नेपाल सम्वत् र गोवर्धन पूजाको महत्व

गुल्मीको रेसुङ्गा संरक्षण समितिको आयोजनामा गौशालामा बिहीबार सामूहिक रुपमा गोवर्धन पूजा गरिँदै। तस्बिरः नारायण मरासिनी, गुल्मी

प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि त्यसको भोलिपल्ट नेपाल संवत् फेरिने गर्छ। चान्द्रमानले कार्तिक शुक्लपक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुन्छ। यो चान्द्रमानमा आधारित संवत् हो। यसर्थ यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक ३ वर्षमा अधिकमास आउनाले १३ महिनाको वर्ष हुन्छ।

देश–विदेशमा बस्ने नेवार समुदायले आफ्नो मौलिक संवतको नयाँ वर्ष (न्हूँः दँयाः भिन्तुना) धुमधामसाथ मनाउने गर्दछन्। यस दिन तिहारका अन्य दिनसरह राष्ट्रिय बिदा हुने गर्दछ। नेपालमा नेवारको बसोबास रहेका क्षेत्रहरू काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, पाल्पा, चित्लाङ लगायतका स्थानहरूमा भव्य कार्यक्रम गरी नयाँ वर्ष मनाउने गरिन्छ।

यस दिन नेवारी परम्परा र संस्कृति झल्कने वेशभूषा, बाजागाजा नाचगान, भाषा, लिपि, खानपान आदिको संरक्षण एवं संवर्धनका कार्यक्रम गरिनुका साथै शुभकामना आदानप्रदान गरी दिनभरि नाचगानका साथ गाउँ, टोल, सहर तथा सडकहरूमा विभिन्न झाँकी एवं रयाली निकाल्ने गरिन्छ। यसलाई नेपालभाषामा ‘न्हूँः दँयाः भिन्तुना’ भन्दछन्।

नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। युगपुरुष तथा संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार राष्ट्रिय विभूति शंखधर साख्वाले इश्वी सन् ८८० तिर ऋणको मारमा परेका गरिब नेपाली जनताहरूको सबै प्रकारको ऋण चुक्ता गरिदिएका थिए। उनले सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको खुसियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवको आज्ञाले वि. सं. ९३७ देखि नेपाल संवत् स्थापना भएको इतिहास पाइन्छ। उसबेलादेखि सरकारी कामकाजको संवतका रूपमा चलेको नेपाल संवत् राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालासम्म कायम थियो।

चान्द्रमास अनियमित रूपमा फेरिने र तीन–तीन वर्षमा १३ महिनाको लामो वर्ष पर्ने समस्या देखिएकाले वि.सं. १९६० देखि यसलाई परिवर्तन गरिएको हो। हाल सरकारी कामकाजको संवतका रूपमा नरहे पनि नेपालका प्रचलित पञ्चाङ्गहरूमा समान रूपले नेपाल संवत् उल्लेख गरिन्छ र यसलाई व्यवहारमा समेत प्रयोग गर्ने चलन अद्यापि छँदै छ।

गोवर्धन पूजा

संस्कृतमा गौ भनेको गाई हो । गाईको संरक्षण र अनवरत वंशवृद्धि गर्नमा योगदान पुर्याउने पर्वतको नाम हो– गोवर्धन पर्वत। द्वापर युगको अन्त्यतिर भगवान् श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गराउनुभएको प्रसंग नै गोवर्धन पूजाको इतिहास हो।

भगवान् श्रीकृष्णको बाललीला अपरम्पार छ। त्यो बाललीलाले गोकुलवासी र उसबेलाका समस्त मानिसहरूलाई त मोहित पार्यो नै, स्वर्गका राजा इन्द्र समेत भगवानको बाललीलाबाट मोहित भएको प्रसंग इतिहास–पुराणमा पाइन्छ।

कुनै समयमा भगवान् श्रीकृष्णको क्रीडाभूमि गोकुलमा स्वर्गका राजा इन्द्रको विशेष पूजा गर्ने चलन थियो। मानिसहरूमा इन्द्रले पानी पारेर समाजमा सहकाल आएको विश्वास थियो। तर, इन्द्रले वास्तवमा पानी पर्न नदिएर त्यहाँका बासिन्दालाई दिनुसम्म दुःख दिएका थिए। भगवान् श्रीकृष्णले इन्द्रको पूजा गर्ने परम्परालाई रोकिदिनुभयो र सम्पूर्ण सम्पदाको भण्डार गोवर्धन पर्वत रहेको र त्यही गोवर्धन पर्वतले घाँस, दाउरा, पानी, खनिजलगायत सबै वस्तुहरू उपलब्ध गराई गोकुलवासीहरूको प्राण जोगाएकाले गोवर्धनको पूजा गर्न बेस हुन्छ भनी सुझाव दिनुभयो।

आफूले सबैथोक सुम्पिएर पूजा गर्दा पनि केही नदिने बैगुनी इन्द्रलाई अब उप्रान्त पूजा नगर्ने निर्णयका साथ सबै गोकुलवासीहरू मिलेर इन्द्रको सट्टा गोवर्धनको पूजा गर्न थाले। तर यसो गर्दा गोकुलवासीहरूसँग इन्द्र झनै रिसाए र सारा गोकुल नै डुब्ने गरी एक सातासम्म अनवरत मुसलधारे वर्षा गराइदिए।

भगवान् श्रीकृष्णले सबै गोकुलवासीहरूलाई आफ्ना लालाबाला र गाईबाछा समेत लिएर गोवर्धन पर्वतको फेदमा भेला हुन आग्रह गर्नुभयो। त्यसपछि भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई उठाएर आफ्नो कान्छी औंलामा धारण गर्नुभयो र सारा गोकुलवासीहरूलाई गोवर्धन पर्वतरूपी छाता ओढाएर संरक्षण प्रदान गर्नुभयो र कालान्तरमा इन्द्रको समेत शेखी झार्नुभयो। अन्ततः शक्तिका आडमा गोकुलवासीहरूलाई अनावश्यक दुःख दिएकामा इन्द्र स्वयं लज्जित बन्नुपर्यो।

भगवान् श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गराएको दिन परेकाले कार्तिक शुक्ल प्रतिपदाका दिन आजसम्म पनि घरघरमा गोबरको गोवर्धन पर्वत निर्माण गरी त्यसमाथि अनेक ध्वजापताकाले शोभायमान बनाई गोवर्धन पर्वतको पूजा गर्ने चलन रहिआएको छ।

आजको दिनमा गाई तथा गोरुको क्रीडा वा जात्रा, प्रदर्शनी आदि गराउनुपर्ने शास्त्रवचन छ। यस दिन गोधन अभिवृद्धिको कामनासाथ गोरुलाई अन्नदाता एवं पालनकर्ताका रूपमा, गोकुललाई समृद्धिका रूपमा, गोवर्धन पर्वतलाई घाँस, दाउरा, पानीलगायत प्राकृतिक सम्पदाको भण्डार एवं विपत्तिनाशक आश्रयस्थलका रूपमा र गोवर्धनधारी कृष्ण, बलराम, नन्द, यशोदा, गोपाल आदिलाई गोकुल संवर्धकको रूपमा पूजा गर्नुपर्दछ।

गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई बुझाउँछन्। गोवर्धन पूजा तिहार (यम पञ्चक) को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । यसै दिन गाई तथा गोरुको पनि पूजा गरिन्छ । यस पर्वलाई गोरु तिहार, हली तिहार वा गोवर्धन पूजा भनिन्छ ।

आजै नेवार परम्परामा यस दिन आफू (आत्म) लाई ईश्वरीय अंशका रूपमा पूजा गर्ने विधान रहेको छ भने आजकै दिन नेपाल संवतको नयाँ वर्ष (न्हुदया भिन्तुना) पनि शुभारम्भ हुन्छ। कार्तिक शुक्ल प्रतिपदा तिथिको राति भगवान् नारायणको भक्ति एवं सान्निध्य प्राप्तिका लागि दानवीर तथा वचनबद्ध बलिराजको पनि पूजा गर्नुपर्दछ।

साभार: नेपाली पात्रो

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.