपूर्ति व्यवस्था नियमन नभएकाले मल अभाव बढेको बताउनुभयो ।

अर्का सदस्य भोजप्रसाद श्रेष्ठले तिलोत्तमा नगरपालिकामा बुद्धमूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न ढिलासुस्ती भएकामा चिन्ता व्यक्त गर्नुभयो । प्रदेशसभा शुरु भएको केहीबेरमा नै विद्युत् आपूर्ति नियमित नभएपछि प्रदेशसभाकोे बैठक प्रभावित भएको थियो । वातावरणमन्त्री गिरीले प्रदेशसभालाई सम्बोधन गरिरहेको बेला सभामुख घर्तीले विद्युत् आपूर्तिमा समस्या भएको भन्दै करीब ५० मिनेट बैठक स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.