रुपन्देहीमा विकास आयोजनाको काम सन्तोषजनक 

बुटवल, २२ साउन : रुपन्देहीमा सञ्चालित विकास आयोजनाको कामको प्रगति अवस्था सन्तोषजनक रहेको पाइएको छ । निर्वाचन क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र तथा समग्र जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला साना विकास आयोजनाका सन्दर्भमा आज यहाँ सम्बन्धित आयोजना प्रमुख तथा प्रतिनिधिसँग गर्नुभएको अन्तरक्रियामा कामको प्रगति विवरणबारे जानकारी लिनुभएको हो ।

आयोजना प्रमुख तथा प्रतिनिधिले प्रस्तुत गरेका कार्य प्रगति विवरणबाट कामको अवस्था सन्तोषजनक रहेको पाइएको हो । कार्यक्रममा खानेपानी, सिँचाइ, भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेका ठूला विकास आयोजनाका प्रमुख तथा प्रतिनिधिले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश मातहतका आयोजनाको प्रगति विवरणका बारेमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले पेश गर्नुभएको थियो । उहाँले प्रदेश सरकारले समेत चालू आर्थिक वर्षमा प्रदेश गौरवका दुई वटा आयोजना छनोट गरेर काम अघि बढाउने योजनामा रहेको बताउनुभयो । उहाँले प्रदेशका गौरवका तथा अन्य अयोजनाका लागि सङ्घीय सरकारका तर्फबाट समाधान गर्नुपर्ने काममा समन्वयका लागि आग्रह गर्नुभयो ।

उहाँले चालू आवमा प्रदेश सरकारले भारतीय सीमानाका सुनौलीदेखि चीनको सीमा नाका कोरलासम्म जोड्नका लागि सडक निर्माणका गौरवको आयोजनाका रुपमा अघि बढाउन खोजेको बताउनुभयो । यस्तै प्रदेशको जलविद्युत् र सिँचाइका लागि गौरवको आयोजनाका रुपमा नौमुरे बहुउद्देश्य आयोजनालाई अघि बढाउन खोजेको उहाँले स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले आयोजनाबारे जानकारी लिँदै गौरवका आयोजना तथा सरकारी उच्च प्राथमिकताका आयोजनालाई गुणस्तरीयरुपमा समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो । कार्यक्रममा बुटवलमा खानेपानीको समस्या दीर्घकालीन रुपले समाधान गर्न आफूहरुले धेरै प्रयास गरे पनि खानेपानी संस्थानको काम प्रभावकारी नहुँदा आयोजना सफल हुन नसकेको बताउनुभयो । उहाँले बुटवलको खानेपानी समस्या समाधाका लागि अगाडि सारिएको झुम्सा खोला आयोजना बुटवलवासीको सपना भए पनि संस्थानको लापरवाहीका कारण ढिलाइ भएको बताउनुभयो ।

मोतीपुर औद्योगिक कोरिडोर रुपन्देहीका मात्र नभएर प्रदेश नं ५ को गौरवको आयोजना हो । नेपाल सरकारले सातवटै प्रदेशमा एक–एक औद्योगिक क्षेत्र स्थापना गर्ने नीति बनेपछि प्रदेश नं ५ मा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको मोतीपुरमा औद्योगिक क्षेत्र स्थापना गर्न ८२२ बिघा जग्गाको व्यवस्था गरी जग्गा धनी पुर्जासमेत प्राप्त भइसकेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले मोतीपुर औद्योगिक क्षेत्रका लागि वातावरण प्रभाव मूल्याङ्कनको अनुमति पाउन ढिलाइ हुँदा अन्य पूर्वाधारका काम अघि बढाउन समस्या परेको बताउनुभयो । उहाँले वातावरण प्रभाव मूल्याङ्कनको काम सकिनासाथ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग रहेको रु ५० करोड बजेटबाट पूर्वाधार निर्माणको काम अघि बढाइने जानकारी दिनुभयो ।

रुपन्देहीका अर्को महत्वपूर्ण आयोजना बुटवल–बेलहिया व्यापारिक मार्गको काम पनि अन्तिम चरणमा रहेको र चालू आवमै सम्पूर्ण काम सम्पन्न हुने जानकारी आयोजना प्रमुख इञ्जिनीयर जीवेन्द्र मिश्रले जानकारी दिनुभयो । अर्को महत्वपूर्ण गौरवकै आयोजना निर्वाचन क्षेत्र नं २ मा प्रस्तावित सरकारीस्तरको मेडिकल कलेज स्थापनाका बारेमा बुटवल मेडिकल कलेज पूर्वाधार आयोजनाका निर्देशक मानबहादुर घिमिरेले जानकारी गराउनुभयो ।

उहाँले चालू आवमा आयोजनाको विस्तृत कार्य योजना, वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न गरेर आगामी वर्षदेखि पूर्वाधारको काम अघि बढाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । यस्तै बुटवल मण्डपमा निर्माणाधीन अत्याधुनिक सभाहल र प्रदर्शनी केन्द्रको निर्माणको कामसमेत आगामी तीन वर्षभित्रमा पूर्णरुपले निर्माण सम्पन्न हुने आयोजना प्रमुख शिखर लामाले जानकारी दिनुभयो ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजनाको कामको प्रगति सन्तोषजनक रुपले अघि बढेको र आगामी छ महीनाभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको आयोजनाका तर्फबाट प्रस्तुत कार्य प्रगति विवरणमा जनाइएको छ ।

तिनाउ–दानव कोरिडोर, सिद्धबाबा सुरुङमार्ग, बेलबास–बेथरी सडक, बेलबास–नुवाकोट सडकलगायतका ठूला आयोजनाको भौतिक तथा वित्तीय प्रगतिबारे अन्तरक्रिया गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहनुभएका पौडेलले कतिपय आयोजनाको काममा भएका ढिलाइले विकासप्रतिको जनताको चाहनामा निरासा देखिएका भन्दै सबैखाले समस्यासँग जुधेर आयोजना समयमा र गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.