दिगो विकासका लक्ष्यहरुको आधार तथ्याङ्क प्रतिवेदन तयार

रुपन्देही, १० साउन : प्रदेश नं ५ ले प्रदेशको दिगो विकासका लक्ष्यहरुको आधार तथ्याङ्क प्रतिवेदन तयार गरेको छ । सन् २०३० भित्र गरीबीको अन्त्य, भोकमरीको अन्त्य, सबैका लागि स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइ, आधुनिक ऊर्जा र न्यायमा पहुँचको सुनिश्चिततालगायत १७ लक्ष्यसहित प्रदेश सरकारले दिगो विकास लक्ष्यको आधार तथ्याङ्क प्रतिवेदन तयार गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको सहयोगमा प्रदेश योजना आयोगले प्रकाशित गरेको उक्त प्रतिवेदन आज मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले संयुक्त रुपमा विमोचन गर्नुभयो । तथ्याङ्क प्रतिवेदन विमोचन गर्दै मुख्यमन्त्री पोखरेलले दिगो विकास लक्ष्यलाई सफलतापूर्वक कार्यान्वयन गर्न सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।

“प्रदेशले तयार गरेको आवधिक योजनालाई आधार बनाएर दिगो विकासको लक्ष्य बनाइएको हो । यसको सफल कार्यान्वयनका लागि सबैको साथ चाहिन्छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले सङ्घीयताका मुख्य तीन आयाम राजनीतिक, प्रशासनिक र वित्तीय रहेको भन्दै यी तीनवटै आयामलाई कार्यान्वयन नगर्दासम्म दिगो विकासको लक्ष्य पूरा गर्न नसकिने बताउनुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलेन्डले दिगो विकास लक्ष्य प्राप्तिका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय संस्थाबीच समन्वय हुनुपर्ने धारणा राख्नुभयो । संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि आयसानी मेडागङ्गोडाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव कृष्ण नेपाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा गौतम, आयोगका सदस्यद्वय विष्णुप्रसाद गौतम र पुष्पा भुसालले सामाजिक न्यायमा आधारित भई अवसरको सिर्जना, उत्पादन वृद्धि, रोजगारी प्रवद्र्धन र गरीबी निवारण गर्नु नै मुख्य लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.