विज्ञानमा महिला पुरस्कार नमिता र रेजिनालाई

काठमाडौँ, ३१ साउन : नेपाल एस्ट्रोनोमिकल सोसाइटीले यस वर्षको विज्ञानमा महिला पुरस्कार व्यावसायिक विधातर्फ डा नमिता श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी विद्यार्थीतर्फ सुश्री रेजिना झालाई पुरस्कृत गर्ने निर्णय गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । सोसाइटीको स्थापना दिवसका अवसरमा आगामी भदौ ९ गते पुरस्कार वितरण गरिने जनाइएको छ ।

व्यावसायिकतर्फ रु २५ र विद्यार्थीतर्फ रु १५ हजार नगदसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने छ । नमिता हाल अमेरिकाको विस्कन्सिन विश्विद्यालय प्लेटिभिलेमा प्राध्यापनरत हुनुहुन्छ । उहाँले सिभिल तथा वातावरणीय इञ्जिनीयरिङमा विद्यावारिधि उपाधिसमेत हासिल गर्नुभएको छ । श्रेष्ठले थुप्रै अनुसन्धानात्मक लेख प्रकाशन गरिसक्नुभएको सोसाइटीले जनाएको छ । केही विधामा उहाँले ‘पेटेण्ट राइट’ लिने तयारी अन्तिमचरण पु¥याउनुभएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

विद्यार्थीतर्फ पुरस्कृत हुनुहुने झा हाल त्रिभुवन विश्वविद्यालय स्नातक तहको भौतिक विज्ञानको चौथो वर्षको परीक्षा परिणामको पर्खाइमा हुनुहुन्छ । उहाँले माइतीघरस्थित सेन्टजेभियर क्याम्पसमा अनुसन्धान सहायकका रुपमा काम गरिरहनुभएको जनाइएको छ ।

सोसाइटीले सन् २०१७ देखि विज्ञानका क्षेत्रमा काम गर्ने महिलालाई प्रोत्साहनस्वरुप पुरस्कार दिन थालेको हो । पहिलो वर्ष पुरस्कारको राशि थिएन । सन् २०१८ देखि पुरस्कारमा नगद पनि दिन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.