सिलोक गाउन छाडे गाउँघरमा

सुशीला रेग्मी । बेझाड, २२ साउन :

‘इज्जत थाम्न भनेर धेरै गहना मागेर ल्याइकन ।
भोलिपल्ट फुकाल्नुपर्दछ नी उहाँ देखि बोक्नु किन ।।
चार दिनलाई भनेर मागन गई पाइन्छ यहीँ पनि ।
भोलिपल्ट थाहा हुनेछ गहना कस्का रहेछन् भनी ।।’

यी पङ्क्ति नेपाली समाजमा बिहेबारीका क्रममा गाउने सिलोक (श्लोक) हुन् । यसको आफ्नै लय हुन्छ । जेनतेन छोरीलाई अर्काको घर पठाउन मन बाँधेर बिदाइ गर्न लागेका बाबुआमा र आफन्तलाई यस्ता सिलोकले धुरुधुरु रुवाइदिन्छ ।

बेहुली बिदाइका क्रममा सिलोक गाउने नेपाली समाजको प्राचीन संस्कृति हो तर, आधुनिकताको नाममा यस्ता सिलोक गाउने (भट्याउने ) प्रचलन यतिखेर झण्डैझण्डै लोप भैसकेको छ । सिलोकप्रति युवाको चासो घट्दै जानु र सिलोक भट्याउने व्यक्तिबाट यो नयाँ पिँढीलाई हस्तान्तरण हुन नसक्नु नै लोप हुँदै जानुको मुख्य कारण बनेका छन् ।

नेपाली साहित्यमा लोक कविताअन्तर्गत पर्ने सिलोकको इतिहास भने अलिखित छ । लोकगीतसँग नजीकको सम्बन्धका रहेको मानिने सिलोकको माध्यमबाट परापूर्व कालदेखि नै मानव जीवनका भोगाइ एवं अनुभवलाई लयात्मक ढङ्गले व्यक्त गर्न थालिएको पाइन्छ ।

कागक्वैली वनमा ढुकुर जुरेली रानी चरी धोबिनी ।
घरै खान सकिन कठै मेरी आमा हुनै प¥यो जोगिनी ।।
हे साथी संगिनी म हुन्छु जोगिनी लाइदेऊ बिगुलको टिको ।
माया लाग्ने रोलान् जोरी खुशी होलान् देश काटी हिड्ने निको ।।

समयको प्रवाहसँगै गाउँघरका परम्परा, रीतिरिवाज र संस्कार क्रमिक रुपमा बदलिँदै जाँदा पुराना मौलिक संस्कृति हराउँदै गएका छन् । आजभन्दा झण्डै तीन दशक अघिसम्म नेपाली समाजमा बिहे रातको समयमा हुन्थ्यो । साँझ बिहे शुरु भएदेखि रातभर बिहेमा सिलोक गाउने र बिहानीपख बेहुली अन्माएपछि जन्तीको बिदाइसँगै सिलोक गाउन छाडेर आ–आफ्ना घरतर्फ प्रस्थान गर्ने गरिन्थ्यो ।

साँझदेखि रातभर सिलोक भट्याउदै गर्दा बिहान उज्यालो भएको पत्तै नहुने गरेको अनुभव रामपुर नगरपालिका वडा नं ६ बस्ने ८२ वर्षीय घनश्याम ढकालले सुनाउनुभयो ।

“सिलोक भट्याउँदै सवाल जवाफ फर्काउँदै गर्दा रात बितेको पत्तो हुदैनथ्यो,” उहाँले भन्नुभयो – “बिहान उज्यालो भएपछि बिहेको काम सकिन्थ्यो । बेहुलाबेहुली लिएर जन्ती फर्कन्थे ।”

उहाँका अनुसार सिलोकमा बेहुलाबेहुलीको प्रसङ्गलाई लिएर घरभेटी र जन्तीपक्ष बीच सवालजवाफ हुने गर्छ ।

सवाल : ‘कति बाट्यौ दाम्लानाम्ला कति बाट्यौ कुचा ? कति आयौ बूढापाका कति आयौ फुचा ?’
जवाफ : ‘चाहिँदो बाट्यौँ दाम्लानाम्ला चाहिँदो बाट्यौँ कुचा, चाहिँदो आयौँ बूढापाका चाहिँदो आयौँ फुचा ।’

बेहुलीले माइत घरमा गएर सिक्नुपर्ने संस्कार मात्र हैन घरपरिवार आफन्तलाई गर्नुपर्ने सम्मान पनि सिकाइन्छ । दाइजो र गरगहनालाई लिएर जन्ती पक्ष र घरभेटी पक्षले सिलोक भट्याउने गर्छन् । अहिले यसरी रात बिताएर सिलोक गाउने चलन देख्नु एकादेशको कथा जस्तै भएको छ ।

पुरानो संस्कृति लोप हुदै गएपछि कतै कतै भने अस्तित्व जोगाउन यदाकदा मेला, महोत्सव, जमघटहरुमा भने सिलोक गाउने गरिएको छ । विशेषतः ब्राह्मण समुदायमा बढी प्रचलित सिलोक जन्ती पक्षले घरभेटीलाई व्यङ्ग्य प्रहार गर्दै गाउने गरेको रामपुरकै ७९ वर्षीय कृष्णलाल ढकाल बताउनुहुन्छ ।
“गरगहना, दाइजो सरसामानलाई लक्ष्य गरी घरभेटीलाई व्यङ्ग्य प्रहार गरी सिलोक गाएर रात बिताइन्थ्यो,” तिनताकाका अनुभव सुनाउँदै उहाँले थप्नुभयो – “अहिले त सिलोक नाममा मात्र सीमित बन्न पुगेको छ, कतै सुन्न पाइँदैन ।”

आकाशमा उड्ने ती चील हुचिल भुइँमा त हिड्ने बटाइ ।
कि बस्नु छोराले राजाका दरबार कि बस्नु भैंसी गोठे ।।
भात खाने तसला तिहुन् त मसला खोर्सानी खानु जिरे ।
हे राम् राम् शिवका ती जन्ती हिजोका ब्यौली लिएरै फिरे ।।

पहिला रातभर बिहेको रीत चल्ने गरिएकामा अहिले त्यो प्रचलन लगभग हराइसकेको छ । दिनमा बिहेको काम सक्याएर बेहुलीलाई साँझपख घर पठाउने पछिल्लो चलन पनि सिलोक हराउनुका कारण मध्ये एक भएको बूढापाकाहरु औँल्याउँछन् ।

पहिले पहिले बिहेका काम भैरहँदा रातको समय बिताउनकै लागि सिलोक गाउने गरिएको बूढापाकाको तर्क छ । उनीहरूका अनुसार बेहुला र बेहुलीलाई लक्ष्य गरेर मायाप्रेम, बेहुलीले नयाँ घरमा जाँदा गर्नुपर्ने संस्कार, संस्कृति, परम्परालाई समेटेर सिलोक गाउने गरिन्थ्यो । सिलोक सुनेपछि जो कोहीले आनन्द मान्ने र त्यो सुन्नकै निम्ति बिहेमा जन्त जाने चलन पनि रहेको ढकालले बताउनुभयो ।

यी जन्तीहरुले विचार गरी भनन, म भन्छु दुई चार सिलोक ।
रिस राग कत्ति नहुन् तपाईहरुमा मतो दुबैको मिलोस् ।।
अक्षरबाट उठाई अक्षरमा बस्ने हिसाबले गरी ।
सिलोक भन्नुपर्छ तपाई जन्तीहरूले हाम्रा अगाडि सरी ।।

सिलोक अथवा श्लोक पद्यात्मक शैलीमा लेखिएको लयात्मक रचना हो । यसलाई लोकपद्य पनि भनिन्छ । सिलोक प्रायः विवाहका बेलामा र अन्य उत्सवमा अनुभवी बूढापाकाहरू गाउने गर्छन् ।

सिलोक विभिन्न प्रकारका हुन्छन् । विवाहमा यज्ञमण्डपमा दुलहीतर्फका घर गाउँले र दुलाहातर्फका जन्तीबीच प्रश्नोत्तरका रुपमा भनिने प्रतिष्पर्धात्मक सिलोकलाई जन्ते सिलोक भन्ने चलन छ । यसका अलावा गोठाला, खेताला, मेलापात, जाग्रामका बेलामा सहज रुपमा समय बिताउन पनि सिलोक भट्याइन्छ ।

पैला भैंसी निरोगी जिउ दखमी असल आँग ढाडै मिलेको ।
क्वैले थुन् पातला हुन् सिङ घुमी कलसे भरि क्वैले कचौंडो ।।
दुई थुन्को तीन माना दूध घीउसँगको बेत दुई काख पाडी ।
बैगुन् क्यै नभाको दुहुन पनि सजिलो भैंसी किन्नु नछाडी ।।

पुराना संस्कृतिभन्दा नयाँ संस्कृतिप्रति मानिसको झुकाव बढ्न थालेकाले सिलोक संस्कृति हराउन पुगेको शहीद बहुमुखी क्याम्पस रामपुरका नेपाली भाषाका प्राध्यापक दयाराम भट्टराई बताउनुहुन्छ ।

“ब्राह्मण क्षेत्री समुदायका मानिसले विवाहका समयमा आफ्ना ज्ञान अनुभव लयात्मक रुपमा भन्ने चलन थियो,” उहाँले भन्नुभयो – “दुलाहा र दुलही पक्ष फरक–फरक समूहबाट लोक कविता वाचन गर्ने गर्दथे ।”

उहाँका अनुसार यसरी वाचन गर्दा एकातिर बौद्धिक क्षमताको प्रदर्शन हुन्थ्यो भने अर्कातिर सुन्ने श्रोतालाई सामाजिक जीवनका विभिन्न पक्षसँग साक्षात्कार गर्ने अवसर मिल्छ ।

संस्कृति मानिस, समुदाय र राष्ट्रकै पहिचान हो । मौलिक संस्कृति लोप हुँदै जाँदा आफ्नो पहिचान नै गुम्न सक्छ । पाश्चात्य संस्कृतिको बढ्दो प्रभावले गाउँघरका मौलिक संस्कृति धरापमा परेको छ । राज्यले संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि नीतिगत व्यवस्था गरे पनि त्यो लागू भएको देखिँदैन ।

शहर र केन्द्रमा कार्यक्रम गरेर श्रव्य दृश्य भिडियो रेकर्ड गरेर मात्र संस्कृतिको संरक्षण हुन सक्दैन । स्थानीय सरकारले आ–आफ्ना ठाउँमा भएका लोक संस्कृतिको खोजी गरी त्यस्ता प्रतिभालाई उजागर गर्न हौसला प्रदान गर्नुपर्छ । समय समयमा त्यस्ता व्यक्तित्वहरुको जमघट वा सम्मेलन गर्न आवश्यक छ । यस्ता लोक संस्कृतिलाई लिपिबद्ध गर्नुपर्ने सुझाव प्रा भट्टराई दिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.