ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्न नेपाल–भारतका जनप्रतिनिधि सहमत 

कञ्चनपुर, ३ भदौ : ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्नका लागि नेपाल–भारतका जनप्रतिनिधि सहमत भएका छन् । कञ्चनपुरको ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले आज आयोजना गरेको नेपाल–भारत मैत्री कार्यक्रममा सहभागी जनप्रतिनिधि नाका सञ्चालन गर्न सहमत भएका हुन् ।

दुवै देशको साझा संस्कृति, परम्परा र संस्कार भएकाले दुवै क्षेत्र एकापसमा जोडिनु पर्नेमा उनीहरुले जोड दिए । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले भारतको उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनास भएकाले नाका खोल्नका लागि पहल गरिने बताउनुभयो । “नाका खुले यस क्षेत्रको विकासमा टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

भारतको उत्तराखण्डका विधायक हरिश भट्टले दुवै देशको धर्म, संस्कृति एउटै भएकाले यसलाई एकापसमा जोड्नका लागि टनकपुर नाका खोल्नका लागि पहल गर्ने बताउनुभयो । विधानसभा सदस्य कैैलाश गहोतडीले व्यापार व्यवसायसँगै आर्थिक समृद्धि ल्याउन नाका सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सिद्धनाथ मन्दिर समितिका अध्यक्ष वीरबहादुर खड्काले धार्मिक पर्यटन र व्यवसायका लागि ब्रम्हदेव–टनकपुर नाका खुल्नेपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका सदस्य माधव जोशीले ब्रम्हदेव–टनकपुर लिङ्क रोड निर्माण भएपनि भारतले आफ्नो क्षेत्रमा सडक निर्माण नभएकामा चिन्ता व्यक्त गर्नुभयो । धार्मिक पर्यटनलाई बढावा दिन नाका खोल्नुपर्ने आवश्यक भएको भारतको पूर्णागिरि मन्दिर समितिका अध्यक्ष भुवन पाण्डेयले बताउनुभयो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले औद्योगिक विकासका लागि टनकपुर नाका विस्तार हुनुपर्ने बताउनुभयो । ब्रम्हदेब–टनकपुर नाका विस्तारको पहल गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका सदस्य माधव जोशीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.