तनहुँका सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको जिल्ला 

कृष्ण न्यौपाने । दमौली, ५ भदौ  : तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो ।

तुइन प्रयोग गरेर यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेपछि विसं २०७२ असोज २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने घोषणा गर्नुभएको थियो । सोही घोषणाबमोजिम जिल्लामा प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेका छन् ।

गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न ‘प्राक्टिकल एक्सन’ नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । एकसय २० मिटरभन्दा लामो झोलुङ्गे पुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुङ्गे पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत भएको थियो ।

 जिल्लाका सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको जिल्ला    

समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम तुइन विस्थापित गर्ने क्रममा बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेमा सेती नदीमाथि झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सङ्घीयता कार्यान्वयनपछि जिल्ला प्राविधिक कार्यालय खारेज भएका कारण उक्त निर्माणाधीन झोलुङ्गे पुलको प्राविधिक सहयोग नवलपुर जिल्लास्थित जिल्ला पूर्वाधार कार्यालयले गरिरहेको छ । “तुइनमार्फत यात्रा गर्दा धेरै सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको छ”, जिल्ला

समन्वय समिति तनहुँका प्रमुख वाग्लेले भन्नुभयो, “तुइन विस्थापित गरी झोलुङ्गे पुल बनेपछि सर्वसाधारणलाई सहज भएको छ ।”

जिल्लास्थित देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी, सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी, सोही गाउँपालिकाको गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालीगण्डकी नदी तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेतीमादी नदीमा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताउनुभयो ।

देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेतीनदीमा जिल्ला प्राविधिक कार्यालयले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तुइनका कारण यात्रामा हुने जोखिम झोलुङ्गे पुलले हटाएको बताउनुभयो । “सबैभन्दा बढी तुइन देवघाट गाउँपालिकामा विस्थापित भएको छ”, उहाँले भन्नुभयो, “झोलुङ्गे पुल बनेपछि सर्वसाधारणले सुरक्षितरुपमा आवातजावत गर्न पाएका छन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.