त्रिविको उपकुलपतिमा प्राडा बाँस्कोटा नियुक्त

काठमाडौँ, १७ कात्तिक : त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयबाट जनाइए पनि यसको आधिकारिक जानकारी दिइएको छैन ।

नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी प्राडा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको पूर्वअध्यक्ष हुनुहुन्छ । त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो । सर्च कमिटीले बाँस्कोटासहित डा भगवान् कोइराला र डा चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो । डा बाँस्कोटाले सोमबार साँझसम्म पद बहाली गर्ने तयारी रहेको बुझिएको छ ।

अन्यमा नियुक्ति हुँदै

उपकुलपति रिक्त रहेका पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका लागि सिफारिस गर्न आन्तरिक सूची (रोष्टर) तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही कात्तिक ९ गते सात दिनको समय दिई व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशन गरेको थियो । उपकुलपति नियुक्तिका लागि यसरी सूचना गरिएको यो पहिलो पटक हो । प्राप्त विवरणका आधारमा नाम सिफारिसका लागि सम्बन्धी सर्च कमिटीले काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.