अनेरास्ववियूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २४ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अनेरास्ववियूले कालापानीलगायतका सीमा समस्या तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै भारतले हालै सार्वजनिक गरेको नक्सा सच्याउनका लागि तत्काल कूटनीतिक पहल गर्न र नेपालको एक इञ्च पनि जमीन नछाड्न आग्रह गरेको हो ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीले शनिबार आयोजना गर्नुभएको सर्वपक्षीय बैठकबाट सीमा समस्या समाधानका लागि राष्ट्रिय सहमति बनेको भन्दै सरकारले कूटनीतिक प्रयास शुरु गरिसकेको बताउनुभयो ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालीपानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै मन्त्री ज्ञवालीले परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट समस्याको समाधान गर्ने र आवश्यक परेमा त्योभन्दा उच्चस्तरीय तहबाटै भारत सरकारसँग कूटनीतिक संवाद गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्नुभएको थियो ।

अनेरास्ववियूले तथ्य र प्रमाणका आधारमा नेपालको अभिन्न भूभागका रुपमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय दाबीलाई उच्चस्तरीय वार्ता, संवादमार्फत कूटनीतिक तवरले सदाका लागि सीमा समस्या समाधान गर्न, नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मीलाई तत्काल फिर्ता पठाउने वातावरण बनाउन मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएको थियो ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङले सीमा समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक सिमाङ्कन प्रणाली कायम गर्न र सीमा क्षेत्रमा राज्यको बलियो र प्रभावकारी उपस्थिति सुनिश्चित गर्न माग गरेको थियो । अनेरास्ववियूले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा नागरिकलाई जागरुप गराएकामा मन्त्री ज्ञवालीले धन्यवादसमेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.