चित्रकलाबाट गौँथली संरक्षणको अभियान

नवलपुरका चित्रकार भीमप्रसाद शर्माले गौँथली र मानिसको सम्बन्ध जनाउन कोर्नुभएको चित्र । तस्वीर: टेकराज पोखरेल

टेकराज पोखरेल । नवलपुर, २० मङ्सिर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिकाको विजय चोकबाट २०० मिटर दक्षिणमा एउटा सानो घर छ । घरभित्र क्यान्भासमा कोरिएका चित्रका साथै काठ तथा ढुङ्गामा कुँदिएका चित्रहरु देखापर्छ ।

उमेरले बुढ्यौली लाग्दै गरेका एक व्यक्ति । कुची समाउँदै प्राकृतिक चित्र बनाउन व्यस्त छन् उनी । घरको भित्ताभरि मानव र प्रकृतिबीचको सम्बन्ध देखाउँदै उनीहरुको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने अधिकाँश चित्रहरु छन् । चित्रकार भीमप्रसाद शर्माले आफ्नो सरकारी जागीरलाई तिलाञ्जलि दिएर चित्रकलामा रमाउन थाल्नुभएको करीब २८ वर्ष भयो ।

मुस्ताङमा पढाउने जागीर छोडेर चित्र कोर्न शुरु गर्नुभएका शर्माले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरिसक्नुभएको छ । स्वदेश तथा विदेशमा गरी नौ वटा चित्रकला प्रदर्शनी गरिसक्नुभएका शर्माले १०औँ चित्रकला काठमाडौंँमा गर्ने तयारी गर्नुभएको छ । मानिस र गौँथलीबीचको सम्बन्धमा केन्द्रित रहेर शर्माले मङ्सिर २२ देखि २७ गतेसम्म बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा एकल चित्रकला प्रदर्शनी गर्दै हुनुहुन्छ ।

मानिस र गौँथलीको सम्बन्धलाई देखाउँदै संरक्षणसम्बन्धी शिक्षा दिन काठमा कोरिएको गौँथलीको कथामा आधारित चित्रबारे जानकारी गराउँदै चित्रकार भीमप्रसाद शर्मा । तस्वीर: टेकराज पोखरेल

गाउँबाट गौँथलीहरु हराउँदै गएको स्मरण गर्दै गौँथलीको वरिपरि रहेर चित्रकला निर्माण गरेको शर्माले बताउनुभयो । छ दिनसम्म हुने प्रदर्शनीमा गौँथलीका विभिन्न भाव झल्किने ३५ वटा चित्र प्रदर्शनी हुँदैछन् । आठ वर्षपछि आफ्नो जन्मभूमि बागलुङ पुग्दा गौँथली नभेटेपछि यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन चित्रकला निर्माण गरेको उहाँले बताउनुभयो ।

“म आठ वर्षपछि मेरो जन्मघर बागलुङ गएको थिएँ,” शर्माले भन्नुभयो, “त्यहाँ पहिले घरको ढोकामा, बार्दलीमा गौँथलीहरु देखिन्थे तर, अहिले एकदमै कम देखेँ, त्यसैले चित्र कोर्ने इच्छाशक्ति जाग्यो ।” मानिसहरु रहेको ठाउँमा बस्न रुचाउने गौँथलीहरू मानिसको बसाइसराइसँगै एक्लिएका शर्माले बताउनुभयो । पहिलेको जस्तै गौँथली नभेटिने भए पनि पुराना घरमा मान्छे आउने आशले कुरेर बसेका गौँथली देख्न पाउने शर्माले बताउनुभयो ।

“मान्छे र गौँथली छुट्टिएपछि गौँथलीहरु खुशी भएनन्,” शर्माले भन्नुभयो – “परिवारमा आश्रित चराले एक्लो महशुस गर्न थालेका छन् ।” एकतर्फी सम्बन्ध हुँदा गौँथलीलाई पीडाबोध हुन थालेको अनुभव गर्नुभएका शर्माले भन्नुभयो – “ती गौँथलीहरुको नाममा चित्र कारेर ‘सम्बन्धन’ नाम दिएर चित्रकला प्रदर्शन गर्न लागेको हुँ ।’ शर्माले प्रदर्शन गर्ने ३५ वटै चित्रहरु काठमा निर्माण गरिएका छन् ।

ती चित्रमा ढोका र तालाचाबीलाई ‘टुल’को रुपमा प्रयोग गरिएको शर्माले बताउनुभयो । “बन्द घर देखाउन तालाचाबीलाई समेत चित्रमा देखाएको छु,” उहाँले भन्नुभयो – “चाबी लगाएको घरभित्र पनि मान्छे आउने आशमा कुरेर बसेका गौँथलीहरु चित्रकलामा देख्न सकिन्छ ।” चराहरु स्वतन्त्रता, सुन्दरता र एकताको प्रतीक हुन् भन्ने शर्माको मान्यता छ ।

“चराहरुका पनि परिवार हुन्छन्, उनीहरुको भाषा हुन्छ, उनीहरुमा माया, ममता, स्नेह र प्रेम हुन्छ,” शर्माले भन्नुभयो – “मानवीय स्वभावसँग मिल्ने गुण हुने भएकाले मानिसबाट टाढा हुनपर्दा उनीहरुले एक्लोपना महशुस गरेका छन् ।” प्रकृतिमा भएका चराचुरुङ्गीहरु मानिसका लागि आवश्यक पर्ने भएकाले उनीहरुको संरक्षण गर्ने दायित्व समेत मानिसको भएको सन्देश चित्रकलामा प्रस्तुत गरिएको शर्माको भनाइ छ ।
अस्पतालको उपकरणका लागि प्रदर्शनी

शर्माले अहिलेसम्म गर्नुभएको नौ वटा चित्रकला प्रदर्शनीमध्ये तीन वटा अस्पतालका लागि आवश्यक पर्ने उपकरण जुटाउन सहयोग स्वरुप गर्नुभएको हो ।
सन् १९९९ मा जर्मनीको तीन ठाउँमा प्रदर्शनी भएको चित्रकलाबाट गैँडाकोटको सहज सामुदायिक अस्पतालका लागि उपकरण ल्याउन सहयोग भएको उहाँले बताउनुभयो । “मैले जर्मनीमा ११९ वटा चित्र लगेर प्रदर्शनीमा राखेको थिएँ, त्यहाँ प्रदर्शनीका लागि राखिएको चित्रहरु मैले व्यक्तिगत कामका लागि बिक्री गरिनँ,” उहाँले भन्नुभयो – “मैले चित्रकला प्रदर्शनीमा लेखेको थिएँ । तपाईँलाई आवश्यक चित्रहरु निःशुल्क लिएर जानुहोस् तर, बदलामा अस्पतालका लागि आवश्यक पर्ने उपकरणहरु सहयोग गर्नुहोस् ।”

त्यो प्रदर्शनीबाट सहजका लागि एक्सरे मेसिन, शय्यालगायतका दुई कन्टेनर उपकरणहरु सहयोग मिलेको शर्माले बताउनभुयो । शर्माले प्रदर्शन गर्ने चित्रबाट सामाजिक काममा समेत खर्च गरिएका छन् । चितवनमा आएको बाढीबाट पीडित मुसहर बस्तीको सहयोगार्थ उहाँले दुई वर्ष अगाडि चित्रकला प्रदर्शनी गर्नुभएको थियो । त्यस्तै, गत वर्ष वैशाख पूर्णिमाको समयमा कपिलवस्तुमा समेत बुद्धसम्बन्धी चित्रहरु प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

चित्र कोर्न बुबाबाट सिकेँ    

शर्माले आफूले बुबासँग चित्र कोर्न सिकेको बताउनुहुन्छ । “मैले चित्रकलाका लागि कुनै औपचारिक कक्षा लिइनँ,” उहाँले भन्नुभयो – “मेरो बुबा ज्योतिष पण्डित हुनुुहुन्थ्यो, उहाँले चिनामा कोरेको चित्र हेर्दै मैले पनि चित्र बनाउन शुरु गरेको हूँ ।” आफ्नो बुबाले बनाउने चिनामा कोर्नुपर्ने चित्रको काम आफंैले पाएपछि चित्रकलामा ध्यान गएको उहाँको भनाइ छ ।

उपहारका लागि चित्रकला    

क्यानभासमा कोरिएका चित्रहरुको बिक्री कमै मात्रामा हुने गरेको भए पनि पछिल्लो समय उपहारका लागि साना चित्रहरु बिक्री हुने गरेको शर्माले बताउनुभयो । “काठमाडौँ बाहिर चित्रकलाको खासै महत्व दिएको मैले पाइनँ,” शर्माले भन्नुभयो – “जन्म दिन, विवाहलगायतमा साना तस्वीर तथा ढुङ्गामा कुँदिएको तस्वीरहरु उपहारको रुपमा प्रयोग हुन थालेको छ ।” पाँच हजार रुपैयाँसम्मका चित्रकलाका लागि मानिसहरु आउने गरेका उहाँ बताउनुहुन्छ ।

“गैँडाकोट तथा नारायणगढ क्षेत्रमा अहिले पनि चित्रकला बिक्री हुन गा¥हो छ,” उहाँले भन्नुभयो – “गिफ्टका लागि सानो पेन्टिङ बिक्री हुन्छ । यसरी त चित्रकारको जीवन निर्वाहमा समेत समस्या पर्छ ।” चित्रहरु बिक्री गर्न प्रदर्शनी नै गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । आफूले गरेको चित्रकला प्रदर्शनीमध्ये सात वटा विदेशीहरुको सहयोगमा सम्पन्न भएको उहाँको भनाइ छ ।

विस २०३८ देखि व्यावसायिक रुपमा चित्र कोर्न शुरु गर्नुभएको भए पनि बीचबीचमा यो क्षेत्रबाट उहाँ बाहिरिनु पनि भयो । त्यस बेला नारायणगढमा सनसाइन आर्ट खोलेर पछि फोटोग्राफी समेत गरेको उहाँले सुनाउनुभयो । चित्रकलाको काम गर्दागर्दै डिजिटल होर्डिङ बोर्डको समय शुरु भएपछि आफू झण्डै यस पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको उहाँ सम्झनु हुन्छ ।

विस २०४८ सम्म चित्रकलालाई निरन्तरता दिनुभए पनि पछि उहाँ अन्य पेशामा लाग्नुभयो र २०५४ सालसम्म विभिन्न गैरसरकारी संस्थामा आवद्ध भएर काम गर्नुभयो । त्यसपछि पुनः यसै काममा फर्किनुभयो । माओवादी द्वन्द्व कालमा त्यसले समाजमा निम्त्याएको सामाजिक परिवेशलाई समेटेर सन् २००४ मा यूरोपमा चित्रकला प्रदर्शनी गर्नुभएपछि चित्रकलालाई निरन्तर रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो ।

“त्यो बेलामा माओवादी द्वन्द्वले समाजमा पारेको प्रभावलाई चित्रमा उताररे युरोपमा प्रदर्शन गर्दा त्यहाँबाट मलाई अवार्ड समेत मिल्यो,” शर्माले भन्नुभयो – “त्यसपछि चित्रकलालाई व्यावसायिक रुपमा अगाडि बढाइआएको छु ।” सन् २०१४ बाट गैँडाकोटमा कलावती आर्ट काउन्सिल खोलेर जीविकोपाजर्न गर्न लाग्नुभएका शर्माले कलाकार उत्पादनका लागि केही व्यक्तिलाई चित्र कोर्न समेत सिकाउन शुरु गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.