कम्प्युटर एसोसिएशनमा कुँवर समूहको उम्मेदवारी घोषणा

काठमाडौँ, २६ कात्तिक : कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को आगामी मङ्सिर ७ गते हुने १३औँ कार्यसमिति निर्वाचनमा नवराज कुँवर समूहले उम्मेदवारी घोषणा गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा कुँवर समूहले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हो । घोषणा गरिएकामा संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शङ्कर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल र सुरेन्द्र न्यौपाने, संस्थागत आजीवन समूहबाट डा पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल तथा व्यक्तिगत आजीवन समूहबाट प्राडा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहनुभएको छ ।

यसैगरी व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल र दिनेशराज कार्की तथा वस्तुगत सदस्यमा उक्त समूहमा नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी र प्रताप सापकोटा रहनुभएको छ ।

तीन सदस्यीय लेखा समितिमा लक्ष्मण यादव, हृदयमान श्रेष्ठ र भीमसेन गिरी रहनुभएको छ । निर्वाचनमा सात प्रदेशमा दुई जनाका दरले सदस्य निर्वाचित हुनेछन् ।

सदस्यमा निर्वाचित भइसकेपछि कार्यसमितिले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष जस्ता पदाधिकारी चयन गर्नेछ ।

समूहले आफू निर्वाचित भएपछि सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरको प्रयोगका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचना प्रविधि र पर्यटन उद्योगलाई समेटेर पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

दुई वर्षका लागि निर्वाचन हुने कार्यसमितिमा अर्को समूहबाट सुनैना पाण्डेले उम्मेदवारी घोषणा गर्ने तयारी गरिएको छ । क्यानले अहिले ५७ जिल्लामा शाखा विस्तार गरेको छ । सन् १९९२ मा स्थापना भएको क्यानमा करीब पाँच हजार साधारण सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.