सुरक्षा पोष्ट राखेकामा कर छलि गर्ने व्यापारीको विरोध

हेमन्त केसी । जाजरकोट, २५ साउन : उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् । तिञ्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत्मा चोर बाटोबाट व्यापारीले यार्सागुम्बा निर्यात गर्न थालेपछि निकुञ्जले उक्त क्षेत्रमा सुरक्षा कार्यालय स्थापना गर्दा विरोध भएको हो ।

निकुञ्जले शे फोक्सुण्डो गाउँपालिकामा पर्ने दानिगाड, साल्दाङको निजाल र डोल्पोबुद्वको धोमा अस्थायी सुरक्षा कार्यालय स्थापना गरेलगत्तै विरोध शुरु भएको हो । यही नाका हुँदै वर्षेनी बिना छोडपूर्जी र सङ्कलन इजाजतपत्र तथा राजश्व नलिएर उपल्लो डोल्पा र उत्तरी तिब्बत्बीचको सिमा नाकामा पर्ने क्याटो र मोरिम्ममा लगेर व्यापारीले बहुमूल्य जडीबुटी यार्सागुम्बाको व्यापार गरेको सूचना पाएपछि सुरक्षा कार्यालय स्थापना गरिएको थियो ।

प्रक्रिया पूरा नगरी अवैध बाटोबाट व्यापारीले कारोवार गर्न थालेपछि सो रोक्न निकुञ्जले यस्तो गरेको छ । क्याटो र मोरिम्ममा भदौ १ देखि १५ गतेसम्म अस्थायी रुपमा हाटबजारका लागि नाका खुल्ने मौका छोपी अवैध कारोवार हुने भन्दै सुरक्षा कार्यालय स्थापना गरिएको निकुञ्जले जनाएको छ । विगत वर्षमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको कडा सुरक्षा दिएर यार्सागुम्बाको व्यापार हुँदै आएको शे फोक्सुण्डो निकुञ्जको कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपाल खनालले बताउनुभयो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले विगतमा व्यवहारिक रुपमा निकुञ्जले पनि छाडेको र स्थानीय प्रशासनले पनि लचकता अपनाएको उल्लेख गदै यसवर्ष पनि व्यावहारिक रुपमा हेर्न निकुञ्जलाई आग्रह गर्दा पनि नमानेपछि केही विवाद भएको बताउनुभयो । स्थानीय प्रशासन र निकुञ्ज कार्यालय र व्यापारीको छलफलमा सहमति नभएपछि समस्या समाधानका लागि केन्द्रमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

पुराना यार्सा व्यापारी नगेन्द्र बुढाथोकीले ठूला व्यापारीलाई राजश्व तिरेर लैजान समस्या नभएको तर स्थानीय आफ्नै कमाइले सङ्कलन गरेका साना व्यापारीलाई भने मर्का पर्ने बताउनुभयो । निकुञ्जले आर्थिक वर्ष ०७५/७६ मा रु पाँच करोड ७१ लाख ९१ हजार राजश्व उठाएको छ ।

यार्सागुम्बा र सेतो चिनीलगायतका बहुमूल्य जडीबुटी, पर्यटक शुल्क, वनपैदावर र चरिचरनअन्तर्गत उक्त राजश्व उठाएको निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको प्रवेश शुल्कबापत रु दुई करोड ९२ लाख ७५ हजार ५०० र सङ्कलन अनुमतिपत्रबापत रु एक करोड ८३ लाख पाँच हजार गरेर रु तीन करोड ११ लाख १० हजार ५०० उठाएको हो ।

यसैगरी सेता चिनीको छोडपूर्जीबापत रु दुई करोड १४ लाख ८० हजार उठाएको छ । फोक्सुण्डो ताल हेर्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत रु १८ लाख ७९ हजार उठाएको सूचना अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार पर्यटक भरिया शुल्क, चरिचरन शुल्क, माछा शुल्क, जडीबुटी छोडपूर्जी, क्यापिङ र गाइड शुल्क तथा गत वर्षको बेरुजु दाखिलासमेत गरेर रु २१ लाख २८ हजारसमेत गरेर रु पाँच करोड ७१ लाख ९१ हजार ८४० राजश्व उठाएको छ ।

यसैगरी डिभिजन वन कार्यालय दुनैले आर्थिक वर्ष २०७५/७६ मा यार्सागुम्बाबाट रु ६२ लाख ४० हजार मात्र राजश्व उठाएको छ । गतवर्ष यार्सागुम्बाबाट मात्र वनले रु एक करोड ५० लाख राजश्व उठाएको थियो । डिभिजन वन कार्यालयका प्रमुख नरबहादुर क्षेत्रीका अनुसार आर्थिक वर्ष २०७४/७५मा ३५० किलो यार्सागुम्बाको राजश्व उठाएकामा आर्थिक वर्ष २०७५/७६ मा भने २०८ केजी यर्सागुम्बाको मात्र राजश्व उठाएको हो ।

प्रतिकेजी रु ३० हजारका दरले यार्सागुम्बाको राजश्व उठाउने गरिन्छ । विगतका वर्षमा पञ्चवर्षीय योजना बनाएर यार्सागुम्बाको राजश्व उठाउने गरिन्थ्यो । तर, गत आर्थिक वर्षमा कुनै पनि योजना नबनाइएको र सेतो चिनीको मुद्दा परेकाले पनि समस्या आएकाले राजश्वमा गिरावट आएको वन अधिकृत क्षेत्रीले बताउनुभयो । हिमाली जिल्ला डोल्पामा १० क्वीन्टल भन्दा बढी यार्सागुम्बा पाइने गरेको तथ्याङ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.