काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : महामन्त्री कोइराला

दमौली, २२ साउन : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो ।

“काङ्ग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्वाचित हुनुपर्छ”, महामन्त्री कोइरालाले भन्नुभयो, “त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।” पार्टीभित्र रहेको गुट/उपगुट अन्त्य गर्दै काङ्ग्रेसलाई एक ढिक्का बनाउने नेतृत्व कार्यकर्ताले रोज्नुपर्ने उहाँले बताउनुभयो ।

“मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुको विरोध गरेको होइन,” उहाँले भन्नुभयो, “तर पार्टीभित्र नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।” काङ्ग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्दै महामन्त्री कोइरालाले हारे आफ्नै कारणले मात्र हार्ने ठोकुवा गर्नुभयो ।

उहाँले पार्टीको प्रदेश संरचना गठन हुन बाँकी रहेकाले प्रदेशको संरचना टुङ्गो लगाएपछि पार्टीको महाधिवेशन हुने जानकारी गराउनुभयो । “अहिले प्रदेशमा चुनाव गराएर भन्दा पनि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्नेतर्फ पार्टीमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।

उहाँले मातृशोकमा रहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई आज नै भेटी समवेदना प्रकट गर्नुभएको छ । कोइरालाले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.