देशभर मनाइयो श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ, ६ भदौ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् ।

भक्तजनको बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको थियो । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड थियो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्रग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकालिएको छ । रथयात्रा शनिबारसमेत निकालिने जनाइएको छ ।

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष श्रीकृष्णाष्टमीका दिन यस मन्दिरको राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परानुसार आज दिउँसो उहाँ पाटन आउनुभएको हो ।

राष्ट्रपति भण्डारीलाई मन्दिरका मूल पूजारी प्रतापधर शर्माले प्रसाद तथा टीका ग्रहण गराउनुभएको थियो । उहाँलाई मन्दिरका नौ जना पूजारीले हातमा पाती, फलफूल, सगुन, माला र खादा अर्पण गरेका थिए । उहाँले झण्डै १० मिनेट मन्दिरमा पूजाआजा गर्नुभएको थियो । उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरका सांसद र प्रदेशसभाका सदस्य, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । उहाँले पाटन दरबार क्षेत्रमा रहेका स्मारकहरुको अवलोकन गर्दै पुनःनिर्माणका बारेमा जानकारी लिनुभयो ।

मल्लकालीन सो मन्दिरमा पहिले राजाले दर्शन गर्दै आएका थिए । गणतन्त्रको स्थापनापछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले दर्शन गर्र्दै आउनुभएको छ । राति १ बजे पाटनमा भगवान् श्रीकृष्णको नित्य पूजा समाप्त भएपछि भक्तजनलाई दर्शन गर्न मूल ढोका खुल्ला गरिएको मङ्गल टोल सुधार सङ्घका सचिव रविदर्शन धारीले बताउनुभयो । मन्दिरमा गएराति १ बजेदेखि भगवान श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो । यहाँ काठमाडौँ उपत्यकासँगै उपत्यका आसपासका जिल्लाबाट समेत दर्शनार्थी आउने गरेका छन् । उहाँले भन्नुभयो, “रातिदेखि नै दर्शनार्थी आउने हुनाले हामीले पनि सोहीअनुसार व्यवस्थापन गर्दै आएका छौँ ।”

गएराति ११ बजेदेखि कृष्णको दर्शन गर्न लाम बस्न आउने हुँदा भक्तजनलाई ध्यानमा राखी पाटनमा सुरक्षा व्यवस्था कडा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्दिरमा आउने विशिष्ट व्यक्तिको सुरक्षाका लागि यस क्षेत्रकोे सुरक्षा व्यवस्था कडा गरेका छौँ ।”

कृष्ण मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी बढीरहेको मन्दिरका मूल पूजारी शर्माले बताउनुभयो । विसं. २०७२ को भूकम्पका कारण सो मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यसपछि तीन वर्षसम्म मन्दिरको माथिल्लो तलामा दर्शनार्थीलाई जान दिइएको थिएन । गत वर्षबाट मात्रै मन्दिरको माथिल्लो तला खुल्ला गरिएको थियो । उहाँले भन्नुभयो, “सङ्ख्यामा यति नै बढे भन्न नसकिने भए पनि यहाँको घुइँचो हेर्दा दर्शन गर्न आउने बढीरहेका छन् ।”

सत्रौँ शताब्दीमा कृष्णभक्त राजाका रुपमा चिनिएका राजा सिद्धिनरसिंह मल्लले सो मन्दिर निर्माण गराएका थिए । उहाँले कृष्णका लीलामा आधारित कात्तिक नाचको सञ्चालन गराएको र कृष्ण मन्दिर निर्माण गराएको पाइन्छ । काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी) ले दुई वर्ष पहिले मन्दिरको पुनःनिर्माण सम्पन्न गरेको थियो । मन्दिरको पुनःनिर्माणप्रति सबैले देखाएको चासोका कारण पाटनका अरु स्मारकको तुलनामा सो मन्दिरको पहिले पुनःनिर्माण सम्पन्न गरिएको हो ।

पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिरका कारण लगनखेल, मङ्गलबजार, गाबहाल, सुन्धारालगायतका स्थानमा बिहानैदेखि दर्शनार्थीको भीड देखिन्थ्यो । बजारका सबैतिर दशनार्थीहरु झुण्डझुण्डमा कृष्णका लीलामा आधारित गीत र भजनमा रमाएका देखिन्थे । भगवान श्रीकृष्णको प्रिय सङ्गीत बाँसुरी र केशमा सिउरिने वस्तु मयूरको प्वाँख भएकाले यस क्षेत्रमा बाँसुरी र प्वाँखको व्यापार जतासुकै भइरहेको देखिन्छ ।

आज कै दिन स–साना बालबालिकालाई पहेँला कपडा र शिरमा प्वाँख लगाई हातमा बाँसुरी दिएर कृष्ण बनाइएर पूजा गर्ने गरिन्छ । कृष्णलाई खान दहि र मख्खन अत्यन्त मन पर्ने बस्तु भएकाले ब्रतालुले चढाउने गर्छन् । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गको स्मरणस्वरुप भगवानको प्रेम उत्सव अर्थात् झुला झुलाउने गरिन्छ ।

मन्दिर परिसरमा घुइँचो    

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकष्णको पूजा आराधना गरी मनाइरहेको छ । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

ललितपुरको मङ्गलबजारमा रहेको कृष्ण मन्दिरमा रातिदेखि भगवान श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको भिड लागेको थियो । भगवान श्रीकृष्णको नित्य पूजा समाप्त भएपछि भक्तजनलाई दर्शन गर्न दिएको मङ्गल टोल सुधार सङ्घका सचिव रविदर्शन धारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कृष्ण मन्दिरमा सहजतापूर्वक भक्तजनले दर्शन गर्न पाउन् भनी राम्रो व्यवस्था मिलाएका छौँ ।”

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको मन्दिर पाटनको अवला देशभरका बिभिन्न स्थानमा रहेका छन् । आज देशभरका कृष्ण मन्दिरमा हिन्दूधर्मावलम्बीको ठूलो घुइँचो लागिरहेको छ । गएरातिदेखि कृष्णको दर्शन गर्न लाम बस्न आउने भक्तजनलाई ध्यानमा राखी पाटनमा सुरक्षा व्यवस्था कडा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।

द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रुपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । आजको दिनमा विशेष गरी महिलाले भगवान कृष्णको ब्रत बसी गएराति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर भजन कीर्तन गर्ने गर्दछन् ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न सत्यका पालक पाण्डवहरु मध्येका भाइ अर्जुनका सारथी एवं उपदेश दिने क्रममा कृष्णको मुखारविन्दुबाट व्यक्त ‘श्रीमद्भागवतगीता’लाई हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ । आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ भने रातमा भगवान् कृष्णको जन्म भएकाले मोहरात्रि भनिन्छ । कृष्णको पूजा आरधना गर्नाले पाप नष्ट भएर मोक्ष प्राप्त हुने विश्वास हिन्दूलगायत शैव र बौद्ध धर्मावलम्बीको रहेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिर मुलुकभरका भक्तजनको अत्यधिक घुइँचो लाग्ने एक महत्पूर्ण मन्दिर हो । २१ गजुर भएको सो मन्दिर शिखर शैलीको उत्कृष्ट नमूनाका रुपमा ढुङ्गै–ढुङ्गाले बनेको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनको व्यवस्थापनका लागि मङ्गल टोल सुधार सङ्घले करीब ६०० सदस्य, ज्यापू समाजले पिउने पानी र विभिन्न सङ्घ सङ्गठनले स्वयंसेवक खटाएका छन् । यसैगरी नेपाल प्रहरी, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रस तथा स्थानीय क्लबहरुले भक्तजनलाई व्यवस्थित दर्शन गराएका थिए ।

शनिवार भीमसेन जात्रा    

मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेष गरी व्यापार व्यवसायमा लागेका मानिसले आराध्यदेवका रुपमा पूज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् ।

भीमसेन मन्दिरमा शनिबार बिहानैदेखि पूजा आरधनाका लागि स्थानीयको ठूलो भिड लाग्ने मङ्गल टोल सुधार सङ्घले जनाएको छ । प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन बेलुका राति भीमसेन जात्रा मनाइने चलन छ । सो जात्रामा उपत्यकाको काठमाडाँै, ललितपुर र भक्तपुर तीनै शहरका व्यापारीहरु पूजाका लागि पाटन दरवार क्षेत्र परिसरमा आउने गरेका सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिनुभयो ।

“जात्राका अवसरमा बेलुका भीमसेनको सानो मूर्तिलाई खटमा राखेर सुन्धारा, ओकुबहाल, हौगल, टङ्गाल, पिम्बहाल, पूर्णचण्डी कुम्भेश्वर हुँदै मङ्गलबजार परिक्रमा गराइन्छ”, धारीले भन्नुभयो , “रथयात्रा गराइने सो मूर्तिलाई दिउँसै मन्दिरबाट निकालिने गरिन्छ ।” जात्राका लागि भीमसेनको मूर्ति लिन जाँदा आँखा चिम्लेर अँध्यारो कोठाबाट झिकिने र सो मूर्ति हातमा पर्नासाथ रातो कपडाले छोपिने चलन रहेको बताइएको छ ।

भीमसेनलाई प्रत्येक टोलवासीले विशेष महत्व राखेर बासनादार धुपबालेर स्वागत गर्ने गर्छन् । यो जात्रालाई रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोस्रो ठूलो जात्राको रुपमा पाटनवासीले मान्ने गरेका छन् । सो अवसरमा पाटनका हजाराँै भक्तजनहरुले विभिन्न टोलबाट विभिन्न परिकार चढाएर नगर परिक्रमा गर्दछन् । भीमसेनको उपासनाले घरघरमा श्रीवृद्धि हुने मान्यता रहँदै आएको छ ।

भीमसेनको प्रिय परिकार लड्डु र पेडा चढाइ पूजाआजा गर्दा व्यवसाय राम्रो हुँदै जाने सुन्धाराकी सरिता महर्जनको विश्वास छ । देशभरका विभिन्न स्थानमा मनाइने भीमसेनको जात्रामध्ये ललितपुरमा हुने सो जात्रा सर्वाधिक लोकप्रियका रुपमा मानिन्छ । चार वर्ष अघि भत्किएको सो भीमसेन मन्दिरको पुनःनिर्माण जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.